आजभोलि धेरै मान्छेहरू औपचारिक शिक्षाको हकमा ‘धेरै पढेका !’ भए तापनि बाहिरी ज्ञान र चेतना त्यति नभएका वा भनौँ बाहिरी ज्ञान लिन र चेतनशील हुन नचाहने, आफैले स्वतन्त्र ढङ्गले अध्ययन-अनुसन्धान नगर्ने, अरूले भनेको सुनेर-देखेर-हेरेर पनि खासै ज्ञान हासिल नगरेका वा नसिकेका, कुनै पनि माध्यमबाट ज्ञान हासिल गर्ने प्रयास नगर्ने, विवेक, ज्ञान, चेतना र, चैतन्य बढाउन नचाहने, स्वअध्ययन र स्वविवेकको स्तर पनि बढाउन नचाहने धेरै देखिन्छन् । ती मान्छेहरूमध्ये जो कोहीले पनि आफूले समर्थन गरेको राजनीतिक दल, तिनका नेता वा सङ्घ-संस्था र तिनका हर्ताकर्ताहरूले गरेको जुनसुकै काम वा भनौँ हर्कतलाई के हो, कसो हो, गलत के हो, सही के हो ? नछुटाईकनै, विचार-विमर्श नगरीकनै एकपाखे ढङ्गले समर्थन गर्ने गरेको देखिन्छ । 

जबकि उनीहरू नै जमाना कहाँबाट कहाँ पुगी सकेको, अहिलेको २१ औँ जमानाको आधुनिक विश्वमा पनि जाति पाती, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, केके न केके अनेक थरीका कुरो गरे  समय खेर फाल्ने, भनेर बेकारको कुरो गर्ने ? हामी मिलेर बसेको नेपालीहरूलाई फुटाउने, हामी एक आपसमा मिलेर बसेको नेपाली-नेपालीबिच झगडा गराउने? भनी निक्कै ठुलै गफ दिने गर्छन् । यस्तो गफ दिनहरूमा आजभोलि ‘आदिवासी जनजाति भनिने मान्छेका अगुवा हौँ !’ भन्ने गफाडीहरू पनि देखिन्छन् । जो बाहुन, क्षेत्रीलगायत जात समूहका मान्छेहरूले समेत ठेगानमा राख्न सक्नेहरू छन् । तर, केही आदिवासी जनजातिका अगुवा हौँ !’ भन्ने गफाडीहरू चाहिँ प्रस्ट शब्दमा भन्नु पर्दा तोरी लाहुरे गफ हाँक्ने मात्रै देखिन्छन् । यसरी हेर्दा नेपालमा आजभोलि खोक्रो बौद्धिकता देखाउन र खोक्रो बौद्धिक स्तरको प्रदर्शन गर्न पछि नपर्नेहरूको जमात बढ्दै छ । यस्ता मान्छेहरू आफू निक्कै बौद्धिक र सर्वज्ञानी भएको भ्रममा छन्, वा जानाजान सर्वज्ञानी भएको स्वाङ पार्ने गर्छन् । अब त्यस्ता मान्छेहरूलाई हामीले ‘बिचरा’ भन्नुबाहेक अरू के नै गर्न सक्छौँ र ? 

त्यसैले त नेपालको वर्तमान राजनीति लगभग डामाडोल स्थितिमा पुग्दा पनि कोही चुँ...सम्म बोल्दैनन् । झन् आदिवासी जनजाति मूलका मान्छेहरूको त के कुरो गराई भो र ? 

खासमा लगभग चार दशकअघि विकासका हिसाबले नेपालभन्दा धेरैपछि वा नेपालसरह रहेका देशहरू आज किन र कसरी विकसित र आर्थिक रूपमा सम्पन्न देशको लहरमा पुगे ? हाम्रो देश नेपालचाहिँ किन अझ तल पर्दै विश्वकै गरिबी र अभावमा गुज्रिरहेको देशहरूको लहरमा उभिन पुग्यो ? नेपालका टपर-टुईँयाहरुलाई नै चासो नभएपछि म जस्तो ‘केही नजान्ने कुलुङे ढाक्रे’लाई मात्रै चासो भएर के नै हुने हो र ? निश्चय नै चासो हुनुपर्ने त नेतृत्व तहमा रहेका राजनैतिक दल र, तिनका नेताहरूलाई नेपालका ‘मै हुँ !’ भन्ने र भनिने बुद्धिजीवीहरूलाई हो । साथै राजनीतिक दल र तिनका नेताहरूलाई सही मार्ग निर्देशन गर्ने वा गर्नुपर्ने पनि देशका बुद्घिजीबी भनिनेहरूकै हो । तर, फेरि पनि दोहोर्‍याएर भन्नु पर्दा उनीहरू नै ‘तैँ चुप, मै चुप’ छन् । एक किसिमले भन्ने हो भने, नेपालका बुद्धिजीवीहरू राजनीतिक दलपिच्छेको पिछलग्गु भएका छन्, हनुमान भएका छन्, हनुमान गिरि गरेर खाएका छन्, बाँचेका छन् ।

यसरी हेर्दा स्वतन्त्र रूपमा बुद्धि विलास गर्नुपर्नेहरु ‘मनुवाहरू !’ नै नेतृत्व तहमा रहेका राजनैतिक दलका नेतारुहका हरुवा, चरुवा र हली–गोठालो सरह भएका छन् । देश, राजनीतिक दल ती राजनीतिक दलका नेता, कार्यकर्ता र अकिञ्चन जनताहरूलाई सही मार्ग दर्शन गर्नुपर्ने, दिशा निर्देश गर्नुपर्ने बुद्धिजीवीहरू नै राजनैतिक दलका नेताका हरुवा, चरुवा र हली–गोठालोसरह भएपछि हामी जस्ता ‘न भुईँको न भित्ताको !’ मान्छेहरूले के नै गर्न सक्छौँ र ?

२०४६ को परिवर्तनअघि राजा, राजदरबार र पञ्च नेताहरूले ‘दलविहीन पञ्चायती प्रजातन्त्र’को नाममा र, २०४६ को परिवर्तनपछि विभिन्न राजनैतिक दल र तिनका नेताहरूले बहुदलीय व्यवस्था र गणतन्त्रको नाममा नेपाललाई झनपछि धकेली रहेका छन् । ३० वर्षसम्म पञ्चहरूले दलविहीन पञ्चायती प्रजातन्त्र ! को नाममा शासन गरे । हुन त पञ्चहरूले पनि देश विकासको आकर्षक नारा नदिएको कहाँ हो र ! जस्तो कि सपनै किन नहोस्, उनीहरूले नेपाललाई इस्वी सन् २००० भित्र एसियाली मापदण्डमा पुर्याउने ! सपना देखेका थिए । त्यो भनेको के हो ? यो पङ्क्तिकारलाई खासै थाहा थिएन, त्यो वेला जुन वेला गाउँमा रेडियो नेपालले हरेक बिहान, दिउँसो र बेलुकी गरेर ६, ७ पटक सम्म समाचारमा फुक्थ्यो । 

निश्चय नै जो कोही सँग पनि ‘क्षमता, योग्यता र अनुभव छ/छैन !?’ भनेर हेर्नका लागि त उसलाई कम्तीमा एक पटक मौका वा अवसर दिनु पहिलो प्राथमिकता हुन सक्ला कि ? कि मौकै नदिईकन तँ सँग ‘क्षमता छैन, योग्यता छैन र, अनुभव पनि छैन, नजिक आउनै नदिने ? त्यसैले अब यस विषयमा पनि विचार विमर्श गर्न ढिला गर्नु हुँदैन कि ? यो वा ऊ नाममा अझै पनि यस्तै अवस्था रहिरहेमा नेपाल साँच्चै शान्तसँग रहला त ? 

हुन पनि अनौपचारिक रूपमा वा ख्याल-ख्यालमा, ठट्टा–ठट्टामा ‘सधैँ लिन मात्रै जान्ने, दिन कहिल्यै नजान्ने !’ भनिने बाहुन कामरेडहरुले ‘पार्टी सत्ता र राज्य सत्ता !’ पाए/भेटेपछि आफ्नै बन्धु-वान्धवहरुलाई पनि सकेसम्म दिने/छाड्ने मनसाय नराख्दा रहेछन् भन्ने त नेपालका पूर्व प्रधानमन्त्री केपी ओली ज्युले कुनै हालमा पनि पार्टी सत्ता र राज्य सत्ता नछोडेको बरु आफ्नो लगभग ३७ महिने कार्यकालमा पटक पटकसम्म मन्त्रीपरिषद् पुनर्गठन गर्दै सरकारलाई स्थिरता ! दिएकोले नै छर्लङ्ग पारेको थियो, होइन र ? 

त्यसैले नेपालका अनुदारवादी रुझान राख्ने कामरेडहरुले विगतमा राजा, राजसंस्था, यो पार्टी वा त्यो पार्टीको नाममा सधैँ राज्य सत्ता पार्टी सत्ता आदिमा रहिरहनु पो समस्या हो कि ? अब हामीले यस विषयमा पनि किन खुल्ला दिल–दिमागले, व्यापक रूपमा गाउँ–गाउँ, टोल–टोलसम्म बहस र छलफल नगर्ने ? कि कसो हौ, अनुदारवादी रुझान राख्ने र, उल्टै हामी जस्ता समानता, न्याय, समानुपातिक समावेशिता, आत्मनिर्णयको अधिकार, संविधानमै व्यवस्था भएको मौलिक हकको उपभोग, खाद्यान्नको हक, स्वास्थ्यको, मातृभाषामा पढाईको हक, आफ्नो परम्परादेखि गर्दै आएको सांस्कृतिक हक, धार्मिक हक, नागरिकको मौलिक हक आदिलाई अब व्यवहारमै लागू गर्नुपर्छ भन्दा जातिवादी, साम्प्रदायिक, रेसिस्ट, भिल्लका देशमा मणि ! आदिको लेपन लगाउन तम्सन पछि नपर्ने कामरेडहरु ? 

निश्चय मेरो विचारमा देशको वास्तविकता अनुरूप राजनैतिक दल, सरकार, न्यायिक क्षेत्र, निजामती कर्मचारीतन्त्र, संवैधानिक निकाय, दातृ निकाय, गैर सरकारी सङ्घ-संस्था आदिमा संरचनागत रूपमा निकास र विकास नहुनु नै देश झन् झन् अधोगतिमा जानुको कारण हो भन्ने ठहर छ ! अर्थात् हाम्रो देश नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक बनोट सुरुदेखि नै विविधताले भरिपूर्ण थियो । अर्थात् नेपाल ‘बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक, भगौलिक विविधता रहेको देश हो । तर देशको यो वास्तविक यथार्थलाई १०४ वर्षे जहानियाँ राणा शासनकालमा त प्रतिबिम्बित भएन नै, ३० वर्षे निरङ्कुश पञ्चायीकालमा पनि प्रतिबिम्बित भएन । न त ०४६ को परिवर्तनपछि आएको क्रान्तिकारी, प्रजातान्त्रिक/कम्युनिस्ट भनिएकाहरूबाट नै भयो । कसैसँग ‘अतिशय अनुराग र द्धैष !’ नराखीकन भन्नु पर्दा उनीहरूले भ्रष्टाचार, घुसखोरी, पार्टीवाद, आफन्तवाद, नातावाद, कृपावाद, चाकरीवाद, भनसुनवादलाई संस्थागत गरे । साथै आफू राज्य सत्तामा गएपछि जसरी पनि सत्ता टिकाउने, आफूबाहेक अरूलाई सत्ता नसुम्पिने हेतुले संसद्मा आफ्नै दलको बहुमत हुँदाहुँदै संसद् विघटन गर्ने, ३० वर्षसम्म शासन सत्तामा हालीमुहाली गरेर आफैलाई अराष्ट्रिय तत्त्व घोषित गर्ने पञ्चहरूलाई पालैपालो सरकार प्रमुखको कुर्सी जिम्मा लगाउने, सत्तामा टिकिरहन खसी बोकालाई झैँ सांसदलाई खरिद-बिक्री गर्ने, पुरुष सांसदले महिलाले सुत्केरी हुँदा खाने औषधि खाने, उपचारको बहानामा थाईल्याण्डको राजधानी बैंकक सयर गर्ने, पाँच होटेलमा बन्धक भएर बस्ने, ट्राफिक जाममा पर्ने, गाँठो देखिने पेन्ट र चप्पल लगाएर संसद् भवन छिरेका सांसदलाई हैसियतले नै नभ्याउने गरी महँगा गाडी भन्सार मिनाहामा मगाउन पाउने, सत्ता टिकाउनका लागि विदेशीको गुलामी गर्ने लगायतका खेलमा सामेल भए । 

त्यसैले अब राज्यको हरेक अं गमा एकलौटी रजगज गरेकाले आफैप्रति निर्मम भएर स्वीकार गर्नै पर्छ । साथै सकेसम्म सबै जातजाति, भाषाभाषी, वर्ग, समुदाय, समूह, क्षेत्रलाई राज्यका हरेक अं गमा कसरी सहभागी गराउन सकिन्छ ? भन्ने बारेमा राजनैतिक दलको नेतृत्व तहमा रहेका नेताहरू र, राज्य पक्षका अनुदारवादी रुझान राख्ने बुद्धिजीवी कामरेडहरुले पन आफैmप्रति निर्मम र गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

Email : ninamkirat123@gmail.com

- निनाम लोवात्ती