• अनुसा थापा

आम नागरिक दैनिक राष्ट्रिय पत्रपत्रिका पढ्छन् । अहिले अनलाइन प्रविधिको युग भएपनि अझै पनि सर्वसाधारणमा पत्रपत्रिकाको प्रभाव घटेको छैन । एउटा पत्रिकाको पाँच रुपैयाँदेखि दश रुपैयाँसम्म हेरेर सर्वसाधारण पढ्छन् । पत्रिका किन्नकै लागि विभिन्न ठाउँ पुग्छन् ।

किनकि पत्रपत्रिका नहेरी कतिपयको दिनको सुरुवात नै हुँदैन । पत्रपत्रिकामा समाचारसँगै रोचक पठनीय सामग्री पनि हुन्छ । जसले पाठकलाई आकर्षण गर्छ । त्यसैले पनि पत्रिका हेर्न अधिकांश रुचाउँछन् । तर पछिल्लो समय पत्रपत्रिकामा समाचारभन्दा बढी विज्ञापन देखिन्छ ।

राष्ट्रिय पत्रिका दिनहुँ निस्किन्छ । दिनैपिच्छे पत्रिकामा पानाको पाना बैङ्क तथा वित्तीय संस्थाले ऋणीको नाममा सूचना निकालेको तथा धितो लिलामी प्रक्रिया अघि बढाएको छापिएको हुन्छ । आम नागरिक नयाँ समाचार आएको छ कि भनेर आफ्नो समय र पैसा खर्चेर पत्रिका ल्याउँछन् ।

पत्रिकामा भने समाचार सामग्रीभन्दा बढी यस्ता सूचना तथा विज्ञापन भेट्दा सर्वसाधारण निराश हुने गरेका छन् । त्यसो त पछिल्लो समय पत्रकारहरूले पनि समाचार खोज्न छोडेको पाइन्छ । अधिकांश पत्रिकामा एउटै समाचार हुन्छ ।

कपी पेस्ट गरिएको समाचार हुन्छ । अहिले छापा माध्यम यसै त सङ्कटमा परेको छ । यस्तो अवस्थामा छापा माध्यमले झन् समाचारभन्दा विज्ञापन बढी दिएमा पत्रपत्रिका पलायन हुन धेरै समय लाग्दैन । त्यसैले, अब पत्रपत्रिका प्रकाशकहरूले यसबारे सोच्नुपर्छ ।

मिडिया भने जनताको विश्वासबाट चल्ने हो । तर, जनताले नै पत्रपत्रिका पढ्न छोडेमा कसरी चल्छ छापा माध्यम ? अब छापा माध्यमले विज्ञापन मात्र हाल्ने होइन, नयाँ नयाँ समाचारले पत्रिका भर्नुपर्छ । हो, मिडिया चलाउन पैसा चाहिन्छ ।

पैसा कमाउने विज्ञापनबाटै हो । तर कमाउने नाममा सर्वसाधारणको सूचना पाउने हक अधिकारमाथि त खेलबाड गर्न पाइन्न नि । समाचार र विज्ञापनबिच सन्तुलन कायम राख्न सक्नुपर्छ । अनि मात्र छापा माध्यम होस् या अन्य सञ्चार माध्यम चल्ने छ ।

सर्वसाधारणले विज्ञापन हेर्न पत्रिका वा अनलाइन हेर्ने हो । देशमा के कस्ता घटना भइरहेका छन् ? सञ्चारमाध्यमले कस्ता विषयमा जोड दिइरहेका छन् ? राज्यका निकायले के गरिरहेका छन् ? भनेर बुझ्न पत्रिका वा अनलाइन हेर्ने हो । अनि समाचारको भोको रहेका पाठकलाई विज्ञापनले कसरी पूर्ति गर्छ ?

यतिसम्म होइन, पछिल्लो समय रेडियो र टेलिभिजनले पनि समाचारभन्दा बढी विज्ञापन बजाउन थालेको व्यापक गुनासो छ । सर्वसाधारण भन्छन्, ‘समाचार हेर्न भनेर हेर्‍यो । तर, समाचार दुई मिनेट दिएर पाँच मिनेटभन्दा बढी विज्ञापन बजाइन्छ ।’ सञ्चारमाध्यमका दायित्व सर्वसाधारणलाई सूचित गराउनु हो ।

राज्यका निकायले के गरिरहेका छन् ? समाजमा भ्रष्टाचारको अवस्था के कस्तो छ ? समाजमा बेथितिको अवस्था भइरहेको छ वा छैन ? भनेर खोजतलास गरी जनतालाई जानकारी गराउनु हो । तर मिडियाले आफ्नो धर्म बिर्सिएको देखिन्छ । जनतालाई सचेत गराउनुको साटो मिडियाहरू राजनीतिकेन्द्रीत मात्र भएको पाइन्छ ।

कुन राजनीतिक दलले के गर्‍यो ? कुन नेता कता गयो ? कसले के भन्यो ? भन्नेमा मात्र मिडिया केन्द्रित भएको छ । अनि यसले मिडियाको दायित्व पूरा भयो त? सञ्चार भनेको राज्यलाई घच्घच्याउने माध्यम हो । विडम्बना, पछिल्लो समय मिडिया पनि दलमा आबद्ध भएको देखिन्छ ।

यसले आफ्नो पार्टीको विरोधमा चुइँक्क नबोल्ने अनि अरूको पाएमा लखेट्नु लखेट्ने प्रवृत्ति सञ्चारमाध्यममा बढ्दै गएको छ । आफ्नो व्यक्तिलाई मात्र मिडियामा ठाउँ दिने गरिएको छ । रेडियो, टेलिभिजनमा प्रायजसो एउटै व्यक्तिले मात्र बोलिरहेको सुनिन्छ ।

एउटै व्यक्तिलाई घण्टौँ बोल्न समय दिइन्छ । त्यसपछि श्रोता तथा दर्शकहरू वाक्क लागेर रेडियो वा टेलिभिजन बन्द गरिदिन्छन् । सञ्चारमाध्यमले जनताको समस्या उठान गर्नुपर्ने हो । राष्ट्रिय विषय उठाउनुपर्छ । यद्यपि, यहाँ त जसको नुन खाइन्छ, त्यसको मात्र लेखिन्छ ।

पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिने गरिएको छ । दुर्भाग्य पत्रकारहरूले आफ्नो कर्म बिर्सिदा सञ्चारमाध्यम दलाली, बिचौलियाहरूको आवाज बनेको छ । हुन त अधिकांश मिडियामा राजनीतिक दलहरूकै लगानी रहेको बताइन्छ । यसैले पनि उनीहरू आफ्नो दल विरोधी केही समाचार हाल्दैनन् ।

मिडिया भनेको जनतामा सचेतना जगाउने एउटा माध्यम पनि हो । तर मिडियाले सोचविचार नगरी जस्तो पायो त्यस्तै गीत बजाउँदा वा समाचार हाल्दा विकृति बढेको छ । रेडियोमा विज्ञापनको नाममा छाडा गीत प्रसारण गर्ने क्रम बढ्दो छ ।

अनि सञ्चारमाध्यमले नै त्यस्ता गीतहरूलाई प्राथमिकता दिएपछि जनतामा के सन्देश जान्छ ? कस्ता विषय उठाउने ? के समाचार नागरिकलाई दिने ? कुन विषय देश र जनताको प्राथमिकतामा छ ? भन्ने ज्ञान अहिलेका पत्रकारमा छैन ।

पत्रकारलाई जनताले हेर्ने नजर गिर्दै गएको छ । पहिलापहिला पत्रकारलाई भगवानसरह मानिन्थ्यो । किनकि पत्रकार दुःखी, गरिब, असहायको आवाज बन्थे । कसैको दबाब वा प्रलोभनमा नपरी देश र जनताको हितका लागि कलम चलाउँथे । तर अहिले पत्रकार पैसामा बिक्छन् भनेर सर्वसाधारण नै बताउँछन् ।

कसैले म पत्रकार हुँ भनेमा जनता भन्छन्, ‘पत्रकारिता हुनुभन्दा चिया पसल खोलेकै ठिक होला । नेता र व्यापारीको झोले बन्न किन पत्रकार बन्नु ।’ पत्रकारलाई हेर्ने सर्वसाधारणको दृष्टिकोणमा निकै नकारात्मकता आएको छ । केही पत्रकारका कारण समग्र पत्रकारिताको क्षेत्र नै धुमिल हुन पुगेको छ ।

पत्रकारले पैसा पाएमा जतिसुकै भ्रष्टाचार गरेपनि, ठगेपनि केही लेख्दैनन्, बोल्दैनन् भन्ने कुरा जनताको मनमा बढ्दै गएको छ । अनि हामी सञ्चारमाध्यममा आबद्धहरूले अझै पनि पत्रकारिता क्षेत्रलाई यस्तै बनाइराख्ने कि अब चाहिँ सुधारतर्फ लाग्ने ? यसबारे सम्पूर्ण सञ्चारकर्मीहरू गम्भीर हुन आवश्यक देखिएको छ ।

मिडिया हाउस र पत्रकार नसुध्रिएमा जनताले समाचार पढ्न, हेर्न र सुन्न छोड्ने छन् । किनकि जनताले कसैको विज्ञापन सुन्न वा हेर्नका लागि पत्रपत्रिका, टेलिभिजन वा रेडियो किन्ने होइन । समाचारका लागि किन्ने हो । यी वस्तु किन्दा जनताको लगानी परेको हुन्छ ।

सित्तैमा त कसैले पत्रिका दिँदैन । न त टिभी र रेडियो नै दिन्छ । अनि लगानी गरेर पनि आफ्नो प्रतिफल वा समाचार नपाएपछि कसैले किन पत्रिका पढ्छ ? टिभी हेर्छ ? र रेडियो सुन्छ ? स्मरण रहोस् कि मिडिया खोल्दैमा वा पत्रकारको कार्ड भिर्दैमा कोही पत्रकार बन्दैन । पत्रकार बन्न क्षमता चाहिन्छ । जो जुनसुकै व्यक्तिसँग हुँदैन ।

अहिले दिनभर घाँटीमा कार्ड भिरेर म पत्रकार हुँ भन्दै हिँडिन्छ । तर बेलुका चाहिँ व्यापारी, नेता कहाँ गएर मोज गर्ने गरिन्छ । अनि त्यस्ता पनि पत्रकार हुन्छन् ? आफैँ सोचविचार गरौँ । रास्वपा सभापति रवि लामिछानेले केही महिनाअघि पत्रकारहरूलाई लक्षित गर्दै १२ भाइको नाम दिएका थिए । त्यसको कुनै पनि सञ्चारमाध्यमले खण्डन गर्न सकेनन् ।

अझै पनि सञ्चारमाध्यम नसुध्रिए पत्रकारितामाथि लागेका कलङ्कहरू सत्यमा परिणत हुन समय लाग्दैनन् । त्यसैले, अब मिडियाले आफ्नो धर्म निर्वाह गरोस् ।