धरान : पछिल्लो समय आदिवासी लिम्बु समुदायमा मुन्धुम बारे सामाजिक सञ्जालमा निकै बहस चलेको देखिन्छ । धार्मिक, सामाजिक, सांस्कृतिक तथा प्राग ऐतिहासिक शास्त्र मानिएको मुन्धुम श्रुति परम्परामा चलिआए पनि हाल लिखित पुस्तकहरू पनि प्रकाशित छन् । तर अन्य धार्मिक शास्त्रहरूको जस्तो यसको विशद व्याख्या, विवेचना र टिका टिप्पणीका प्राज्ञिक ग्रन्थहरू भने लेखिएका पाइन्न । मुन्धुमका भाषा बारेमा विद्यावारिधि गरेका सहप्राध्यापक डा.मोहन तुम्बाहाङ भन्छन् ‘मुन्धुम जानेर मात्र हुँदैन, त्यसमा भएका गहिरो अर्थहरूका व्याख्या, विवेचना गर्न सकिएमा मात्र मुन्धुमका बारेमा बहसहरू सार्थक हुन्छन् ।’
धरानमा छथरे समाजद्वारा आइतबार आयोजित मुन्धुमका व्याख्याता स्वर्गीय भरत तुङघङको स्मृति ग्रन्थ विमोचनका अवसरमा उनले मुन्धुम मानिसको उत्पत्ति देखी सभ्यताको विकास प्रक्रियाका वर्णन गरिएको मौखिक शास्त्र भएको बताए । उनले भने ‘मुन्धुमहरूका हरेक वाक्य, शब्दको व्याख्या, विवेचना हुनुपर्दछ ।’ मुन्धुमका बारेमा त्यसरी व्याख्या, विवेचना गर्ने अध्येताहरूको कमी रहेको उनको भनाई थियो । उनका अनुसार स्वर्गीय भरत तुङघङ त्यस्ता एक मुन्धुमका व्याख्याता थिए, उनी मुन्धुमका ससाना कुराहरू केलाएर त्यसको गहि¥याइमा पुग्ने, व्याख्या गर्ने र अर्थ लगाउने अध्येता थिए ।
विद्यावारिधिको लागि अनुसन्धानको क्रममा तुङघङसंग भएको छलफलमा उनले संस्कृति र परम्परा फरक भएको धारणालाई तार्किक रूपमा राखेको कुराबाट आफू प्रभावित भएको उल्लेख गरे । बहुलवादी समाजमा बसेपछि अरूको परम्परालाई पनि जान नजानी पछाइन्छ तर, आफ्नो संस्कृति फरक हो भन्ने अनुभूति जसले पनि गरिरहेको हुन्छ भन्ने धारणा तुङघङको थियो । उनले भने ‘हिन्दुका एक दुई वटा परम्परा पछ्याउँदैमा लिम्बुहरू हिन्दु हुँदैनन् भन्ने भनाई उहाँको थियो ।’
मुन्धुम र इतिहासका खोजकर्ता मुन्धुम लालीगुराँस नगरपालिका प्रमुख अर्जुनबाबु माबुहाङले मुन्धुमका भाषा कतिपय जटिल रहेकोले कतिपय फेदाङमा, येबा, साम्बालाई पनि व्याख्या गर्न गाह्रो हुने बताए । उनका अनुसार लिम्बु र लिम्बुवानको इतिहासको खोजका क्रममा भेटिएका कतिपय पुराना दस्ताबेजहरू तिब्बती सम्बोटा लिपी लेखिएका, कतिपय फारसी भाषाका रहेका छन् । अधिकांश लामाहरूले नै अर्थ लगाउन नसकेका त्यस्ता कागजपत्रहरूको उल्था तुङघङले गरिदिएको बताउँदै उनले भने ‘भाषा र लिपिमा पनि भरत तुङघङको बेजोड पकड थियो ।’
पूर्व प्रदेश १ प्रमुख प्राध्यापक डा.गोविन्द तुम्बाहाङले तत्कालीन राजनीतिक र सामाजिक परिस्थितिमा लिम्बु भाषा नबोल्ने परिवारमा हुर्किएका भरत तुङघङ मुन्धुम र लिम्बु संस्कृतिका व्याख्याता बनेको बताए । सम्पन्न, शिक्षित परिवारका उनको रुचि सानै उमेर देखी इतिहास बुझ्ने, संस्कृतिका गतिविधिमा चासो राख्ने खालको भएकाले त्यसैमा उनले विज्ञता हासिल गरे । पुराना लालमोहर कागजपत्रहरू र हतियार सहित पुराना सामाग्रीहरूको सङ्ग्रहालय नै उनले घरमा बनाएका थिए । भाषा, संस्कृतिमा चासो राखे कुनै पनि मानिसले आफ्ना समुदायका विषयमा विज्ञता हासिल गर्न सक्छ भन्ने उदाहरण भरत तुङघङ भएको उनको भनाई थियो ।
उक्त अवसरमा विमोचन गरिएको ‘स्व.भरत तुङघङ स्मृति ग्रन्थ’ लालीगुराँस नगरपालिका, तेह्रथुमको सहयोगमा प्रकाशित भएको हो । ९० पृष्ठको पुस्तकमा १४ जना लेखकहरूका तुङघङका योगदानको बारेमा चर्चा, संस्मरण र जीवनका बारेमा सम्बद्ध लेखहरू सङ्ग्रहित छन् । पुस्तक तुङघङको निधन भएको पाँचौँ पुण्य तिथिका अवसरमा प्रकाशित गरिएको हो । उनको २०७४ सालमा ३९ वर्षको उमेरमा दुर्घटनामा मृत्यु भएको थियो । विमोचन कार्यक्रम छथरे समाजका अध्यक्ष देव पारघरी लिम्बुको सभापतित्वमा भएको थियो । समारोहमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला, युमा साम्यो महासभा केन्द्रीय महासचिव प्रा.डा.रमेश इजमको पनि उपस्थिति थियो ।