कुनै बेला एसएलसीलाई विद्यार्थीको भविष्यको दृष्टिले फलामे ढोका मानिन्थ्यो। एसएलसी उत्तीर्ण हुनु विद्यार्थीका लागि मात्र नभएर अभिभावक, शिक्षक र समाजकै लागि प्रतिष्ठाको विषय मानिन्थ्यो। तर एसएलसीको परीक्षा प्रणाली र नाम परिवर्तन भएर एस.ई.ई. भए पनि एसएलसीको ऐतिहासिक महत्त्व उस्तै रहेको छ।
नेपालका प्रथम राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणा बेलायतलगायत विभिन्न मुलुकहरूको ऐतिहासिक भ्रमण सम्पन्न गरी संवत् १९०७मा स्वदेश फर्केपछि आफ्ना सन्ततिहरूलाई अङ्ग्रेजी भाषामा शिक्षा दिन र सामर्थ्यवान् बनाउन वि.सं. १९१० असोज २४ गते आफ्नै निवास थापाथली दरबारस्थित दाखचोकको भुईंतल्लामा अङ्ग्रेजी प्रारम्भिक स्कुलको स्थापना गरेका थिए।
बेलायती नागरिकहरूका चेतना र चिन्तन, विज्ञान र विकास एवम् स्तर र शिक्षाप्रतिको गहिरो छाप श्री ३ जङ्गबहादुर राणामा पनि परेको थियो। यसै सन्दर्भमा नेपालको पहिलो र ऐतिहासिक गौरव बोकेको शिक्षण संस्था दरबार हाइस्कूलले एक सय पैँतालीस वर्ष पूरा गरिसकेको छ। राणाकालमा दरबारभित्रबाटै सञ्चालन भएको दरबार स्कुल संवत् १९३४ सालमा दरबार हाइस्कूलमा परिणत भयो भने १९४२ देखि सर्वसाधारण नेपालीहरूका लागि पनि अध्ययन प्रवेश खुला गरियो।
नेपालमा एसएलसी बोर्डको स्थापना वि.सं. १९९० सालमा भएको हो। पहिलो पटक १९९०मा कुल ३४ परीक्षार्थी सहभागी रहेको उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन्। यी मध्ये १० जना द्वितीय श्रेणी र नौ जना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एक जना अनुपस्थित भए। द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अङ्क भक्तपुरका पुष्पभक्त मल्लले प्राप्त गरेका थिए। परीक्षार्थीमध्ये एक जना छात्रा सविनाकुमारी देवीले परीक्षा फर्म भरे पनि उनी परीक्षामा अनुपस्थित रहिन्।
नेपालमा एस.एल.सी. परीक्षा प्रारम्भ भएको समयताको देशमा दरबार हाइस्कूलहरू पाटन हाइस्कूल स्थापना भइसकेका भए पनि १९९० देखि २००४ सालसम्म बोर्ड फस्ट हुने सौभाग्य दरबार हाइस्कूलका छात्रले कायम राखेका थिए भने २०३१ देखि २०३९ सम्म तेस्रोदेखि दशौँ स्थानसम्म बोर्डमा ६ पटक प्रतिनिधित्व गरेका थिए। बोर्डमा सर्वप्रथम हुने विद्यार्थीहरूको नाम घोषणा गर्ने परम्परा १९९० सालदेखि चल्दै आएको हो।
वि सं १९९० बाट सुरु भएको एसएलसी प्रणाली २०७२ सम्म चली रह्यो। तर वि.सं २०७३ सालमा शिक्षा ऐन २०७३ कार्यान्वयनमा आए सँगै उच्च माध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भयो। कक्षा १० ( एसएलसी) को परीक्षा एवं कक्षा ११ र १२ (एच.एस.ई.वि)को परीक्षा सम्बन्धी कार्यहरूलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आबद्ध गरिएको छ । साथै,कक्षा १० को परीक्षालाई एस एल सी बाट एसईई बनाई प्रादेशिक स्तरमा सञ्चालन गर्ने र समग्र विद्यालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरियो।