चाडको महत्व :

कुनै पनि चाडको सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक महत्व हुन्छ । यस्ता चाडहरू कहीँ न कहीँ धर्म र राजनीतिसँग जोडिएको हुन्छ । चाडले समाजलाई विशेष सन्देश दिएको हुन्छ र निश्चित मूल्य र मान्यतालाई बढावा दिएको हुन्छ र समाजलाई डोर्याईरहेको हुन्छ । चाडले खास मानव समूह या समाजको पहिचान पनि दिन्छ । कुनै पनि चाड कुनै न कुनै धर्म तथा धार्मिक विश्वाससँग गाँसिएको हुन्छ । त्यसले उक्त धार्मिक तथा सामाजिक विश्वासलाई मजबुत बनाउने काम गर्दछ । चाड मानव समुदायमा घटित कुनै न कुनै घट्नासँग जोडिएको हुन्छ । चाडहरूले कुनै पनि जातीय या सामाजिक या सांस्कृतिक समूहको संस्कृतिको रूपमा पहिचान दिन्छ । यति मात्र होइन यसले इतिहासमा मानव समूहहरू बिच भएको राजनीतिक घटना तथा नियन्त्रणको पनि रिफ्लेक्सन दिन्छ । यस अर्थ, चाडको बहुपक्षीय महत्व छ । सामान्य चाड मनाउने, रमाइलो गर्ने, मिठा मिठा खाने कुराहरू खाने र नयाँ नयाँ लुगा लगाउनेमा मात्र चाड सीमित हुँदैन र छैन ।

दशैं चाडबारे विभिन्न मतहरू :

२०४७ सालमा आएको प्रजातन्त्र पछि नेपालमा दशै चाडबारे विभिन्न बिचारहरू आउन थाले । यसले व्यक्ति तथा समुदायलाई दशै चाडको पक्ष र विपक्षमा रहनु पर्ने अवस्था ल्यायो । २०४७ सालको स्वतन्त्रताले धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक रूपमा थुनामा राखेको कैदी स्वतन्त्र भए जस्तो भयो यद्यपि २०४७ सालको संविधानले पनि धर्म तथा संस्कृतिको सवालमा उही पुरानै पञ्चायतकालीन बाटो लिएको थियो । सो समय देखी आजसम्म दशै चाड मान्ने र नमान्ने पक्ष र विपक्षमा समाज बाडीएको छ । त्यसपछि दशै नेपालीहरूको महान् चाडबाट हिन्दुहरूको महान् चाडमा परिणत भयो ।

यस्तो पक्ष र विपक्षमा समाज बाडीनुमा मुख्य कारण दशैको सुरुवात कहिले र कोबाट भयो भन्ने कुरा भन्दा बढी २४० वर्षदेखि राज्य तथा राज्य शासकहरूले धर्म, जाति तथा संस्कृतिको आधारमा गरिएको फरक व्यवहार, असमानता र अन्याय थियो जुन नेपालका आदिवासी जनजाति, मधेसी र दलितहरूले भोगेका थिए । तिनीहरू मध्ये आदिवासी जनजातिहरू भने दशै चाड नमान्ने तर्फ पहिलो पङ्क्तिमा रहे ।

दशै चाडको विपक्षमा अर्को एउटा समूह पनि थियो र बिचारको हिसाबले रहिआएको छ । त्यो भनेको मार्क्सवादी वर्गीय बिचारको आधारमा राजनीति गर्नेहरू हुन । उनीहरूको मान्यता भनेको दशै भनेको शोषक तथा उत्पीडक वर्गका मानिसहरूले आफ्नो शोषण-उत्पीडन कायम राख्न चलाइएको प्रपञ्च हो जसले गरिबहरूमाथि झन् शोषण र अन्याय गर्दछ । यसैले, यो दशै चाड मनाउनुको कुनै अर्थ छैन भन्ने उनीहरूको बिचार रहेको छ । तर यस्ता बिचार बोकेका मानिसहरू मुस्किलैले १/२ जना पाउन सकिन्छ । यसको मतलब नेपालमा वास्तविक मार्क्सवादी बिचार बोक्ने मानिसहरू छैनन्, मात्र बोक्रे गफ लगाउने मानिसहरू छन् भन्ने हुन्छ । यसले नेपालमा मार्क्सवादको खोल ओडेका ब्राह्मणवादीहरू मात्र छन् भने देखाउँछ ।

दशै चाडबारे विभिन्न मतहरू

दशै चाडबारे मुख्य मत त नमान्ने मत र अर्को मान्ने मत हो । नमान्नेहरूले दशै हाम्रो चाड होइन थोपरिएको हो । हाम्रा आफ्नै मौलिक चाडहरू छन् तिनीहरूलाई मानौँ र मना भन्ने बिचार रहेको छ ।

मान्ने भित्र पनि २ वटा धार रहेको छ । पहिलो धारले दशैलाई विजया दशमी अर्थात् असत्यमाथि सत्यको विजयको विजय उत्सव मनाउने पर्वको रूपमा चित्रण गर्दछ । यसैको व्याख्या असुर तथा रावणहरू असत्यका पक्षपाती थिए भने देवता तथा राम सत्यका पक्षपाती थिए । रावणलाई रामले मारेको र देवी दुर्गाले महिषासुर लगायतका असुरहरूलाई वध गरेको प्रतीक र उत्सवको रूपमा दशैलाई चित्रण गर्ने गरिएको छ । यो पहिलो धारले हिन्दु दर्शन, हिन्दुत्व र हिन्दु सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक बिचारलाई प्रतिनिधित्व गर्दछ । यही हिन्दु दर्शन, हिन्दुत्व र हिन्दु सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक बिचार बोकेको दशै चाड अरू गैरहिन्दुहरुलाई राज्य तथा राज्यसत्ताको बलमा जबरजस्त थोपरियो भन्ने दशै नमान्ने या मान्न छोड्नेहरूको बिचार छ ।

दशै मान्नु पर्छ भन्ने अर्को धारले दशैको आदिवासी तथा किरातहरूको चाड हो । यसमा आर्य हिन्दुहरूले आफ्ना कुराहरू जोडेर आफ्नो बनाएका हुन ।

त्यसैले, यसलाई नमान्नु भनेको किरात तथा आदिवासी जनजातिको संस्कृतिको अवज्ञा हो भन्ने बिचार रहेको छ । यो चाड आर्यहरूको होइन भन्ने यो धारको ६ वटा तर्कहरू रहेका छन् । पहिलो तर्क छ, यो अनाजको चाड हो खास गरी धान तथा मकैको । धान आर्यहरू सिन्धु घाटीमा आउनु अघि सिन्धु सभ्यताको क्षेत्रमा खेती गरिन्थ्यो । त्यसैले, यो चाड आदिवासी किरातसँग सम्बन्धित छ । दोस्रो तर्क छ, आदिवासी किरातहरूले मनाउने चाडलाई आर्यहरूले नक्कल गरे र उक्त चाड मनाउन सुरु गरे । तेस्रो तर्क छ, यो चाड ऋतुसँग सम्बन्धित भएकोले खेती कार्यहरू सके पछि दुखको काम सकियो भनेर खुसी मान्ने चाड हो ।

यसैले, यो कसैको विरुद्ध या समर्थनमा छैन । चौथो तर्क छ, यस चाडमा देवी दुर्गाको पूजा गरिन्छ र शक्तिको रूपमा लिइन्छ । दुर्गा भनेको स्त्री जो मातृसत्तात्मक समाजको प्रतीक हो । आर्य समाज मातृसत्तात्मक थिएन त्यसैले यो मातृसत्ता भएका आदिवासी किरातहरूको चाड हो । पाचौ तर्क छ, आर्यहरूमा जात विभाजन छ । बाहुन र क्षेत्री मात्र आर्य हुन । बाकी वैश्य र शूद्र यो भेगमा आएपछि अरूलाई आर्य हिन्दुमा मिसाउन अरू समुदायलाई हालिएको या जोडिएको हो । वैश्यहरू भनेका खेती र व्यापार गर्नेहरू हुन । आर्यहरू खेती नै नगर्ने भएकोले यो चाड आर्य हिन्दुहरूको होइन । छैटौँ तर्क छ, दशै चाड नेपालमा जुन ढङ्गले मनाइन्छ अन्यतिर खास गरी भारतमा यसरी मनाइँदैन । चामलको अक्षता दहीमा मुसेर टिका लगाउने चलन नेपालमा मात्र छ । त्यसैले, यो आर्यहरूको नभएर आदिवासी किरातहरूको चाड हो ।

विश्लेषण र निष्कर्ष

माथिका मतहरूलाई विश्लेषण गरेर हेर्दा, नमान्नेको तर्कमा धेरै थप कुरा गरिरहन परेन किन भने थोपरिएको भन्ने कुराको लागी प्रशस्त प्रमाणहरू छन् । यो हाम्रो चाड होइन । यसलाई नमान्ने र नमानौँ भन्ने अभियान गर्नेहरू मारिएका छन् भने दशै माने कि मानेनन् भनेर हेर्ने अनेक प्रमाणहरू राख्न लगाइने र राज्यका मानिसहरू आएर चेक गर्ने सम्मका उदाहरणहरू काफी छन् । यस्ता अवस्थाबाट गुज्रेका दशै नमान्नेहरूलाई दशैको सुरुवात कसरी भयो र कस्तो चाड हो भन्ने कुरा अर्थ हुँदैन । जहाँसम्म दशै चाड आदिवासी तथा किरातहरूको हो भन्ने मत तथा तर्कहरू छन् तिनीहरूलाई भने सिलसिलेवार रूपमा विश्लेषण गर्न आवश्यक छ।

पहिलो कुरा, अनाजको चाड हो भन्ने कुरामा धेरै गलफत्ति गरिरहनु परेन, हुन पनि सक्छ । अनाजको चाड त नेपालका किरातहरूले मनाउने उभौली अर्थात् चासोक हो । चासोक भनेको नै अन्न वाली पाकेपछि प्रकृति तथा माङहरुलाई चढाउने चाड हो । यो चाडमा धानको अक्षता दहीसँग मुछेर निधारमा लगाइँदैन । दसैँमा आदिवासी कथित किरातले सेतो टिका लगाएको त दशै थोपरिएकोले गर्दा हो । थोपरिए पछि भिन्न देखाउन रातो नलगाएर सेतो लगाएको हो।

दोस्रो कुरा, धान खेती या धानको आविष्कार ईसापुर्व ५ हजार वर्ष अघि चीनमा भएको हो । त्यो बिस्तारै फैलँदै हालको थाइल्यान्ड, कम्बोडिया, भियतनाम, बर्मा हुँदै उत्तर-पूर्व भारत, आसाम र नेपाल अनि गङ्गाको मैदानमा आएको हो । यो धानको प्रचलन चीनदेखि उत्तर–पूर्व भारत हुँदै नेपाल तथा गङ्गा मैदानमा बसाई सराई गरेर आएका मानव समूहले ल्याएको प्रचलन हो । गङ्गाको मैदानबाट सिन्धु सभ्यताको मैदानमा गएको समय शायद ईसा पूर्व ३,००० बर्षतिरै होला । के कुरा सत्य हो भने आर्यहरू सिन्धु घाटीमा आउनु अगाडी नै सिन्धु मैदानमा धान लगाउने प्रचलन चलिसकेको थियो । आर्यहरू सिन्धु मैदानमा आएपछि कृषि खेती गर्न थालेको कुरा त उनीहरूको ऋग्वेदमा र धानको कुरा यजुर्वेदमा नै उल्लेख छ । उनीहरू आउनु अघि आदिवासी द्राविड र किरातहरूले दशै मनाउँथे भन्ने कुरा अलि प्रमाणित हुँदैन । शायद ती आदिवासीहरूले नेपालका किरातले अन्न पाकेपछि प्रकृति र देवी देउता (माङहरु) लाई चढाउँथे र घर घरमा पूजा गर्थे होला भनेर अनुमान भने गर्न सकिन्छ।

तेस्रो कुरा, आर्य भनेको मातृसत्तात्मक समाज कहिल्यै रहेन भन्ने कुरा सही नै हो । देवी दुर्गा भनेको मातृसत्तात्मक समाजको सङ्केत तथा प्रतीक हो । त्यसैले, दसैँमा पूजा गरिने दुर्गा स्त्री भएकोले दशै आर्य हिन्दुहरूको चाड होइन भन्ने तर्क केही हद ठिकै भए पनि पूर्ण रूपमा ठिक होइन । हिन्दु तथा आर्य समाज भनेको शक्तिका उपासक हुन चाहे त्यो शक्ति स्त्री रूपको होस या पुरुष रूपको । स्त्रीरुपका सरस्वती, लक्ष्मी आदी पनि छन् । ती सबैलाई मातृसत्तात्मक समाजको सङ्केत भनेर बुझ्नु गलत हुन्छ । दुर्गा भनेको आर्य हिन्दु समाजकै महिला भए पनि उनलाई महिषासुरको कामवासना पुरा गर्न पठाई शक्तिशाली असुरहरूलाई छलकासाथ वध गरेको भन्ने कथा पनि रहेको छ । त्यस्ता शक्तिशाली असुरहरूलाई वध गरी आर्य हिन्दुहरूको बर्चस्प स्थापित गर्ने दुर्गाको जयजयकार गर्नु आर्य हिन्दु पितृसत्तात्मक समाज नै भए पनि अस्वाभाविक होइन । त्यसैले, दुर्गाको पूजा हुने र स्त्री भएकै आधारमा दशै आदिवासी किरातहरूको हो भन्न मिल्दैन।

चौथो कुरा, आर्यहरूमा बर्न या जात विभाजन रहेको, बाहुन र क्षेत्री आर्य बाकी वैश्य र दलित गैर आर्य भन्ने तर्क ठिकै हो । भारतमा आर्यहरूले आफ्नो प्रभाव बिस्तार गर्ने क्रममा अन्य धेरै जाति तथा वर्णका समुदायसँग मुकाबिला गर्न पर्‍यो । ती फरक जाति तथा वर्णका मानव समूहलाई आफ्नो आधिपत्य भित्र ल्याउन र राख्न बर्न विभाजन गरियो । वैश्यको श्रेणीमा रहनेहरू कृषि खेती तथा व्यापार गर्दथे भन्ने कुरा सही नै हो । वैश्यले कृषि खेती गर्ने भन्दैमा अनाजको चाड भनिएको दशै वैश्यमा राखिएका आदिवासी तथा किरातहरूको चाड हो भन्ने हुन सक्दैन । बर्न विभाजन भएको मनुस्मृतिको पालामा हो । मनुको समय ईसापुर्व ३ शताब्दी हो। त्यो भन्दा अघि नै आर्यहरू गङ्गा तथा सिन्धु मैदानमा कृषि खेती गर्दथे र गर्दै आइरहेका थिए । फेरी यो दशै दशेर चाड महिषासुरको वधसँग सम्बन्धित छ । महिषासुर भनेका ड्रभिडियन मानव समूहका पुर्खा तथा राजा हुन । यसर्थ, यो खाले तर्कले दशै आदिवासी तथा किरातहरूको चाड हो भन्ने पुष्टि हुँदैन।

पाचौ कुरा, नेपालमा जस्तो तरिकाले भारतमा दशै मनाइँदैन भन्ने कुरा ठिक हो। नेपालमा आदिवासी तथा किरात नाम दिएका आदिवासी लिम्बु, राई, याक्खा, सुनुवार, थामी, हायु लगायतका मानव समूहहरूले त न्वागी अर्थात् चासोक पूजा र उँधौली उभौली मात्र गर्ने गर्दथिए । आर्य हिन्दुहरूले दुर्गा देवीको पूजा अर्चना भारत लगायत अन्य ठाउँमा गर्ने गर्दथिए । भारतमा भनिने दशेरालाई नेपालमा असली हिन्दुस्थान बनाउने उदेश्यकासाथ गोर्खा राज्यको बिस्तार पछिको नेपालमा पृथ्वीनारायण शाहले भारत भन्दा भिन्न ढङ्गले कसरी मनाउने भन्ने सोचको उपज हो नेपालको दशै चाड । एउटा कुरा के नकार्न मिल्दैन भने दसैँमा प्रयोग गरिने विधि तथा तरिकाहरू जस्तै फूलपाती तथा अन्न भित्र्याउने र पूजा गर्ने कतिपय आदिवासी समाजको विधि तथा तरिकालाई लिइएको या मिसाइएको छ । यसैले, नेपाल र भारतमा मनाइने दशेरा या दसैँमा भिन्नता छ । यत्तिको आधारमा दशैलाई आदिवासी तथा किरातको चाड हो भन्न मिल्दैन । यो आर्य हिन्दु दर्शन, बिचार तथा राजनीतिमा आधारित छ । यसर्थमा पनि दशै आदिवासी तथा किरातहरूको हो भनेर जिकिर गर्नु नबुझ्नु र अपरिपक्व बिचार हुन्छ।

nanda-kandangwa