धरान: नेपाल बहुजातिय, बहु सांस्कृतिक,बहु धार्मिक मुलुक भएकोले सबै जातिको संस्कृति र संस्कार जीवन्त बनाउने कार्यमा सबै समुदाय क्रियाशील रहनु पर्ने कुरा कोशी प्रदेश सांसद यशोदा कायस्थले बताएकी छन् ।
नेवार समुदायको लोपोन्मुख धाँ बाजालाई पुन जागरण गर्न धरानमा सञ्चालित २१ दिने तालिम समापन समारोहमा प्रमुख अतिथि कायस्थले भनिन् ‘जातीय संस्कृति र संस्कार रहे मात्र समुदायको अस्तित्व रहन्छ: ।’

आआफ्ना संस्कृति परम्परालाई जीवन्त राख्न सबै समुदाय क्रियाशील रहनु पर्ने उनले बताइन् ।
लोप हुने अवस्थामा पुगेको धाँ बाजालाई पुनःजगारण गराउन नेवा पासा खल धरानले सञ्चालन गरेको तालिमको शनिवार धरानको सिद्धि नेवा परिषद् समापन गरिएको हो ।
तालिममा धरान ६० जना बालबालिकाहरूले प्रशिक्षण लिएका थिए । काठमाडौँका प्रशिक्षक निकित डंगोलले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा धरान–३ का वडाध्यक्ष विद्या शाक्यले वडा कार्यालय संस्कार सस्कृती पहिचान सरक्षणमा निरन्तर लाग्ने बताए ।
नेवा देय दबूँ केन्द्रीय उपाध्यक्ष अनिल श्रेष्ठले पासा खलःले तालिम सञ्चालन गरेर उदाहरणीय कार्य गरेको बताए ।
उनका अनुसार काठमाडौँ उपत्यका पछि धरान नेवार समुदायको सस्कृती उत्थानमा अग्रणी रहेको छ । धाँ बाजा ७ वटा तालमा बजाइन्छ ।
४ मात्रामा चोप ताल, ७ मात्रामा प्रताप, ७ मात्रामा जति ताल,८ मात्रामा तालमा,१४ मात्रामा ग्रह ताल, १० मात्रामा अस्त्र ताल र ६ मात्रामा पलेमा ताल बजाइन्छ ।
यी सबै ताललाई एकै पटक बजाउने ग्वाला धाँ बाजाको मुख्य विशेषता हो । ग्वालामा भगवान् ग्वाला, नित्य नाथ ग्वाला, श्रीकृष्ण ग्वाराजस्ता विभिन्न देवताको स्तुतिसँग सम्बन्धित छन् ।
पासा खल: महासचिव तालिम संयोजक अमृत श्रेष्ठले धाँ बाजालाई नयाँ पुस्तामा सस्कृती, संस्कार, परम्परा लाई हस्तान्तरण गर्न तालिम सञ्चालन गरिएको बताए ।
समापनको सभापतित्व आयुष शाक्यले गरेका थिए ।