वैदिक सनातनी नेपालीहरू एवम् तराई मधेसमा विशेष रूपमा मनाइने छठ पर्वको सोमबार दोस्रो दिन व्रतालुहरू ‘खर्ना’ मनाउने तयारीमा छन् ।
दिनभरि व्रत बसेर बेलुका नैवेद्य चढाएर सक्खर हालेर बनाइएको खीर, मुला, केरा खाने गरिन्छ, जसलाई ‘खर्ना' भनिन्छ । चार दिनसम्म मनाइने यो पर्वमा सूर्यको पूजा आराधना गरिन्छ । व्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन्।
आजको दिन भर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन्। आज एक छाक मात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो । चार दिन सम्म मनाइने छठ पर्वको छठको पहिलो दिन-कार्तिक शुक्ल चतुर्थीलाई "नहाई खाय" भनिन्छ,
छठको दोस्रो दिन-कार्तिक शुक्ल पञ्चमीलाई खर्ना भनिन्छ। छठको तेस्रो दिन-कार्तिक शुक्ल षष्ठीलाई विशेष दिन "छठ" भनिन्छ । छठको चौथो दिन-कार्तिक शुक्ल सप्तमीलाई "विहनीया अर्घ्य" भनिन्छ ।
चार दिन सम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवी देउतालाई प्रसन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
सृष्टिको आदि काल देखि नै यस जगतका प्रत्यक्ष देवता सूर्यनारायण भगवानको उपासना, आराधना गरिँदै आएको पाइन्छ। अग्नि पुराणमा षष्ठी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ ।
द्वापर युगमा चौध वर्षको वनवास र एक वर्षको अज्ञात वास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवहरूले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौसल्याले पनि यो व्रत गरेको बताइन्छ। यो पर्व वर्षको दुई पटक मनाउने गरिन्छ ।
कात्तिक महिनामा मनाइने छठलाई ठुलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।