इटहरी : इटहरी उपमहानगरपालिकाले नागरिक स्तरबाट आवाज उठ्दै आएको बहुउद्देश्यीय सभाहल निर्माण सुरु गरेको छ ।

इटहरीको प्रत्येक चुनावी अभियानमा दलहरूको प्रमुख एजेन्डा बन्ने गरेको सभाहलले इटहरी-५ स्थित काब्यबाटीका परिसरमा निर्माण थालिएको हो ।

इटहरीमा भव्य कार्यक्रम आयोजना गर्ने सरकारी स्तरको हलको अभावलाई समाधान गर्न उपमहानगरपालिकाले प्रयास गरेको छ । तर पर्याप्त बजेटको अभावमा निर्माणाधीन आयोजना अलपत्र परेको हो । २०८० चैत ४ गते सम्झौता भएको सभाहल २०८३ कार्त्तिक २० गते सम्पन्न गर्नुपर्ने भए पनि जग बसाउने बाहेक थप प्रगति भएको छैन ।

निर्माणको जिम्मा पाएको श्री भगवती र जे एण्ड जेजे जेभिले समयमै भुक्तानी नभएको कारण काममा ढिलाइ भएको बताएको छ । यसअघि उपमहानगरपालिकाले रनिङ बिलको भुक्तानी दिन नसकेपछि समयमै निर्माण सम्पन्न नभएको कम्पनीको दाबी छ ।

इटहरी उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट २० करोड ९५ लाख ९५ हजारमा सम्झौता भएको छ । तीन तले भवनको निर्माण सुस्त हुँदा उपमहानगरका आयोजनाहरू अलपत्र पर्ने क्रम दोहोरिएको छ । भुक्तानी हुन नसक्दा इटहरीको बसपार्क सञ्चालनमा आउन सकेको छैन । त्यससँगै दुईबर्ष देखि इटहरी कोल्ड स्टोर निर्माणको काम ठप्प भएको छ ।

itahari hall 2