पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत आजबाट सुरु भएको छ। आज देखि माघ स्नान पनि प्रारम्भ हुदैछ । काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ।

आजदेखि अधिकांश वैदिक सनातनी नेपालीका घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ।

उत्तरायण पछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त भएकाले, स्व-स्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई नै स्वस्थानी भनिएको हो । यसका लागि पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्मको समय उत्तम हुन्छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल सिंहासनमा बसेकी र चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकामा उल्लेख गरिएको छ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ , रोग व्याधि लागेको भए ठिक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने महिमा प्रचलित छ । सत्य युगमा पर्वत राज हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ, भनी विष्णुको निर्देशानुसार स्वस्थानी व्रत गरेको कथा स्वस्थानी व्रतकामा वर्णन गरिएको छ ।

गोमा ब्राहृमणीले सप्तर्षिले सिकाएको व्रत विधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको छ भने व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

वैदिक सनातनी महिलाहरूले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्दछन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गरिन्छ।

बिहान माघ स्नान गरी मध्यान्ह कालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्कन्द पुराण’ को केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवम् मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि रहेको छ।

त्यसपछि सय रोटी आफैँले फलाहार गरी रातमा जाग्राम बसी , जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने हुन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।