पथरी : ५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलमा आयोजक यूथ फ्रेण्ड्ली सेन्टर (वाईएफसि) पथरीशनिश्चरे सेमिफाइनल प्रवेश गरेको छ ।

बुधवार भएको खेलमा लेटाङ फुटबल क्लबलाई ०-२ ले पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो । वाईएफसिको जितका लागि उमेश राई र नितिन थापाले गोल गरे । खेलको १६ मिनेटमा लेटाङका २ खेलाडीलाई छल्दै उमेशले गरेको प्रहार गोलमा परिणत भएको थिए ।

६५ औँ मिनेटमा नितिन थापाले टिमका लागि थप १ गोल गरी २-० को अग्रता दिलाए । आयोजक वाईएफसीका निशान लिम्बू र जय गुरुङले गरेका उत्कृष्ट प्रहारले जाली चुम्न सकेन ।

ए डिभिजनका क्लबमा व्यावसायिक खेल खेलिरहेका खेलाडीहरूको साथमा मैदान उत्रिएको दुवै टिमबिच रोमाञ्चक प्रतिस्पर्धा भएपनी लेटाङले गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

बुधवारको खेलको म्यान अफ द म्याच आयोजक टिमका उमेश राई घोषित भए । उनले २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे। बिहीबार को पहिलो चरणको अन्तिम खेल आयोजक वाईएफसि (बि) र योङ्ग ब्रदर इलामबिच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोली ५१ हजार रुपैयाँ पुरस्कारमा सीमित रहने छ ।