झापा : वातावरणमैत्री, माटो, हावापानी र समाजमैत्री जुट जसलाई पटुवा पनि भनिन्छ । यसको इतिहास लामो छ। शतप्रतिशत कुहिने, जैविक, वातावरणमैत्री र स्वास्थ्यमैत्री उत्पादन भएका कारण यसको उपयोगिता विश्व बजारमा बढ्दो छ।
हरियो जुटको रेसाबाट धेरै प्रकारका उपभोग्य वस्तु तयार गरी हाल प्रचलनमा रहेका प्लास्टिकजन्य वस्तुको विकल्पको रूपमा यसका तयारी वस्तुको प्रयोग र प्रभाव विश्व बजारमा बढ्दो छ । दक्षिण एसियाको मात्र कुरा गर्ने हो भने बङ्गाल क्षेत्रलाई जुटका लागि उर्वर भूमिका रूपमा लिइन्छ ।
सन् १८५६ मा बङ्गालमा प्रथम जुट उद्योग स्थापना भएको पाइन्छ। भारतको पश्चिम बङ्गाल, बङ्गलादेश र नेपालको पूर्वी तराईका जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहा जुट खेती हुने मुख्य क्षेत्र हुन् । भारतको पश्चिम बङ्गाल हुँदै झापा, मोरङ, सुनसरीमा जुट खेती फैलिएको देखिन्छ । जुट खेती सुरु हुँदा प्रशस्त कच्चा जुटको उत्पादन भए पनि जुट उद्योग नभएका कारण कच्चा जुट भारत र पछि भारत हुँदै तेस्रो मुलुक निर्यात हुन थाल्यो।
दोस्रो विश्वयुद्धपछि युरोपमा आएको मन्दीले कच्चा जुटको उचित मूल्य पाउँदा नेपाली जुट व्यवसायीले राम्रो आम्दानी गरेका कारण मुलुकको निर्यात व्यापार त्यस समय राम्रो भएको पाइन्छ । तर वर्तमान अवस्थामा आइपुग्दा अहिले तराईका जिल्लामा बर्सेनी जुट खेती घट्दो छ। जुट उत्पादन गर्दा लागेको लागतमा पनि बर्सेनी घाटा बेहोर्नु परेपछि कृषकले जुट उत्पादन घटाउँदै लगेका हुन्।
कुनै समय जुट खेतीका लागि उर्वर भूमि भनेर चिनिएका पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका कृषक जुट खेतीबाट विस्थापित हुँदै गएका छन् । जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव हुने, खर्चिलो हुने र आम्दानी नहुने समस्याका कारण यस क्षेत्रका किसान जुट खेतीको विकल्प रोज्न बाध्य भएका हुन् ।
मोरङ, सुनसरी र झापा जिल्लामा कुनै बेला ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो । तर, अहिले जुट खेतीप्रति किसानको आकर्षण घटेसँगै अहिले तीन जिल्लामा जम्मा करिब ६ हजार हेक्टरमा मात्र जुट खेती हुने गरेको छ। कृषकहरूको लगानीअनुसार जुटले भाउ नपाउने गरेका कारण यसको खेती घटाउँदै लगेको बताएका छन् । त्यति मात्र नभई काम गर्ने मजदुरको अभाव तथा उनीहरूले लिने ज्याला महँगो हुने र कम आम्दानी हुने भएकाले जुट खेती गर्न समस्या भएको किसानहरूको भनाइ छ ।
हुन त १ सय रुपैयाँ लगानी गर्दा ५ हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । एक सिजनमा मात्रै लगाए वर्ष भरी पुग्ने कमाइ दिने जुट खेती झापामा भने पछिल्लो समय बर्सेनि घटेको छ । सरकारले यसको प्रवर्धनमा कुनै कार्यक्रम ल्याउन छोडेपछि किसानहरूले पनि व्यवसायीक उत्पादन गर्न छोडेका हुन । झापाको गौरादह नगरपालिकाका दीपकलाल राजवंशीले १ पावा पाटाको बिउँ ल्याएर आफ्नो खेतमा लगाए । एक पावा बिउको मूल्य १ सय रुपैयाँ पर्छ ।
यसलाई रोपेर उनले झन्डै २ मन पाटा उत्पादन गरे । उत्पादित त्यो पाटा घरमै प्रयोगमा पनि आउने गरेको उनी सुनाउँछन् । पाटासँगै निस्कने सन्ठीले आगो बाल्न काम दिन्छ । बर्खाको बेलामा घरमा खाना पकाउने प्रमुख ऊर्जाको साधन नै बन्ने गर्छ सन्ठी । त्यो मुठा बनाएर बेचेमा प्रति मुठा २ सय रुपैयाँ देखी माथि मुठा जति ठुलो बनायो उत्ति पैसा आउँछ । तर राजवंशीले यसको व्यवसायीक खेती गरेका छैनन् । आफूलाई घरमा चाहिने जति मात्र खेती गर्दै आएको दीपकलाल बताउँछन् ।
यही ठाउँका नेत्र मोक्ताले पनि यहाँ पहिला पहिला २ बिगाहा भन्दा धेरै क्षेत्रफलमा जुट खेती लगाउँथे । तर अहिले उनले ४ देखी ५ कट्ठामा मात्रै लगाएका छन् । यसको बजार मूल्य राम्रो छ भन्ने कुरा उनलाई थाहा छ । तर यसमा काम गर्ने प्राविधिक र नयाँ तरिका बारे जानकारी दिने सरकारी संयन्त्रले साथ दिँदैन ।
उत्पादन कसरी बढाउने, पहिलाको तुलनामा उत्पादन घटेमा के गर्ने भन्ने परामर्श दिने जानकारहरू पनि छैनन् । त्यसैले सरकारलेनै वास्ता गर्न छोडेपछि पाटा खेती घटाउँदै लगेको उनी सुनाउँछन् ।
गौरादहका राजवंशी र मोक्ताले मात्र हैन यही ठाउँकी सङ्गीता राजवंशीले पनि १०/१५ वर्ष अघि सम्म ३/४ बिगाहसम्म खेती गरेको अनुभव छ । तर अहिले यो क्रमशः घट्यो । यो खेती गर्न घरमा लाठे मान्छेको आवश्यकता पर्छ । तर पछिल्लो समय ती लाठेहरू वैदेशिक रोजगारीमा आकर्षित भएका छन्।
पाटा खेती गर्दा धेरै मेहनत चाहिन्छ । यसको प्रक्रिया पनि लामो हुन्छ । यसमा काम गर्ने जनशक्तिकै अभाव छ । सरकारले पनि यसलाई प्रवर्द्धन गर्न सकेको छैन । उत्पादित पाटा खरिद गर्न बजारमा नेपाली व्यापारी छैनन् । पूर्वको मुख्य उद्योग विराटनगर जुट मिल पनि बन्द छ । उत्पादन गरौँ लगेर बेच्ने ठाउँ छैन । भारतीय सीमावर्ती स्थानमा लग्यो भारतका व्यापारीले उत्पादन बराबरको लागत पनि दिँदैनन् ।
बरु यो खेती गर्नुभन्दा त धान तथा अन्य बालीजन्य खेतीबाटै फाइदा हुने किसानले देखे । त्यसैले सङ्गीता भन्छिन्, “पाटामा मरिहत्ते गर्नुभन्दा धान रोपिन्छ । घरमा खान नि पाइने । बचे उब्रेको बेच्न पनि पाइने । त्यसैले मैले त पाटा खेती घटाउँदै लगे । ”
सोही ठाउका पुर्पा माक्राको घर अगाडी लस्करै राखेर पाटाबाट निस्केको सन्ठी सुकाइएको छ । यसले यो वर्षको बर्खा र हिउँद पनि कटाउने योजनामा उनी छन् ।
सन्ठीमा गोबरले लेपन गरेर यसलाई दाउराको रूपमा प्रयोग गरिन्छ । जुन बर्खा र हिउँदमा काम लाग्ने गर्छ । यसले ऊर्जा अभाव झेल्न नपर्ने पाटा खेती गर्नेहरू बताउँछन् । पुर्पाले पहिला अरूको जग्गा ठेक्कामा लिएर पनि पाटाको खेती गरे । त्यस बेला फाइदा पनि हुन्थ्यो । बजार पनि जताततै थियो । व्यापारीहरू बारीमै आएर समेत खरिद गर्दथे । तर अहिले परिस्थिति त्यस्तो छैन । दक्ष जनशक्ति गाउँमा छैनन् ।
पाखुरा बजारेर काम गर्नेहरू अहिले गाउँमा बस्नै छोडे । त्यसैले पाटाको उत्पादन पनि घट्यो । उद्योग पनि बन्द हुन थाले । अहिले घरमा दाउराका रूपमा प्रयोग गर्न सन्ठी आवश्यक पर्छ र केही डोरी बाट्न कति आवश्यक पर्छ त्यतिमात्रैका लागि उत्पादन गरिन्छ । बेच्दा अहिले पनि फाइदा हुने भए पनि बेच्ने गरी उत्पादनै गर्न नसकिने पुर्पा माक्रा बताउँछन् ।
मोरङ, सुनसरी र झापा जिल्लामा मात्रै खेती हुने जुटमध्ये मोरङमा सबैभन्दा बढी खेती हुने गरेको थियो । चार दशक अगाडिको सरकारी तथ्याङ्कले मोरङमा मात्रै ६० हजार हेक्टर क्षेत्रफल जमिनमा जुट खेती भएको देखिन्छ ।
सरकारी प्रोत्साहन र किसानले पाउने जुटको मूल्य स्थिर मुख्य समस्याको रूपमा देखिएको छ । मोरङको रङ्गेली नगरपालिका ७ का किसान सुजन मण्डल अहिले लगानी पनि नउठ्ने भएपछि पाटा खेतीलाई घटाएर लगेको सुनाउँछन् ।
झापामा भने किसानकै अनिच्छा : कृषि ज्ञान केन्द्र
झापाको हकमा भने २०५२/५३ सालतीर ११ हजार हेक्टरसम्म जुट खेती हुने गरेको थियो । तर अहिले त्यो घटेर ५ सय ५० हेक्टरमा मात्रै सीमित छ । त्यो पनि व्यवसायीक खेती हुँदैन । घरायसी प्रयोजनका लागि मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । प्रति हेक्टर १ मेट्रिक टन उत्पादन हुने यो बालीमा किसानहरूको आकर्षण बढाउन कार्यालयले पनि कुनै कार्यक्रम बनाउन सकेको छैन ।
जुट उत्पादन गरेर बेच्ने उद्योग नेपालमा नहुनु र भारतीय व्यापारीले उत्पादन लागत बराबरको मूल्य किसानलाई दिन नसक्दा किसानले उत्पादन गर्न छोडेको बुझाई छ ज्ञान केन्द्र झापाका प्रमुख निल कुमार सिंहको । अन्य बालीले पनि प्रतिस्थापन गरेका कारण किसानले जुट खेती भन्दा अन्य बाली रोज्ने गरेको सिंह बताउँछन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सिंहले अहिले किसान पनि आफै यसको खेती गर्न इच्छुक नदेखिएका कारणले पनि सरकारले यसको प्रवर्द्धन गर्ने कार्यक्रम राख्न नसकेको बताए । यदि किसानले पाटा खेतीका लागि तालिम चाहियो, प्रविधि र प्राविधिक चाहियो भनेमा आफूहरूले वार्षिक कार्यक्रम नै बनाइदिने उनको भनाई छ । तर विगत ७/८ वर्षदेखी ज्ञान केन्द्रमा पाटा खेती गर्ने किसान कुनै समस्या र माग लिएर नआएको उनको भनाइ छ ।
किसानको गुनासो नै नआएपछि त्यो खेतीका लागि सरकार आफैले मात्र कार्यक्रम बनाएर मात्रै पनि नहुने भएकोले कार्यक्रममा समावेश नै गर्न छोडिएको उनले स्पष्ट पारे । चालु अवस्थामा रहेका ५ वटा जुट उद्योगलाई वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशत मात्र नेपाली जुट उत्पादनले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरिन्छ । जसमध्ये ५५ प्रतिशत भारत र १५ प्रतिशत बङ्गलादेशबाट आउने गरेको छ ।