चतरा : सुनसरीको वराहक्षेत्र धाममा माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलाको तयारी सुरु गरिएको छ ।
कोरोनाका कारण करिब १० महिना सम्म मेला पर्वमा समेत सुनसान वराह क्षेत्रमा माघे सङ्क्रान्ति मेलामा भक्तजनहरूलाई भित्र्याउन स्थानीय व्यापारी लागी परेका छन् । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुसार मेलाको तयारी सुरु गरिएको छ ।
गत चैत्रदेखि सुस्ताएको भक्तजनको आगमनलाई माघ १ गते बढाउने आस वराहक्षेत्र संरक्षणले लिएको सचिव राजु अधिकारीले बताए । उनले भक्तजनहरू, तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्रधाम तयार र आतुर रहेको बताए ।
पौष मसान्तको रातदेखि माघ १ गते सम्म लाग्ने मेलाकालागी सरसफाइ र रङरोगन सकिएको छ, व्यापारीकालागि स्टल र स्नान घाट व्यवस्थापन पनि लगभग सकिएको रहेको संरक्षण मञ्चका सचिव घिमिरेले बताए ।
माघ १ गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । वराह पुराणका अनुसार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरू जागृत हुन थाल्छन्। माघ १ गतेबाट नै सूर्य मकर राशिमा प्रवेश गर्न भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।
यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढी पुण्य मिल्ने पण्डित योगेश भण्डारीले बताउँछन् । उनी भन्छन् 'कोशिकी तिरे कोका नदी सङ्गमे मगर सङ्क्रान्ति य कोरिती' संस्कृत भाषामा उल्लेखित रहेको श्लोकका अनुसार यस दिन वराह क्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइनेछ ।
यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति र धन्य भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् । भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुने जनविश्वास रहेको छ ।
त्यस कारण मेला भर्न मकर स्नान गर्न नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन् । माघे मेलामा कोका कौशिकीको सङ्गम स्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ।
कोका कौशीको सङ्गममा स्नान गर्न देशविदेशबाट भक्तजन आउने संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउँछन् । यो वर्ष कोरोनाको त्रासले भक्तजन गत वर्षको भन्दा कम हुने अनुमान गरिएको उनले बताए ।
सनातनकालदेखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराह क्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध छ ।
मकर स्नानसङै मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुसँगै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । अझ १० महिनादेखि सुस्ताएको व्यापार माघे मेलामा बढ्ने आस स्थानीय व्यापारीले गरेका छन् ।
बर्सेनि ५०/५५ हजार भक्तजन आउने माघे मेलामा यस पटक कोभिडका कारण अलिक कम आउने अनुमान संरक्षण मञ्चले गरेको छ ।
माघ सङ्क्रान्तिका दिन लाग्ने माघे मेला तरुल, सुठुनी, बदाम , सुन्तला जस्ता वराहक्षेत्रसंग जोडिएको धनकुटाको सुन्तला, सुर्यकण्डका हर्दी , अदुवा जस्ता बस्तुहरू सुनसरीबाहिरबाट आउने तिर्थालुको आँखामा पर्दछ ।