धरान : तरुण दलले धरानमा पहिलो पटक ‘प्रथम मिस्टर तरुण’ बिल्डिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा सुनसरी जिल्ला संसदीय निर्वाचन क्षेत्र १ का शारीरिक सुगठनका खेलाडीहरू बिच प्रतिस्पर्धा हुनेछ ।
नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ समितिले आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताका विजेतालाई १ लाख रुपैयाँ पुरस्कार सहित ‘प्रथम मिस्टर तरुण’ उपाधि प्रदान गरिने घोषणा गरेको हो । प्रतियोगिता असार २७ र २८ गते धरान-१५ सदन हलमा सञ्चालन गरिने छ ।
क्षेत्रिय अध्यक्ष अजय राईले भने ‘युवाहरूलाई खेलकुद सहित सबै क्षेत्रमा नेतृत्वका लागि अघि ल्याउन अब तरुण दल अघि बढेको छ ।’ खेलकुद मात्र नभएर आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा अहिले युवाहरूको नेतृत्व मुलुकले माग गरेको उनले बताए ।
प्रतियोगीताका संरक्षक नेपाली काँग्रेस कोशी प्रदेश समिति सदस्य किशोर राईले युवाहरू अघि आउने पहिलो माध्यम खेलकुद भएकोले तरुण दलले खेलकुदको गतिविधिलाई प्राथमिकता दिएकोमा समयोचित कदम भएको बताए ।
उनले भने खेलकुदबाटै युवाहरूले अनुशासन, गतिशीलता र नेतृत्व विकाशको ज्ञान लिने भएकाले खेल गतिविधिहरूबाट योग्य नेतृत्व तयार हुने उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा तरुण दल क्षेत्रिय समितिले हालै ‘तरुण लिडरशिप’को तालिम सञ्चालन गरे अनुसार तरुणहरूलाई खेलकुद, कला, सङ्गीतलाई व्यवसायीक बनाउन उनीहरूको क्षमता अभिवृद्धि गर्दै अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिने बताइएको छ ।
प्रतियोगिता सुनसरी जिल्ला शारीरिक सुगठन सङ्घको प्राविधिक सहकार्यमा आयोजना गरिएको सङ्घका कोषाध्यक्ष रणबहादर लिम्बुले बताए । प्रतियोगिता ५० केजी, ६० केजी, ६५ केजी र ७० केजी, ७५ केजी तौल समूहमा हुनेछ । ओभरअल प्रतियोगिताको विजेता ‘प्रथम मिस्टर तरुण’ घोषित हुनेछन् ।
प्रतियोगीताका दोस्रो पुरस्कार ५० हजार, तेस्रो ३० हजार, चौथो २० हजार, पाँचौँ १५ हजार रुपैयाँ रहेको छ । वेष्ट पोजरले १० हजार र मोष्ट मस्कुलरलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगीताका लागि कुल ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।