हाल एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा तातो बहस र छलफल भईरहेको देखिन्छ । त्यसरी बहस र छलफल गर्ने क्रममा एक पक्षले 'अरुण, वरुण, अरुण-कोशी, कोसी-किरात, किरात-कोसी, सगरमाथा-किरात, किरात-सगरमाथा, सुनकोसी-सगरमाथा, मेची-कोसी-सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा' 'विजयपुर' आदि नाम राख्नुपर्ने वकालत गर्ने गरेको देखिन्छ । 
अर्को पक्षले ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात-लिम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम रहनुपर्ने/राख्नुपर्ने भनी आवाज उठाई रहेका छन् । तर प्रदेश एकको नाम ‘किरात-लिम्बुवान’ वा ‘किरात-खम्बुवान’ अथवा ‘किरात-लिम्बुवान-कोचिला’ अझ ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउनेहरूको स्वरचाहिँ साह्रै मसिनो र मधुरो स्वरमा सुनिने गरेको देखिन्छ । यस्तो हुनुमा नेपालका मूलधारका भनिने मिडियाहरूले यी नामहरूका सम्बन्धमा प्रचार प्रसार नगरिदिनु र साथ नदिनु नै हो । त्यसैले एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा हाल भई रहेको तातो बहस र छलफलका क्रममा ‘अरुण, वरुण, अरुण-कोशी, कोसी-किरात, किरात-कोसी, सगरमाथा-किरात, किरात-सगरमाथा, सुनकोसी-सगरमाथा, मेची-कोसी-सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने भनी वकालत गर्नेहरूकै हाली मुहाली देखिन्छ । किनभने, मूलधारका भनिने मिडियाहरूले त्यही भर्सनलाई मात्रै महत्त्व दिई रहेका छन् । 
तर, उनीहरूले ल ठिकै छ, भिन्न मतलाई पनि ठाउँ दिऊँ महत्त्व दिऊँ ! भोलि के हो, के हो ? भनेर दूरदृष्टि राखेर ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात-लिम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान-कोचिला’ वा ‘किरात’ नाम हुनु पर्छ भन्नेहरूको पनि लेख रचना छापौँ, स्थान दिऊँ भनेर सोचे जस्तो लाग्दैन । हुन पनि हो, झट्ट सुन्दा र देख्दा, ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात-लिम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान-कोचिला’ जातीय नाम जोडिएर आएको जस्तो लागेता पनि ‘किरात’ नाममा त नेपालका आर्य, खस समूहका बाहुन, क्षेत्री, ठकुरी, दशनामी-सन्न्यासी, रानाभाट, दलित आदि र आदिवासी जनजाति सहमत हुँदा के फरक पर्ला ? के बिग्रेला ?? कि आकाशै खसीहाल्छ, धरती नै फाटी हाल्छ ??? 
त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात-लिम्बुवान’, ‘किरात-खम्बुवान’, ‘किरात-लिम्बुवान-कोचिला’ नाम राख्दा शुद्ध रूपमा जाति नाम जस्तो लागेर राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रै पर्ने हुनाले कम्तीमा ‘किरात’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भने किरात शब्द प्राचीन धर्मग्रन्थहरूमै पनि उल्लेख गरिएको छ । त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर/नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भई सकेका छन् । किनभने, किरात भनेर आफूलाई दाबी गर्ने जातिहरू अहिले दुई दर्जनभन्दा पनि बढी रहेका छन् । जस्तै आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बु, याक्खा, सुनुवार आदिलाई छन्, जुन जातिहरूलाई किरात भनेर चिनिन्छ, अथवा उनीहरूले आफूलाई किराँती भनी चिनाउँछन् । 
हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरूले विश्वकै सबैभन्दा पुरानो सभ्यता र व्यापक रूपमा फैलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरातीहरु हजारौँ वर्षअघि ब्रह्मपुत्र तथा गङ्गा नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिण पूर्व एसिया, मध्य एसियामा आवाद गरेका थिए । त्यस्तै कश्मीर पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण-पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ । 
किरातीहरुको ऐतिहासिकता तथा चर्चा-परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, वाल्मीकि रामायण र महाभारत (किराँती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौँ उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक साहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किरात, किराँती किरात सभ्यताका बारेमा प्रशस्तै चर्चापरिचर्चा गरिएको पाइन्छ । त्यसैले एक नम्बर प्रदेशका किराँती मूलका माननीयहरू मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरूका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्न्यासी, दलितका साथै मधेसी आदि जातजातिका  माननीय ज्युहरूले पनि ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन प्रदेश नम्बर एकको सिङ्गो संसद्ले एक मतले पारित गर्नुहोस् । तपाईँहरूले यसो गर्नु भएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरूलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ । 
फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठुलो भू-भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हुँदै र आफ्नो जिमी-भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू-क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठुलो बगाल वा भनौँ समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा क्षेत्र हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरूको बसोबास रहेको छ । यसरी सानो भू-भागमा मात्रै आफूलाई प्रस्ट रूपमा किराँती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भौगोलिक एकीकरण भएसँगै आफ्ना पिता पुर्खाहरूले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरूले जानाजानी वा अरूको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा “राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’  भनी लेखाउन/भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरूको असली किराँती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राई करण’को मारमा परेको भेटिन्छ/देखिन्छ ।
त्यसैले आशा गरौं, सन्निकट आउन लागेको प्रदेश नम्बर एकको हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशका सबै राजनैतिक दलका माननीयहरूले किरात प्रदेश नामका लागि एक ढिक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । यस कार्यका लागि विभिन्न राजनैतिक दलका हाई कमान्डका नेताहरूले पनि एक नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न आफ्ना दलका माननीयहरूलाई एक मतले निर्देशन दिनुहोस् । किनभने, ‘किरात प्रदेश’ नाम राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थमा उल्लेख भएका प्रसङ्ग आदिका साथै एक नम्बर प्रदेशको भूभागमा इतिहासको लामो कालखण्डदेखि बसोबास गर्दै आएका किराँती महाजातिभित्रका साढे दुई दर्जन बढी जातिहरूको अपनत्वलाई पनि स्वीकारेको अर्थमा लिन सकिन्छ 
त्यसैले फगत जाति नाम मात्रै नसम्झनु होस्, ठुला राजनीतिक दलका ठुला नेता ज्युहरूका साथै आर्य खस समूहका घागडान तर, आदिवासी जनजाति समुदाय प्रति अनुदारवादी रुझान राख्ने बुद्धिजीवी कामरेडहरु, छातीमा हात राखेर खुलस्तसँग भन्नुहोस्, ‘कोसी’ प्रदेश नाम हुने तर, कुनै हालतमा ‘किरात’ प्रदेश नाम नहुने के कारण छ ???
थप केही जानकारी चाहिएमा : ९८४९९८५९९७,  ९८६२४३६०४९
Email : ninamkirat123@gmail.com