दाङका वन्यजन्तु प्रेमी चिरिन्जिवी खनालले सामाजिक सञ्जालमा पुस १२ गते ध्वाँसे चितुवाको तस्बिर पोस्ट गरे । यसलाई बाँसको भारमा ४ खुट्टा बाँधेर कतैबाट झुन्ड्याएर ल्याइएको थियो । लम्पसार लडाइएको तस्बिरमा त्यो जीवितै वा मरिसकेको अनुमान गर्न नसकिने अवस्थामा देखिन्थ्यो ।
खनालबाटै तस्बिर झापाको हो भन्ने थाहा भयो । धरानको अनलाइन पत्रिका कपुरी न्युजका सम्पादक भैरव आङ्लासँग तुरुन्तै थप जानकारी बटुल्न सम्पर्क सूत्रको लागी अनुरोध गरे । उनले झापाको अनलाइन पत्रिका न्युज संजालका सम्पादक रमेश समदर्शीसँग सम्पर्क गराए । समदर्शीका अनुसार त्यो ध्वाँसे चितुवा बुद्धशान्ती गाउँपालिका-१ को भोटेटार गाउँमा राती पसेको रहेछ ।
यसले यसअघि सुँगुर, कुखुरा खाएको आशङ्का गरिएको छ । त्यसैले गाउँलेबाट दुर्घटना भएछ । झापा जिल्लाका डिएफओ युवराज मास्केले बताए अनुसार उद्धार गर्दा यो बेहोस अवस्थामा टाउको सुन्निएको, देब्रे आँखामा रगत जमेको र मुखबाट रगत निस्किएको अवस्था थियो । अहिले यसलाई कन्काई नगरपालिका स्थित जामुन खाडी सिमसार पर्यटकीय क्षेत्रमा राखिएको छ ।
इलाम स्थित माई नगरपालिकाको चेप्टी गाउँ नजिकको जङ्गलमा १ वर्ष पहिले ध्वाँसे चितुवाको बच्चा भेटिएको थियो । स्थानीय व्यक्तिले उक्त बच्चो के को हो थाहै नपाई झापाको अर्जुनधारा-१ अवस्थित हलुवागढ सामुदायिक वनले सञ्चालन गरेको कालीखोला पर्यापर्यटनमा पुर्याइदिए । पर्यापर्यटन अध्यक्ष चक्र तामाङले बताए अनुसार हिजो आज यसलाई ३ दिनमा आधा केजी मासु आहारा दिइन्छ । ध्वाँसे चितुवा विश्वकै लोपोन्मुख वन्यजन्तु प्रजाति हो ।
ध्वाँसे चितुवा झट्ट हेर्दा छिरबिरे बिरालो अर्थात् मार्बल क्याटजस्तो देखिन्छ । मार्बल क्याट आकारमा एक तिहाइ जति सानो हुन्छ । ध्वाँसे चितुवा चिन्ने ३ आधार छन् । पहिलो यसको शरीर खैरो रङ्गमा ध्वाँसे रङ्गको साना, ठुला इँटाजस्तो आकृति हुन्छ । दोस्रो, यसको पुच्छर झन्डै शरीर बराबर लामो हुन्छ । तेस्रो, यसको केनाइन टिथ (Canine teeth) अर्थात् कुकुर दाँत तुलनात्मक रूपमा अन्य प्रजातिको भन्दा लामो हुन्छ । भाले ध्वाँसे चितुवा २३ केजी सम्मको हुन्छ । यो रुख चढ्न निपुण हुन्छ । ध्वाँसे चितुवालाई संसारभर क्लाउडेड लियोपार्ड भनिन्छ । यसको वैज्ञानिक नाम भने न्युफेलिज नेंबुलोसा (Neofelis nebulosa) हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ध्वाँसे चितुवा नेपालको एक संरक्षित वन्यजन्तु हो । ऐनअनुसार ध्वाँसे चितुवा मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने वा यसको आखेट पहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाख देखि १० लाख रुपैयाँ सम्म जरिवाना वा १ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने जनाइएको छ । ध्वाँसे चितुवाको अवैध व्यापार गर्ने कैयन व्यक्ति नेपालको विभिन्न जेलमा छन् ।
दुई प्रजाति
नेपालबाट मलेसिया सम्मका देशहरू भौगोलिक रूपमा एक आपसमा अबिछिन्न रूपमा जोडिएका छन् । ध्वाँसे चितुवा प्राकृतिक रूपमा नेपालबाट मलेसियासम्म पाइन्छ । पहिले मलेसियाको सीमावर्ती देश सिंगापुरमा पनि पाइन्थ्यो । हिजोआज सिंगापुर सहित ताइवान र हाईनान प्राकृतिक वासस्थानमा लोप भएको बताइन्छ ।
सिंगापुर पश्चिम र पूर्वमा क्रमशः सुमात्रा र बोर्नियो द्विप छन् । पहिले मलेसिया, सिंगापुर, सुमात्रा तथा बोर्नियो द्विप एक आपसमा जोडिएका थिए । हामीले पढेका छौ, प्रत्येक ठुलासाना हिमयुगपछि समुद्री सतहको उचाइ बढ्छ । यस्ता हिमयुग करोडौं, लाखौँ र हजारौँ वर्ष पटक पटक आएको छ ।
कुनै हिमयुग त ५० औँ हजार वर्ष सम्म पनि चल्थ्यो र तिनले पृथ्वी सबै बरफ तुल्याएको हुन्थ्यो । तर, कुनै हिमयुगले पृथ्वीको खास भूभाग बरफ तुल्याएका थिए । तिनैमध्ये यस्तै १ हिम युगपछि करिब २,३ लाख वर्ष पहिले सिँगापुरसँग जोडिएको सुमात्रा र बोर्नियो द्विपबिच समुद्री सतह वृद्धि भयो । उक्त २ द्विप अन्य दक्षिणपुर्व एसियाली देशबाट अलग भए ।
फलस्वरूप दक्षिणपुर्वी एसियाका ध्वाँसे चितुवा मलेसिया वा सिंगापुर भएर सुमात्रा र बोर्नियो आवत जावत बन्द भयो । कालान्तरमा सुमात्रा र बोर्नियोमा रहेको ध्वाँसे चितुवा एक अर्को छुट्टै प्रजातिको रूपमा विकास हुन पुग्यो । चाल्स डार्विनको प्रकृति छनौटद्वारा प्रजातिहरूको उत्पत्ति (The Origin of Species) अनुसार एकै प्रजाति भिन्न भूगोलमा हजारौँ वर्षसम्म स्वतन्त्र रूपमा रहँदा तिनीहरू कालान्तरमा छुट्टै प्रजातिका रूपमा विकास हुन्छन् । यो सिद्धान्त ध्वाँसे चितुवामा लागु भएको पुष्टि हुन्छ ।
सुमात्रा र बोर्नियोको ध्वाँसे चितुवालाई सुन्डा क्लाउडेड लियोपार्ड (Sunda Clouded Leopard) भनिन्छ । यसलाई पहिले क्लाउडेड लियोपार्डकै एक उप-प्रजाति न्युफेलिज नेबुलोसा डायर्डि मानिएको थियो । तर, सन् २००६ मा डिएनए अध्ययन गरिएको लेख प्रकाशित भयो । उक्त लेखले यसलाई छुट्टै प्रजाति भएको पुष्टि गर्यो । जसअनुसार यसको वैज्ञानिक नाम न्युफेलिज डायर्डि (Neofelis diardi) हो । सुन्डा क्लाउडेड लियोपार्ड आकारमा क्लाउडेड लियोपार्ड भन्दा केही ठुलो हुन्छ। यसको अर्थ, ध्वाँसे चितुवाका निम्ति सुमात्रा र बोर्नियोको वातावरण अन्य दक्षिणपुर्व र दक्षिण एसियाका देश भन्दा उपयुक्त रहेछ ।
भुगर्वविदका मान्यता अनुसार करिब ६० हजार बर्ष पहिले सुमात्रा र बोर्नियो द्विपबिच ल्यान्ड ब्रिज थियो । त्यसपछि जलवायु परिवर्तन वा हिमयुगका कारण समुद्री वृद्धि भयो । सुमात्रा र बोर्नियो द्विप एक आपसमा अलग भए । यसबाट सुन्डा क्लाउडेड लियोपार्ड अलग अलग भूभागमा बाँडिए । डार्विनको सिद्धान्त अनुसार सुमात्रा र बोर्नियोको ध्वाँसे चितुवाको विकास फरक भूगोलमा भएकाले तिनका शारीरिक विकास पनि फरक भयो भनेर बुझ्न उपयुक्त होला ।
सुमात्रा र बोर्नियोद्विपको ध्वाँसे चितुवाको डिएनए संरचना एक आपसमा हु-बहु मेल खाँदैन । डिएनए अध्ययन अनुसार यिनलाई २ भिन्न उप-प्रजाति न्युफेलिज डायर्डि डायर्डि (Neofelis diardi diardi) र न्युफेलिज डायर्डि बोर्नीन्सिस् (Neofelis diardi borneensis) विभाजन गरिएको छ । तिनलाई क्लाउडेड लियोपार्ड सुमात्रा र क्लाउडेड लियोपार्ड बोर्नियो पनि भनिन्छ । क्लाउडेड लियोपार्ड र सुन्डा क्लाउडेड लियोपार्ड संसारभर करिब १०-१० हजार जति सङ्ख्यामा रहेको अनुमान छ ।
प्रचार सामाग्री
विज्ञान विषय अन्तर्गत कक्षा ८ को पाठ्यक्रममा नेपालको संरक्षित वन्यजन्तु प्रजाति समावेश छ। मेघा पब्लिकेसन प्रा.लि. काठमाडौँले प्रकाशन गरेको पुस्तकमा ध्वाँसे चितुवाको रङ्गिन स्केच छ । पुस्तकमा यो वन्यजन्तु लाङटाङ, मकालु वरुण र अन्नपूर्ण क्षेत्रमा पाइन्छ भन्ने लेखिएको छ । स्केच र विवरण भएपछि कक्षा ८ पढी सकेकाले यो वन्यजन्तु चिन्नु पर्ने हो ।
तर, स्थिति कस्तो देखिन्छ भने यो वन्यजन्तु न त विद्यार्थीले चिन्छन्, न शिक्षकले नै । वन कर्मचारी, विश्व विद्यालयमा जन्तु विज्ञान अध्ययन गर्ने तथा अध्यापन गर्नेको स्थिति उस्तै छ । झापाको कालीखोला पर्यापर्यटनमा राखिएका ध्वाँसे चितुवा सामुदायिक वनका पदाधिकारी तथा वन कर्मचारीले चिनेनन् । त्यहाँ फरेष्ट एक्सनका एक कर्मचारीले बच्चो पालेको १ वर्षपछि पुग्दा ध्वाँसे चितुवा भनेर चिनाई दिए ।
झापा बिर्तामोडबाट कालीखोला पर्यापर्यटन क्षेत्र उत्तरतर्फ ११ किमी टाढा छ। मेची क्याम्पस भद्रपुरमा जन्तु विज्ञानको स्नातक तह सम्म अध्ययन हुन्छ । बिर्तामोड र मेची क्याम्पसको हवाई दुरी १६ किमी छ । १ वर्षसम्म कालीखोला पर्यापर्यटन क्षेत्रमा मेची क्याम्पसका प्राध्यापक र विद्यार्थी पुगेन होला ? उनीहरूबाट पहिचान हुनुपर्ने हो । तर, फरेष्ट एक्सनका कर्मचारीले नै त्यो ध्वाँसे चितुवा हो भनेर बताइदिनु पर्यो । यसको अर्थ ध्वाँसे चितुवा अध्ययन अनुसन्धानकर्ता बाहेक अन्यले चिन्दैनन् रहेछ ।
यो वन्यजन्तु मध्यपश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रसम्म भेटिएको छ । त्यसभन्दा पश्चिममा पनि हुन सक्छ । आम समुदायलाई ध्वाँसे चितुवा र जताततै पाइने चितुवा बिच फरक थाहा हुन जरुरी छ । अन्यथा, यसलाई जोगाउन सकिन्न । वाईल्डलाईफ फोटोग्राफर चुङ्बा सेर्पाले जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा ध्वाँसे चितुवाको तस्बिर प्रशस्त मात्रामा खिचेका छन् ।
थप तस्बिर खिचेर यसको आनी बानी तथा जीवन चक्र खुलाएर यसबारे प्रचार सामाग्री वितरण गर्न आवश्यक छ । यसो गर्न सके वनजंगल नजिकका बासिन्दाले यसलाई सजिलै चिन्न सक्थे । वन्यजन्तु संरक्षण सम्बन्धी लागिपरेका सङ्घ, संस्थाले यसको तस्बिर सहितको जानकारी सकेसम्म वितरण गर्न पर्छ ।
संरक्षण नीति
क्लाउडेड र सुन्डा क्लाउडेड लियोपार्ड प्रजाति लोपोन्मुख अवस्थामा छ । यसको छालाको कारण यसलाई चोरी सिकारी हुने गरेको छ । छालाबाट उच्च कोटीको भुवादार कोट बनाइन्छ । यसै गरी यसको हाडखोर पनि औषधिको निम्ति अवैध व्यापार हुने गरेको छ । यस्तै, संसारभरका जुमा राख्नका लागि अवैध रूपमा ओसार पसार हुन्छ ।
भनिन्छ, यसको अवैध व्यापार बाघको भन्दा बढी हुन्छ । यादव घिमिरे र राजु आचार्य लिखित ‘क्लाउडेड लियोपार्ड न्युफेलिज नेंबुलोसा इन इलेगल वाईल्डलाईफ ट्रेड इन नेपाल’ (डिसेम्बर २०२० शीर्षक लेख अनुसार सन् १९८८-२०२० सम्ममा जम्मा २७ वटा केस ध्वाँसे चितुवाको छाला र अस्थिपञ्जर सम्बन्धित दर्ज भएका छन् । सङ्खुवासभा र ताप्लेजुङमा अत्यधिक कारोबार हुने गरेको देखिन्छ ।
झापा र इलामको सीमावर्ती जङ्गलमा ध्वाँसे चितुवा पाइँदो रहेछ । यो जानकारी अहिलेसम्म बाहिर आउन सकेको थिएन । यसको वासस्थानको फैलावट पहिचान गरी संरक्षण कार्यक्रम अघि सार्नु पर्छ । प्रदेश तथा स्थानीय सरकारले यसबारे चासो लिनु पर्छ । संरक्षणका कार्यक्रम तर्जुमा गर्नु पर्छ ।
संरक्षण सम्बन्धी सङ्घ, संस्था तथा अनुसन्धान कर्ताहरू अत्यधिक रूपमा बाघ, हिउँ चितुवा, रातो पान्डाको पछि मात्र लागेका छन् । तिनीहरूका भन्दा ध्वाँसे चितुवाको अवस्था खराब छ । त्यसैले यसको अध्ययन अनुसन्धान हुन जरुरी छ । पहिले त पाउन सकिने सम्भावित वासस्थानमा सर्भे हुनुपर्छ । यसको सङ्ख्या गणना हुनुपर्छ । जनस्तरमा संरक्षण गर्नु पर्छ भन्ने चेतना अभिवृद्धि गर्नुपर्छ ।
हुन त नेपालको वन्यजन्तु संरक्षण नीति कागजमा राम्रो छ । यसलाई अब व्यवहारमा पनि कामकाजी बनाउन आवश्यक छ । अध्ययन अनुसन्धानकर्ताले के मा अध्ययन रकम जुटाउन सकिन्छ भन्दा पनि इमानदारीपूर्वक कुन प्रजाति अध्ययन अनुसन्धान तथा संरक्षण गर्न आवश्यक छ भनेर खुट्याउन सक्नु पर्छ । अन्यथा, हाम्रो संरक्षण कार्य राम्रो छ भनेर प्रचारबाजी गरिरहनु भनेको निरोले रोम जलिरहँदा बाँसुरी बजाए जस्तो मात्र हुन्छ ।
तस्बिरहरु : वाइल्डलाइफ फोटोग्राफर चुङ्बा सेर्पा, रमेश समदर्शी, गुगल डटकम र मर्दी डटकमबाट