धरान : आजभन्दा २८२ वर्षअघि लिम्बु भाषा-लिपि तथा धर्म संस्कृतिका लागि शहादत प्राप्त गरेका त्येअङसी सिरिजंगाको सम्झनामा आज आइतबार लिम्बु समुदायले प्रकृति पूजा चासोक तङनामसंगै ‘सिरिजंगा जयन्ती’ मनाउँदै छन् ।
लिम्बु भाषामा त्येअङसीको अर्थ अवतार हुन्छ । उनले नवौँ शताब्दीमा राजा सिरिजंगाले विकास गरेका वर्तमान नेपालको छुट्टै मौलिक सिरिजंगा लिपिको विकास गरेका हुन् । लिम्बु समुदायको भाषा-साहित्य, इतिहास तथा धर्म-संस्कृति यसै लिपिमा लेखन गर्न प्रचार प्रसारको क्रममा विसं १७९८ मा उनको हालको सिक्किमका तत्कालीन शासकहरूले हत्या गरेका थिए ।
प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाका अनुसार सिक्किमका बौद्ध धर्मावलम्बी तिब्बती भोटे राजपरिवार सँग लिम्बुवानका राजाहरूको वैवाही सम्बन्ध हुन्थ्यो । यस्तो सम्बन्धले लिम्बु जातिमा बढेको बौद्ध प्रभाव लाई निस्तेज गर्न त्येअङसी सिरिजंगाले सिरिजंगा लिपिमा भाषा, धर्म-संस्कृतिको प्रचार बढाएका थिए । यस कार्यले बौद्ध धर्म प्रभावित हुने आशङ्काका कारण उनलाई सन् १७३४ मा तत्कालीन शासकहरूले हत्या गरेको इतिहासकार इमानसिंह चेम्जोङले उल्लेख गरेका छन् ।
चेम्जोङ अनुसार त्येअङसी सिरिजंगा लाई रुखमा बाँधेर विषालु हानेर मारिएको थियो । त्यसैको प्रतिकका रूपमा पूर्व लिम्बुवानका विभिन्न स्थानमा उनको पूर्णकदका शालिकहरु स्थापना गरिएका छन् । किरात समुदायको उँधौली पर्वलाई लिम्बु जातिले मनाउँदै आएको चासोक तङनामकै बेला त्येअङसी सिरिजंगाको शालिकहरुमा फुलमाला लगाई च्याब्रुङ नाचेर उनलाई सम्झने गरिन्छ ।
धरानमा प्रवेश नाका, मोरङको पथरीशनिश्चरेको आदिवासी पार्क स्थित शालिकमा बुधवार उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।
नेपाल एकीकरण हुनभन्दा अघि नवौँ शताब्दीमा लिम्बुवानका राजा प्रथम सिरिजंगाले विकास गरेको लिपि उनी अवसान भएको झण्डै एक हजार वर्षपछि दोस्रो त्येअङसी सिरिजंगाले प्रवर्द्धन गरेका हुन् । त्यसैले लिपिको नाम सिरिजंगा भनिएको हो । उनको जन्म सन् १७०४ मङ्सिरे पूर्णिमाको दिन भएको थियो । उनले अघि बढाएको लिपि नेपालको मौलिक प्राचीन लिपि मानिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित लिम्बु-नेपाली-अंग्रेजी शव्दकोषको भूमिकामा भनिएको छ ‘बेञ्जामिनी सुल्जी (सन् १७४५) ले आफ्नो पुस्तक ग्रामाटिक हिन्दुस्तानीकाको भूमिकामा देवनागरी लिपिका व्यञ्जन वर्णको नमुना प्रस्तुत गर्दा लिम्बु लिपिका ‘क ङ म ग प य’ अक्षरहरू प्रकाशित गरेका छन् ।’ भाषा अनुसन्धाता विरही काइँलाका अनुसार सिरिजंगा लिम्बु लिपिको पहिलो मुद्रित रूप त्यही नै भएको उल्लेख गरेका छन् ।
भाषाविद् बालचन्द्र शर्माका अनुसार सन् १८११ मा नेपालका इतिहासकार कर्कप्याट्रिकले नेपालको प्रतिनिधि भाषा भनेर आठ वटा भाषाको गणना गर्दा लिम्बु लाई पनि त्यसमा समावेश गरेका छन् । उनले पहिलो पटक लिम्बुभाषामा शव्दकोश बनाउने पड्को हालेको देखिन्छ । दोस्रो सिरिजंगाको कार्यपछि प्रचुर मात्रामा यस लिपिमा लेखिएका कागजपत्र, पाण्डुलिपि र साहित्यका अभिलेख पाइएका छन् ।
पछिल्लो कालखण्डमा सिरिजंगा लिपिमा लेखिएका लिम्बु भाषाका साहित्यले नेपालको मौलिक लिपि-भाषाको वाङमय विकासको क्रममा अघि बढेको छ । साहित्यका सबै विधामा लेखिएका समृद्ध भाषा–लिपिका रूपमा पछिल्लो कालखण्डमा लेखिएका सिर्जनात्मक साहित्यले यो लिपी र लिम्बु भाषाको विकासका लागि थप उत्साह वर्धक बनाएको छ । यो अवस्था नेपालको मौलिक लिपी र मातृभाषाको प्रयोग तथा विकासको क्षेत्रमा महत्त्वपूर्ण फड्को हो । तथापि यसलाई अहिलेको स्थितिमा ल्याउन राज्यले भने अपेक्षाकृत लगानी गरेको देखिन्न । भाषा, साहित्य संवर्द्धन गर्न स्थापित प्रज्ञा प्रतिष्ठानबाट उपेक्षित रहँदै आएको छ ।
किरात याक्थुङ चुम्लुङले लिम्बु समुदायकै दाताहरूको अनुदान सङ्कलन गरेर सिरिजंगा लिपी, लिम्बु भाषा, साहित्य, सिर्जनात्मक कला–सङ्गीतको विकास र संरक्षण तथा स्रष्टाहरूको सम्मान, पुरस्कारका लागि छुट्टाछुट्टै कोषहरूको स्थापना गरेको छ ।
लिम्बु भाषाको आफ्नै लिपि छ जसलाई सिरिजंगा लिपि भन्ने गरिन्छ । इमानसिंह चुम्जोङ (२०१३) का अनुसार ऐतिहासिक राजा सिरिजंगा (नवौँ शताब्दी)ले यो लिपि विकास गरेका हुन र उनकै नाम बाट यस लिपिको नाम रहेको हो । यस लिपिको पुनरुत्थान चाही राजा सिरिजंगाको अवसानको झण्डै एक हजार वर्षपछि (बाजवीर थलङ १९२८ ई) वर्तमान ताप्लेजुङ जिल्ला सिनाम थुमा जन्मेका राजा सिरिजंगाका अवतार (तेयङसि) मानिएका थोबे थरका लिम्बु (दोस्रो सिरिजंगा सन् १७०४-४१) ले गरेका हुन् । दुई सिरिजंगा बिचको अवधिमा लेखिएका कुनै पनि अभिलेख अहिले सम्म पाइएको छैन, तर दोस्रो सिरिजंगाको कार्यपछि प्रचुर मात्रामा यस लिपिमा लेखिएका कागजपत्र, पाण्डुलिपि र साहित्यका अभिलेख पाइएका छन् ।
बेञ्जामिनी सुल्जी (सन् १७४५) ले आफ्नो पुस्तक ग्रामाटिक हिन्दुस्तानीकाको भूमिका पृष्ट ३ मा देवनागरी लिपिका व्यञ्जन वर्षको नमुना प्रस्तुत गर्दा लिम्बु लिपिका ‘क ङ म ग प यस’ अक्षरहरू प्रकाशित गरेका छन् भन्दै विरही काइँला (२०४९) ले त्यसै लाई लिम्बु लिपिको पहिलो मुद्रित रूपमा मानेका छन् । सुल्जी पछाडि झण्डै सय वर्षसम्म सिरिजंगा लिपि प्रयोग भएका कागजपत्रहरू हाल उपलब्ध छैनन् ।
हज्सनले ‘श्री संवत् १९०३ साल मार्गशिर्ष शुदी १ रोज ३ मा लेखियाको लिम्बुहरूको पह्र्याक्रमको अक्षर सुखिमको कुहि(या)को पुस्तक बमोजिम लेख्याको (वस्ता लम्बर १ हज्सन पेपर्स, भो ८४ पृष्ट २३) भनेर वर्णमाला लेखाइकाये अभ्यास पुस्तिका झैँ तयार गरेको (जसमा व्यञ्जन १९ र स्वर १ छन्) पाण्डुलिपि तथा अन्य पाण्डुलिपिहरू उनले लण्डनको ब्रिटिस इण्डया लाइब्रेरीमा सुरक्षित गराए ।
हज्सनले त्यही सुरक्षित गराएका पाण्डुलिपि मध्ये ‘मुन्धुम साप्ला’ भन्ने एउटा पाण्डुलिपि चाहिँ सिरिजंगा थोप (१७०४-४१ ई) आफैले लेखेको भन्ने अडकल गरिएको छ । ती पाण्डुलिपिमा सिरिजंगा लिपि लेखपढ गर्न जान्नेहरूबाट त्यसै लिपिमा लिम्बु शब्दहरूको सङ्कलन पनि गरिएको र लिम्बु वर्णमाला र बाह्रखरी समेत प्रस्तुत गरिएको छ ।
लिम्बू शव्दकोषको इतिहास
लिम्बुभाषामा शव्दकोश बनाउने दिशातिर पहिलो पड्को कर्कप्याट्रिक (सन् १८११) ले हालेको देखिन्छ । (बालचन्द्र शर्मा २०५५) कर्कप्याट्रिक नेपालका इतिहासकार हुन । उनले नेपालको प्रतिनिधि भाषा भनेर आठ वटा भाषाको गणना गर्दा लिम्बु लाई पनि त्यसमा समावेश गरेका छन् र केही शब्दहरूको सङ्कलन पनि गरेका छन् । कर्कपछि क्याम्बेल (१८४०) को पालो आउँछ । क्याम्बेलले ३२६ वटा शब्द सङ्कलन गरेका छन् । त्यसपछि हज्सनले ७१३ वटा शब्द, सिनियर (१९०८) ले ३२०० शब्द ग्रियर्सन १९०९ ले २४१ शब्द सङ्कलन गरे ।
लिम्बु शब्दकोश बनाउने र प्रकाशित गर्ने दिशामा पहिलो पाइलो हाल्ने काम पहिलो नेपाली विद्वान काजीमान कन्दङवा (२०१०) हुन् । उनका सङ्कलनमा ३/४ सय शब्द परेका छन् । कन्दङवापछि रङसाङ रनधोज नेम्वाङ (२०१५)को २४२ वटा पारिभाषिक शब्द परेका छन् । त्यसपछि हारले १९६० मा लिम्बु-नेपाली-अङ्ग्रेजी शब्दकोश प्रकाशित गरे ।
शब्द सङ्ग्रहका दृष्टिले तीन हजार भन्दा बढी शब्द बटुल्ने सिनियर को सबैभन्दा बढी महत्त्वपूर्ण योगदान छ । लिम्बु भाषामा शब्दकोश नै लेख्ने प्रथम विद्वान चेम्जोङ नै हुन् । चेम्जोङ पछि लिम्बु भाषाको शब्दकोश लेख्ने वीवी सुब्बा १९८०, ब्रजविहारी कुमार, पीएस सुब्बा र वीवी सुब्बा १९८०, मणिशंकर सेरेङ चोङबाङ, २०३६ मा लेखिए पनि अप्रकाशित, वाइडर्ट र विक्रम सुब्बा १९८५, भान ड्रिम १९८७, माइकोलोब्स्की (अप्रकाशित) नरबहादुर यङहाङ २०४८, हस्तलाल सावदेन २०४९ नाम आउँछ । थप शब्द सङ्कलन प्रकाशित गर्नेमा ऋषिकुमार सम्बाहाङफे १९९२, हरि चोङबाङ २०५०, बैरागी काइँला २०४८, २०५१, २०५३ र विरही काइँला २०५०, खेलराज यङहाङ २०५२ आदि पर्दछन् ।
सिरिजंगा लिपिमा लिम्बु वाङमय
नेपालमा लेख्य परम्परामा रहेको किरात शिरिजंगा लिपीका लिम्बु भाषा, साहित्यले छुट्टै समृद्ध वाङमयको रूप धारण गरिसकेको छ । पछिल्लो कालखण्डमा लेखिएका सिर्जनात्मक साहित्यले यो लिपी र लिम्बु भाषाको विकासका लागि थप उत्साह वर्धक बनाएको छ ।
यो अवस्था नेपालको मौलिक लिपी र मातृभाषाको प्रयोग तथा विकासको क्षेत्रमा महत्त्वपूर्ण फड्को हो । तथापि यसलाई अहिलेको स्थितिमा ल्याउन राज्यले भने अपेक्षाकृत लगानी गरेको देखिन्न । भाषा, साहित्य संवर्द्धन गर्न स्थापित प्रज्ञा प्रतिष्ठानबाट उपेक्षित रहँदै आएको छ ।