मलाई मयुर पथका जसबहादुर भेनाले ‘जेठा’ भनी बोलाउँदा बढो आत्मीय र मौलिक लाग्छ । बाल्यकाल देखी बोलाउनेहरू 'ठुले' पनि भन्छन् । आमाले जीवन पर्यन्त बाल्यकाल देखी म नानीको बाउ हुँदा सम्म बोलाउने नाम ‘शान्ता’, ठूली दिदीले राखिदिएको नाम । बहिनी, भाइहरूका लागि अहिले पनि म शान्ता नै हुँ।
श्रीमतीले बोलाउने नाम समय, काल, परिस्थिति अनुसार हुँदो रहेछ । संज्ञा र विशेषण फरक । हर्ष सर देखी दाइ अनि ‘ओउ’ । छोरीहरू भएपछि साझा नाम ‘बाबा’। छरछिमेकमा चिनाउने ‘हाम्रो नानीको बाउ’ । सुन्दा मज्जा लाग्छ । नातिहरूले ‘बाजे’ भन्दा चैँ म एउटै मान्छे होइन रहेछु भन्ने लाग्न थालेको छ ।
मेरो नागरिकताको नाम हर्ष सुब्बा । हर्कबहादुर लिम्बुबाट आफै हर्ष सुब्बा बनेको सम्झँदा मजा लाग्छ । बाउले ‘बाहुन’ले टिपनमा जुराएको 'ह'बाट उठेको नाम राख्ने सल्लाह दिए अनुसार राखिदिएको नाम हर्कबहादुर । जाति बाउले पनि लिम्बु नै लेख्थे ।
पञ्चायत प्राथमिक पाठशाला नं.३ को कक्षा ३ मा थिएँ । त्यस बेला प्राविहरूमा प्रशिक्षार्थी शिक्षकहरू आउँथे । सरकारी नर्मल तालिम भनिन्थ्यो । ६ महिना सम्म पढाउँथ्यो । हिउँदको एक दिन चौरमा घाम ताप्दै कक्षा सुरु गरियो । हामी ‘नयाँ सर’ भन्थ्यौँ । शिक्षकको नाम सम्झँदा उमानाथ घिमिरे जस्तो लाग्छ ।
‘नयाँ सर’ भएकाले नाम लिएर परिचयबाट कक्षा सुरु भयो । त्यस बेलाको पढाउने शैली सम्झँदा गजब लाग्छ । सरले हाम्रो नामबाटै शब्द, उच्चारण र शुद्ध लेख्ने पाठ सुरु गरेका रहेछन् । मेरो नाममा छलफल भयो । हर्क, हर्ख र हर्ष एउटै शब्द हो । शुद्ध लेख्न हो भने, सरले भने ‘अब देखी ‘हर्ष’ लेख्नु ।’ त्यसै दिन देखी म हर्कबहादुरबाट हर्षबहादुर लिम्बु भएँ ।
पाठशालामा हामीलाई कविता लेख्न लगाउँथ्यो । एक दिन कविता सुनाउनु नै पर्ने भयो । कविता लेख्न जानेका भए पो । कहाँबाट कवि धरणीधर कोइरालाको 'जाग जाग' कविता हात पर्यो कुन्नि ? त्यही कविता सारेर सुनाएको पनि छु । त्यो घट्नाले मेरो जीवनमा ठुलो प्रभाव पार्यो । मेरो साहित्यमा रुचि, कविता लेखन चासो त्यसै बेला देखी बढ्यो ।
कविता लेखेपछि कविको नाम आकर्षक हुनुपर्ने लाग्न थाल्यो । आफ्नो नाम कसरी आकर्षक बनाउने ? त्यस बेला चैँ बाउले राम्रो नाम रखीदिएन छन्, भन्ने लाग्न थाल्यो । किशोर वयमा बाउ, आमाका कुरा पुरातन लाग्नु स्वाभाविक रहेछ भन्ने अहिले सम्झन्छु । नयाँ कुरा, नयाँ काम गर्नुपर्छ भन्ने विद्रोही स्वभाव त्यसै बेला आउँदो रहेछ । त्यसो गर्न नसक्दा कुण्ठित भएरै युवाहरू बिग्रिने गरेका हुन कि ?
साहित्यमा रुचि भएकोले कापीमा लेख्दा हुने मेरो विकल्प सहज थियो । नयाँ कुरा गर्ने विद्रोहको त्यो किशोर मनोविज्ञानले मलाई नामै नयाँ खोज्ने मनस्थिति सम्म पुर्यायो । पाठशालाका नयाँ सरले हर्कबहादुरबाट मलाई हर्षबहादुर बनाई सकेका थिए । हर्षबहादुर बनेपछि रुढीवादी हर्कबहादुरबाट आफू नयाँ आधुनिक बनेको लाग्न थालेको थियो ।
हर्षबहादुर त्यस बेला कसैले नराखेको नाम जस्तो लाग्थ्यो । त्यस कारण ‘हर्ष’प्रति मेरो गहिरो मोह बस्यो । अहिले सम्झँदा मेरो जीवनमा आएका तर मेरो नभएका नाम जस्तै । त्यही नामलाई कसरी नयाँ रूप दिने भन्ने ध्याउन्नमा म लागेँ । त्यस बेला कविहरूले आफ्नो नाम पछाडि ‘टाइटल’ जोड्ने गर्थे । बैरागी काइँला दाइको नामै टाइटलमा राखिए जस्तो ।
धरानका कविहरूले नामको पछाडि टाइटल राखेकाले मैले चैँ नामको अगाडि टाइटल राख्दा अरू भन्दा अलग र नयाँ हुन्छ भन्ने विकल्पमा पुगेँ । अरू भन्दा फरक, जल्दो बल्दो कविको छवि बन्न ‘टाइटल’ चैँ के राख्ने ? किशोर वयको तनाव । तरुनीको ध्याउन्न त थिएन, तर नामैबाट सशक्त तरुण कसरी देखिने विकल्पको खोजीमा मानसिक रूपमा हैरान ।
‘उत्साही’ अन्ततः मैले रोजेको टाइटल शब्द । विद्रोही पनि देखिने अरू भन्दा गतिशील लाग्ने टाइटल यही हो भन्ने टुङ्गोमा पुगेँ । त्यस बेलाका युवा कविहरूमा बहादुर, कुमार, प्रसाद जस्ता बिचको नामहरू हटाएर छोटो नाम लेख्ने चलन भर्खर सुरु भएको थियो । मलाई बाउले राखिदिएको बहादुर नाम पुरानो चलनको घिसेपिटे लाग्न थालिसकेको थियो ।
त्यसलाई हटाउन मैले कसैलाई सोधिन पनि । बाउले थाम्दै ल्याएको नामको पछाडि बहादुर लेख्ने परम्परा हटाउनु मेरो जीवनमा पहिलो विद्रोह थियो । हुन त नामको पछाडि हाम्रो पुर्खाको नाम, खानदानले पाएको पगरी जोडिएको थिएन । त्यो हटाउँदा वंशको नाम बिग्रिने पनि थिएन । तैपनि मलाई चाहिँ ठुलै विद्रोही बनेको लाग्थ्यो । मेरा भाइले भने परम्परा थाम्दै ल्याएका छन् ।
पञ्चायती व्यवस्थाको त्यस बेला म जस्ता अधिकांश किशोरहरूलाई नेपालमा दलिए व्यवस्था आएको पनि राम्ररी थाहा थिएन । राजा राजपरिवारका नाम बाहेक नेताहरूका नाम कसैले लिएको सुनिन्न थियो । लिम्बूहरू जाति नाम लिम्बु लेख्न अप्ठ्यारो मानेर लिम्बूहरूको थर लेख्ने चलन लिम्बु पञ्चहरूले चलाएका थिए । वरिष्ठ पञ्चहरूले लिम्बुको सट्टा थर लेख्न थालेपछि अरू लिम्बूहरूले पनि थर लेख्न थालेका हुन ।
पुराना लिम्बूहरूले पहिलेकै लिम्बु नाम चलाउँदै आए पनि नयाँ लिम्बूहरूले जातिको ठाउँमा लिम्बु नलेखेर थर लेख्न थालेका थिए । चर्चामा नभएका लिम्बु थरवालाहरूले सुब्बा लेख्ने चलन पनि बसेको थियो । सुब्बा लेखेपछि उहिले सुभाङगीवाला सुब्बाको नातागोता भन्ने सामाजिक प्रतिष्ठा सँग पनि जोडिन्थ्यो ।
मेरो बाउ आमाले कुनै कुनै बेला वंशका कुरा गर्दा हाम्रा बडाबाउ सुभाङगीवाला सुब्बा भएको कथा सुनाउँथे । लिम्बुवानमा कसरी सुब्बाहरूले तिरो, भरो असुली गर्थे, न्याय, निसाफ गर्थे भन्ने अलि अलि सुनिएको थियो । त्यति कुराले मलाई चैँ नामको पछि लिम्बु लेख्नु भन्दा सुब्बा लेख्नु नयाँ कुरा हुने प्रेरणा दियो ।अनि जाति नाममा सुब्बा लेख्ने निर्णयमा पुगेँ । ‘उत्साही’ हर्ष सुब्बा, यसरी मेरो पहिलो छापिएको साहित्यिक नाम बन्यो । २०३० को दशकमा उत्साहीकै नामबाट मेरा कबिताहरु छापिए । ‘विस्फोट’ कविता सङ्ग्रहको सम्पादकमा पनि यही टाइटल सहितको नाम रहेको छ । त्यस बेला कवि मित्रहरूले उत्साही भनेर बोलाउँदा आफूलाई नयाँ मानिस बनेको अनुभूति हुन्थ्यो ।
बाउ बित्नु भयो । त्यसपछिको किशोरवयमा मेरो ‘उत्साही’ कवित्व धेरै वर्ष टिकेन, विद्रोही नै ठिक हो भन्ने तिर मोडियो । मानिस जीवनमा उत्साही भइरहनु पर्छ उत्साह नभए जीवनले संन्यास लिन्छ । नामको अघि टाइटल राख्नु देखावटी रूपमा आफूलाई उत्साही देखाउनु भन्दा अरू केही हुन्न भन्ने लाग्न थाल्यो ।
अनि मैले टाइटल लेख्न छाडिदिएँ । पछिल्लो समय नागरिकताको प्रमाणपत्र बनाउँदा फेरी दोधारे अवस्था आयो । बाउ बाजेले लेख्दै आएको परम्परा ‘बहादुर’ लेख्नु नै ठिक होला कि भन्ने पनि भयो । तर आफूलाई कवि मानेको मैले मलाई चिन्नेहरूले हर्ष सुब्बा छोटो नामबाटै चिनेका हुनाले त्यही नाम उपयुक्त हुन्छ भन्ने ठहर गरेंं ।
त्यस बेला मेरो नामको बारेमा निर्देश दिने बाउ थिएनन् । आमाले मेरो कामहरूमा कुनै आपत्ति, अवरोध गर्नु हुन्थेन । बाउले जन्मको टिपनको आधारमा राखेको नाम भन्दा फरक नाम पनि थिए । हर्कबहादुर, हर्षबहादुर र हर्ष सुब्बा फरक फरक नाम अन्तमा एउटा सर्वसाधारण नेपाली नागरिक हर्ष सुब्बाको नाममा दर्ता भयो ।