इटहरी : विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले सर्वोच्च अदालतबाट वैधानिकता पाएसँगै एमाले भित्र समेत नेतृत्वको विकल्प बारे बहस सुरु भएको छ । नेकपा एमालेका युवा नेताहरूले वक्तव्य जारी गर्दै पार्टी एकता भन्दा पुनर्गठन र रूपान्तरणको माग गरेका हुन् ।

११औँ महाधिवेशनमा युवा क्लष्टरका प्रतिनिधिहरूले पार्टी पुनर्गठनलाई विषयान्तर गरेर एकताको कुरा नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी पुनर्गठन अभियान सम्बद्ध युवा सङ्घका कोसी प्रदेश अध्यक्ष सुजन लामा सहित युवा नेताहरूले विशेष महाधिवेशन हुनुपर्ने सङ्केत गरेका हुन् । 

केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेले फागुन २१ को निर्वाचनमा लज्जास्पद पराजय भोगेको बताउँदै नेताहरूले देशभरका नेता, कार्यकर्ता र शुभेच्छुक स्तब्ध भएको बताए ।

‘यो हार केवल प्राविधिक पराजय मात्र नभई पार्टीको विद्यमान नीति, कार्यशैली र नेतृत्वमाथि जनताले गरेको गम्भीर अविश्वास र प्रश्न पनि हो ।,´ जारी वक्तव्यमा उल्लेख छ ।

उनीहरूले पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्ने गरी अगाडि बढ्नुपर्ने अडान लिएका छन् ।  कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति रहेको नेताहरूको भनाइ छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओली बिच भएको भेटघाट बारे आशङ्का गर्दै एमाले नेताहरूले खबरदारी गर्न थालेका हुन् । 

प्रेस विज्ञप्तिको पूर्णपाठ

यस ऐतिहासिक घडीमा पार्टी विधानको मर्म र व्यवस्था अनुसार पार्टीभित्रबाट उठिरहेको आवाजलाई तत्काल सम्बोधन गर्नपर्छ भन्ने हामी युवाहरूको दृढ मान्यता छ र यसका निमित्त हाम्रो पहल जारी रहेको सबैमा जानकारी गराउन चाहन्छौँ । 

तर, पछिल्लो केही दिनदेखि पार्टीभित्र हुनुपर्ने वास्तविक रूपान्तरण र पुनर्गठनको बहसलाई ओझेलमा पार्ने प्रयास भइरहेका छन् । नेतृत्वले गरेका गल्ती कमजोरीहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान मोड्नका लागि जुन प्रकारको "बेमौसमी कम्युनिस्ट एकता" को बहस चलाइएको छ, त्यसले पार्टीलाई अझ रक्षात्मक बनाउने निश्चित छ। यस्तो प्रयासले पार्टीभित्र विद्यमान मूल समस्याहरूलाई ओझेलमा पार्ने, कार्यशैलीगत र सङ्गठनात्मक कमजोरीहरूलाई समाधान नगर्ने स्पष्ट नै छ ।

पार्टीलाई जनताको वास्तविक भावना, विशेषगरी युवापुस्ताको आकाङ्क्षा र आवाजसँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो। यही आधारमा मात्रै पार्टीले आफ्नो ऐतिहासिक भूमिकालाई पुनः स्थापित गर्न सक्छ ।

त्यसैले, हामी कुनै पनि प्रकारको असामयिक र दुराशययुक्त पार्टी एकीकरणको प्रयासप्रति असहमति व्यक्त गर्दै त्यस्ता गतिविधिहरूको कडा शब्दमा विरोध गर्दछौँ। हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीरतापूर्वक लिन र केन्द्रीय कमिटीमार्फत त्यसलाई यथाशीघ्र सम्बोधन गर्नेगरि अगाडि बढ्न जोडदार आग्रह गर्दछौँ। अन्त्यमा, वैधानिक ढङ्गले पार्टीलाई समयानुकूल रूपान्तरण, पुनर्गठन र पुनर्जागरण गर्न हाम्रो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पुनः दोहोर्याउँदछौं । 

अभियानको तर्फबाट प्रतिनिधिमूलक महाधिवेशन प्रतिनिधिहरू :

१) सुजन लामा, कोसी प्रदेश 

२) अमित कुमार यादव, मधेश प्रदेश 

३) डा. सुजन कडरिया, बागमती प्रदेश 

४) ज्ञानभक्त डङ्गोल, राजधानी प्रदेश 

५) मोहन भट्टराई, गण्डकी प्रदेश 

६) सन्देश ढकाल, लुम्बिनी प्रदेश

७) मेनका पछाई, कर्णाली प्रदेश 

८) हरिश पन्त, सुदूरपश्चिम प्रदेश

९) कमल जोशी 

१०) उपेन्द्र शाही