प्वाँख पलाइसकेछ मेरो पखेटामा अव त । जहाँ जन्मेँ त्यहीँ सञ्चारकर्म गरिरहेको मलाई धनकुटा अलि साँघुरो लाग्न थाल्यो र अलि ठुलो आकाशको खोजी गर्न थालेँ । एक मनले भन्थ्यो, काठमाडौँ जाऊँ कि !

उमेरले मभन्दा केही अग्रज हुनुभए पनि, जसलाई मैले मन जितेरै अन्तरङ्ग मित्र बनाएँ । उहाँ अर्थात्, जीवन भट्टराई । उहाँले भन्नुभयो,“धरान आउनुहोस्, यतै बसेर केही गरौँला ।”

सिर्जनाका क्षेत्रमा जीवनजी राम्रो सङ्गीतकार । सङ्गीतमा भन्दा पनि उहाँको त्यतिबेला अलि बढी सक्रियता चाहिँ व्यापार व्यवसायमा थियो । उहाँले “केही गरौँला” भन्ने प्रस्ताव राख्नुभएको यो अर्थमा होइन, म पनि उहाँसँगै व्यापार व्यवसायमा अगाडी बढौँला । व्यापार व्यवसायमा मेरो रुचि भए पो !

मेरा पखेटाले काठमाडौँतिर जाने बायुवेग तयार पारिरहेको थियो । त्यति ठुलो महत्त्वाकाङ्क्षी छैन म । सामान्य स्वप्नजिवी हुँ । धनकुटा छाडेर काठमाडौँतिर उड्नका लागि मेरा तीनवटा आधारभूत लक्ष्य थिए, केन्द्रमा रहेर कुनै राष्ट्रिय दैनिकमा आबद्ध भई काम गर्ने, कुनै एक विश्वविद्यालयबाट कम्तीमा एउटा विषयमा मास्टर डिग्री हासिल गर्ने अनि पत्रकारिता गर्दै कुनै कलेज पढाउने । सानैदेखिको सपना थिए, यी मेरा । कालान्तरमा मैले काठमाडौँमा रहेर यी तीन वटा सपना पुरा गरेँ । यसबाहेक अन्य केही राजनीतिक र सामाजिक उपलब्धिहरू पनि मैले सपनाको बोनसको रूपमा प्राप्त भए ।

तर काठमाडौँ जानुअघि म धरानमा अडिएँ, फेरि धनकुटा फर्किएँ र केही समयपछि काठमाडौँ लागेँ ।
मलाई जीवनजीले राम्ररी चिन्नुहुन्थ्यो । उहाँले मलाई त्यहीँ आकाश खोज्न सघाइरहनुभएको थियो । त्यसैले भन्नुभयो, “धरान आउनुहोस्, यतै केही गरौँला ।”

धरान उपमहानगरपालिकाका दिवङ्गत मेयर तारा सुब्बा त्यो बेला युवा सङ्घमा सक्रिय हुनुहुन्थ्यो । त्यो बेला उहाँ निर्माण व्यवसायी पनि हुनुहुन्थ्यो । उहाँको चाहना रहेछ, एउटा अखबार प्रकाशन गर्ने । जीवनजीले अखबारमा लगानी गर्ने व्यक्ति र अखबारमा पसिना बगाउन चाहने व्यक्तिबिचको सम्पर्क सेतुको भूमिका खेल्नुभएको थियो । उहाँकै यस भूमिकाअनुसार म धनकुटाबाट धरान झरेँ ।

तारा सरसँग एक दुई चरण यसबारेमा छलफल भयो । यसको साक्षी उहाँकै दाजु घनेन्द्र पनि हुनुहुन्छ । तर बिचमा के भयो थाहा भएन । तारा सरको तर्फबाट कुनै थप छलफल अगाडी बढेन, मैले पनि सोधिखोजी गरिनँ यसबारे । बरु लागेँ, आफ्नै दुःख जिलोतिर । काठमाडौँबाट निस्कने एउटा पत्रिकाको संवाददाता थिएँ, त्यसैमा सक्रिय भइरहेँ ।

सङ्घर्षपूर्ण थियो, मेरो त्यो समय । तर विचलित थिइनँ म । आँखाभरि ढकमक्क फुल्थे, स्वर्णिम सपनाको फूल । आँखाभरि फुल्ने त्यहीँ फूल मनमा पुगेर मगमगाउँथ्यो ।

“सङ्घर्ष सुख सर्वश्रेष्ठ सुख हो”, सानै उमेरमा माओको यो भनाई मैले कतै पढेको थिएँ । यसलाई मन्त्र झैँ जपेर हिँड्नेलाई सामान्य सङ्घर्षले विचलित बनाउँदो रहेनछ । मेरा सङ्घर्षलाई बुझ्ने कैयौँ त्यस्ता आत्माहरू छन्, जसलाई म मेरो जीवनको दाहिने किनाराको साक्षी भन्न रुचाउँछु ।

सहरमा एक्लो जङ्गली गैँडा

गौतम बुद्धलाई एक दिन भिक्षुहरूले सोधे,“भगवान्, हामीले कसको स सङ्गत गर्दा राम्रो हुन्छ ?”
“बुद्धको सङ्गत गर”, बुद्धले भने । बुद्ध भनेको बुद्धि भएको र शीलमा रहने महात्मा ।

भिक्षुहरूले फेरि सोधे,“भगवान्, बुद्धत्व प्राप्त व्यक्ति तपाईँ एक्लो हुनुहुन्छ, फेरि तपाईँ धर्मोपदेशका लागि विभिन्न ठाउँमा गइरहनुपर्छ, तपाईँपछि हामीले कसको सङ्गत गर्ने ?”
“भिक्षुहरूको सङ्गत गर”, गौतम बुद्धको जवाफ ।
भिक्षुहरूले विवशता पोख्दै फेरि सोधे,“हामी पनि त, अहिले थोरै छौँ, भिक्षाटनका लागि चारैतिर छरिनुपर्छ । त्यस्तो अवस्थामा कसको सङ्गत गर्ने ?”
“खराब आचरणको मानिससित सङ्गत गर्दै नगर, त्यसो हुनबाट बच्न बरु जङ्गलको गैँडाजस्तै रहनु”, गौतम बुद्धले उपाय बताए ।

वन्यजन्तुमध्ये गैँडा प्राय एक्लै बनजड्गलमा विचरण गर्छ । बुद्धको भनाइको आशय के हो भने खराब आचरण भएका मानिससँग सङ्गत गर्नुभन्दा एक्लै हिँडडुल गर्नु ठिक हो ।

Rajkumar-Dikpal Memory

धरानमा हर्ष सुब्बा दाईलाई म अग्रजको रूपमा शिरमाथि राखेर हिँड्थेँ, मनमनै । तर पनि म एक्लै एक्लै थिएँ, खासगरी सञ्चारकर्मीहरूमाझ धरानमा । एक्लै समाचारको खोजीमा निस्कन्थेँ । त्यो बेला मेरा समकालीन कोही नभएर पनि हुनसक्छ । अधिकांश मभन्दा अग्रज थिए ।

थिए, मेरा शुभचिन्तकहरू प्रशस्तै । तर सञ्चारकर्मीहरूलाई मैले भरपर्दो साथी बनाउन सकिरहेको थिइनँ । त्यसैले मलाई केही सञ्चारकर्मीले “एकलकाँटे” पनि भन्दा रहेछन् । यस्तो सुन्दा म बेखुसी हुन्नथेँ ।

सङ्घर्षका ती साथीहरू
“संघम् शरणम् गच्छामी ।”
बौद्ध दर्शनअनुसार सङ्घ अर्थात् सङ्गठनको शरणमा त जानै पर्छ । मैले पनि असल साथीहरू जम्मा गर्नुपर्ने छँदै थियो । एउटा टिम बनाउन चाहन्थेँ, म ।

सुरुमा धरान सहरमा जङ्गली गैँडाजस्तै एक्लो यात्रामा हिँडिरहेको बेला, फोटो पत्रकार यात्रा थुलुङ मलाई सोध्दै खोज्दै आउनुभयो, तरहराबाट । अब लाग्यो, सञ्चारकर्मीमाझ म एक्लो छैन । सञ्चारकर्मीको संस्था नभए पनि हिमायती परिवार र अनाम नाट्य जमातका कलाकार साथीहरू साथमा छँदै थिए । पछि पराग परिवारका कलाकार भाइबहिनीहरू साथी बन्न आइपुगे ।

अहिले पनि सम्झना छ, २०५१ सालको मध्यवर्षादको समय विद्रोही साइँला (मुम्चे राई) र खगेन्द्र पन्धाक मलाई खोज्दै सैनिक भवनलाइनको मेरो डेरामा आएको ।

जिन्दगीले भोगेको परिवेशका अनेक बान्कीमा जसकुमार, डम्बरकृष्ण, देवराज र प्रदीप त मेरा सञ्चार सहकर्मी नै बन्न आइपुगे । उनीहरूकै आड भरोसा र सुनिल नेपाल अनि राजेन्द्र रिमाल लगायतसड्गको सौहार्द हातेमालोमा हामीले धरानबाट निकाल्यौँ, “न्यूज टाइम्स” साप्ताहिक । यसका लागि अर्को पत्रिकामा काम गरिरहेका मित्र जनकऋषि राईलाई पनि हामीले चोर्‍यौँ ।

२०५३ को दशैँमा साइत जुराएर हामीले यो काम सुरु गर्‍यौँ । त्यो बेला हामीले कुनै लगानीकर्ता खोजेनौँ । हरेक सहकर्मीले दश दश हजार रुपैयाँ उठाउने कुरा थियो। तर हामी सबैजसो बेरोजगारजस्तै थियौँ । मैले चाहिँ आफ्नो गलातिर हात मुसारेँ । ससुरालीबाट प्राप्त उपहार थियो, एक तोलाको सुनको सिक्री। त्यहीँ लगानी गरेँ ।

त्यो समय हाम्रो पत्रिकाको माग ठुलो थियो । पत्रिका पसलेहरू हाम्रो पत्रिका माग गर्थे । अलि ढिलो मात्र भयो भने ग्राहकहरूको फोन आउँथ्यो । त्यो समय चार हजार कपिको सर्कुलेसन हुनु आफैमा चानचुने थिएन, स्थानीय स्तरमा । प्रेस काउन्सिलले संपरिक्षण मूल्याङ्कनमा यसलाई “ख”वर्गको मान्यता दियो । धरानबाट निस्कने अखबारमध्ये “ख”वर्गमा पर्ने हाम्रै अखबार पहिलो थियो ।

यो अखबारको सफलतामा हामी सञ्चारकर्मीको मात्र हात छैन । मोजेस राई आउँथे र हाम्रो मनमा उत्साह भर्दै रमाइलो पाराले बस्थे । कतिसम्म भने कहिलेकाहीँको जमघटमा जसकुमारको घरमा फुडिङ र मोजेसको घरमा लजिङ हुन्थ्यो, हाम्रो पुरै समूहको । सुजित सुब्बा त परिवारका सदस्यजस्ता । हाम्रो हिसाब हेरिदिन्थे । पत्रिका पट्याइदिन्थे । हुलाक टिकट टाँसिदिन्थे । हामीसँग खान्थे, हामीसँगै सुत्थे, पत्रिकाको थाकमा ।

कहिलेकाहीँ सिक्टन राई र खगेन्द्र पन्धाकहरु आउँथे, चित्र बनाइदिन्थे । मुम्चे राई उर्फ विद्रोही साइलाले लगानी मात्र गरेनन्, त्यो पत्रिकामा, हामी विरुद्ध लाग्नेलाई कुट्न मात्र बाँकी राखे ।

हाम्रो चतरा लाइनमा रहेको कार्यालयमा एक जना बालकको नियमित उपस्थिति हुन्थ्यो । साह्रै अनुशासित । पब्लिक माविमा पढ्दै थिए ती । विभिन्न जिज्ञासा राख्थे हामीसँग । पत्रिका पट्याइदिन्थे । सङ्घर्षको समयमा कतिपय पट्यारलाग्दा एकान्तिक अनुभूति पनि हुन्छन् । ती भाई हाम्रो कार्यालयमा आइपुग्दा मेरो न्यास्रोपन हट्थ्यो । एकान्तिकताबाट म लोकयात्राको सपनातिर लागि ब्यूझन्थेँ । हाम्रा सपनाहरु फुल्दै गर्दाको समयका साक्षी हुन्, ती भाई अर्थात्, गगन नेपाली ।

उनले गत साल मात्र फेसबुकमा सन्देश पठाए,“तपाईँहरूको अफिसमा आइरहने म फुच्चे भाईलाई चिन्नु भो, दाई ।”

सङ्घर्षको समयमा साथ दिनेमध्येका ती भाइलाई म बिर्सूँ कसरी ?

हाम्रो यस्तो गतिविधिप्रति समर्थन गर्ने कतिपय शुभचिन्तक थिए र कतिपय चाहिँ विरोधी पनि । भण्डारी थरका तत्कालीन एक पत्रकारले मलाई एक दिन भने,“दिक्पाल, तिमीले बनाएको टिमको सदस्यले गरिखाँदैनन् ।” त्यसपछि आफ्नो स्वभावअनुसार उनी खित्खिताए, हि...हि...हि...!

कठै, राजधानीबाट निस्कने एक अखबारमा मैले नै उनलाई संवाददाताको लागि सिफारिस गरेर पत्रकार बनाएको थिएँ । विडम्बना, थाहा छैन, उनी कहाँ छन् यतिखेर ? तर मेरो स्कुलका उत्पादनहरूले उनको पूर्वानुमानलाई खण्डित गरिदिए । लौ, जा !

मैले धरानमा रहँदा पूर्णबहादुर गुरुङ र सरस्वती गुरुङलाई पितामातातुल्य र शिव सुब्बा र गुना राईलाई दाजुभाउजुतुल्य अभिभावकको रूपमा पाएँ । धेरै चर्को घाम र मुसलधारे वर्षाको समयमा उहाँहरूले मलाई छाता ओढाइरहनुभयो । 

यति राम्रो हुँदाहुँदै हाम्रो व्यवस्थापकीय अज्ञानताले पत्रिका असयमै बन्द भयो । हाम्रो केही लगानी डुब्यो तर हामीहरूको सपना डुबेन ।

चेलीको आशीर्वाद

कुन्ता योञ्जन दिदीले लगाउनुभएको गुनलाई कसरी बिर्सन सकिन्छ र ?
त्यो बेला उहाँ भानुचोक बसपार्कमा सामान्य पसल चलाउनुहुन्थ्यो । म परेँ, उहाँकोमा “जोगीको घरमा सन्न्यासी पाहुना”जस्तो । उहाँको ममताको छायाँ छँदै थियो, हामीप्रति । डम्बरकृष्ण र म केही महिना उहाँकोमा पेइङ गेस्ट पनि भयौँ । खाइन्थ्यो, हिसाब किताब हुँदैनथ्यो ।

दिदी, कतै तपाईँको खातामा बाँकी नतिर्नेको नाममा हाम्रो नाम पनि छ कि ?

हिमायती परिवारका संस्थापक दिदी कुन्ता योञ्जन अहिले धरानमा सफल रेस्टुरेन्ट व्यवसायी हुनुहुन्छ । दिदीको नाम लिनुमात्र पर्छ, मेरो त श्रद्धाले शिर निहुरिइहाल्छ । शशि थापा सुब्बा र भेना डीबी थापा हाम्रो रक्षाकवज हुनुहुन्थ्यो । मैले कतिपय बिरुवा रोपेँ, परिस्थितिले मलाई ती बिरुवाहरू गोडमेल र मलजल गर्ने समय मिलेन । त्यो अभिभारा उहाँहरूले नलिएको भए, धरानमा व्यावसायिक पत्रकारितामा हर्ष सुब्बा दाइले सुरु गरेको विरासत डम्बरकृष्णहरूबाट धानिँदैनथ्यो भन्ने सामान्य बुझाई छ मेरो । समय क्रमको निरन्तरतामा अहिले त धरानमा व्यावसायिक सञ्चारकर्मीहरू धेरै जन्मिसकेका छन् ।

हङकङबासी मेरी कान्छी बहिनी इन्दुले मेरो केही आर्थिक समस्याहरूमा केही भरथेग गरिरहेकी थिइन्, त्यो बेला ।

सुजित भाईमार्फत हामीले विमला लिम्बु “शालीन”लाई पनि “न्यूज टाइम्स”मा तान्यौँ । मैले उनलाई पारिजातका रचनाहरूको भोल्युम किन्न सुझाव दिएँ । उनी गम्भीर स्वभावको मानिस । बेजोडले पढ्थिन् र कलम चलाउँथिन् । गौरव लाग्थ्यो हामीलाई ।

उनी सातामा एक दुई दिन मात्र आउँथिन्, हाम्रो कार्यालय । उनी आएको दिन सहकर्मीको अनुहारमा आभा भरिन्थ्यो । तीन कुरामा, एक जना हाम्रा परिवारको सदस्यका रूपमा, अर्को केही न केही लेख रचना लिएर आएकी छन् भन्ने विश्वासमा र अर्कोचाहिँ खाजा खान पाइने आशामा । उनी  माइतीराजाहरु भोकै होलान् भन्ठान्थिन् क्यार । कम्तीमा मारवाडी वासाको समोसाको व्यवस्था हुन्थ्यो, उनको सौजन्यमा । हाल उनी बेलायतमा छिन् । कहिले काहिँ मम सौजन्य हुन्थ्यो ।

उनले फेरि पनि कलम चलाए हुने हो । किन चुपचाप छिन् ?

सुमित्रा लिम्बु “प्रवृत्ति” र रमा घिमिरे हाम्रा दुःख र सङ्घर्षका साक्षी हुन् । यी दुवै नेपाली भाषा र साहित्यका पूजारी । दुवै गम्भीर लेख रचना र सिर्जनामार्फत नेपाली भाषा साहित्यको पूजा गरिरहने । दुवै जना हाम्रो कार्यालयमा नियमित आउने अनि समाचार वा लेख रचना लेखिरहने । रमा अलि गम्भीर सुमित्रा चाहिँ चञ्चलजस्तो लाग्ने । दुवै जना प्रायः हरेक बिहीबार पनि हाम्रो कार्यालयमा आउने । पत्रिका पट्याउने र हुलाक टिकट टाँसिदिँदै ग्राहकको नाम र ठेगाना लेख्न सहयोग पुयाउने । उनीहरूको यस्तो सद्भावले हामीलाई पगाल्थ्यो ।

तीमध्ये सुमित्रा हाम्रो कार्यालयमा आउँदा उनको एकापट्टिको गाला चाहिँ पुक्क फुलेको हुन्थ्यो । आश्चर्य लाग्थ्यो सुरुसुरुमा त ! उनी आउँथिन् र भन्थिन्,“अमला...अमला...अमला...।”

उनको एकापट्टिको गालामा त अमला पो हुँदोरहेछ । आफू पनि खाँदै र हाम्रो लागि हातमा अमला कोसेली बोकेर आउँथिन् उनी ।

ओहो, सम्झना त यस्तो पो हुनुपर्छ, अमला खाएर पानी पिएजस्तै !

एकै दिन दुई वटा प्रसव

बिहीबार हाम्रो पत्रिका निस्कने दिन । बुधवार बेलुकाको खाना प्रायः निरुको हातले पकाएको खाना  आउँथ्यो, मेरो लागि मात्र होइन, सबै सहकर्मीका लागि । कहिलेकाहीँ जसकुमारको घरबाट पनि खाना आउँथ्यो । भोजनभन्दा भोक मीठो । लाग्थ्यो, हामी खाना होइन, दुःखसुख बाँडिचुडी गर्दैछौं ।

त्यो बेला मेरो चिन्ता गर्भवती श्रीमती निरु र गर्भभित्रको शिशुकाबारेमा कम र संस्था र समूहप्रति बढी थियो ।
“आज अलि कस्तो कस्तो भइरहेको छ”, म कार्यालयतिर हिँड्ने बेलामा निरुले भनिन्,“अस्पताल जान्छु, केही भयो भने फोन गर्छु है ।”

भोलि पत्रिका निकाल्नुपर्ने । मैले भनेँ,“साथी खोजेर जानु नि त ।”

दिउँसोको समय । पत्रिकाको काम धमाधम चलिरहेको बेला एक नातेदारबाट कार्यालयमा फोन आयो,“निरुलाई आज अस्पताल नै राख्ने भनेको छ, झट्टै आउन पर्‍यो बाबु ।”

मलाई दुई वटा चिन्ता लाग्यो, त्यो बेला । पत्रिकाका सहकर्मीहरूले आज के खालान्, पकाएर पठाउने नै अस्पताल भर्ना हुँदैछ । अर्कातिर श्रीमती र जन्मँदै गरेको शिशुबारे चिन्ता हुनेनै भयो ।

साँझको साढे ७ बजे छोरी जन्मिइन् । यता एउटा चिन्ता, अर्कोतिर अर्को चिन्ता । कार्यालयमा फोन गरेर बुझेँ, त्यसको तीन घण्टापछि पत्रिका प्रेसमा गएछ । दुवै घटना सकुशल । २०५४ माघ २९ गते बुधवार ।

पछि पत्रिका साथीहरूलाई जिम्मा लगाएर म गृह जिल्ला धनकुटा फर्केँ । धरानमा बस्दा ऋणमा थिएँ । धनकुटा फर्केपछि जिल्ला विकास समितिले एउटा रेडियो कार्यक्रमको डिजाइन गरेको रहेछ, विभिन्न दातृ निकाय जम्मा गरेर । कार्यक्रम उत्पादनको जिम्मेवारी मेरै काँधमा आइलाग्यो । त्यो बेला जागिर खानुपर्ने सख्त आवश्यकता थियो मेरो लागि ।

विकास र त्यससँग सम्बन्धित जनताको धारणा स सङ्कलन गर्न गाउँगाउँ जानुपर्थ्यो । एक दिन खोकु छिन्ताङ पुगेर भर्खरै घर फर्केको थिएँ । थकित शरीरलाई खाटमा बिसाएँ, थचक्क । त्यसैबेला पुन्टुङ पुन्टुङ गर्दै मेरो छेउमा उनै दुई वर्ष तीन महिना उमेरकी छोरी युन्छोमी आइपुगिन् र भनिन्,“बाबा, हजुर जुत्ता फकाल्नु न ।”
“किन नानी”, म आश्चार्यचकीत भएँ ।

“हजुर गल्नुभएको छ, म हजुरको खुट्टामा मालिस गरिदिन्छु क्या”, नानीले भनिन् । म झन आश्चार्यमा परेँ ।

छेउमा छिमेकी भाउजू (श्रीमती वसन्त पाख्रिन) पनि हुनुहुन्थ्यो, सानै उमेरमा बोली प्रस्ट मेरो छोरीको कुरा सुनेर गललल हाँसिन्, ती भाउजू, “अबुई यसले मालिस गरिदिने रे बाउको खुट्टा ! हा...हा...हा...!”
यो क्षणभन्दा ठुलो मेरो सुखदुःखको साक्षी अरू के हुनसक्छ ?