उर्लाबारी : उर्लाबारी नगरपालिका पुग्नेहरूले वडा ९ डाँडा टोलको अवलोकन गरे युट्युब र फेसबुकमा हल्ला नगरी आफ्नै खर्चमा शहरलाई सुन्दर बनाउने उदाहरणीय व्यक्ति पनि छन् भन्ने थाहा पाउन सक्छन् ।
डाँडा टोलदेखि आम बारी बजार सम्मको सडक दुवै तर्फ देखिने सुन्दर फुल फुलेको बोटहरू कुनै पदमा बसेर सरकारी बजेटको लगानीमा बनेको हाईन ।
३ वर्ष अघि मोटोको ढिस्को, जताततै फोहोर, छाडा गाई वस्तु देखिने जमिन सम्याएर बनेको छ । रूपान्तरण व्यक्तिगत लगानीमा सुन्दर गाउँ बनाउने इच्छाले डाँडाटोलका ५८ वर्षीय हर्क थेबेले गरेका हुन ।
विदेशबाट परिवारले पठाएको खर्चबाट बचेको पैसा उनले गाउँलाई सुन्दर बनाउनमा लगाए । डाँडा टोल-आम बारी बजारको सडक दुवैतर्फको जमिन सम्याउने काम देखी फूलबारी लगाउने काम सम्म उनको करिब २ लाख ५० हजार रुपैयाँ लगानी भएको छ ।
उनले भने ‘जमिन सम्याउँदा निकै खर्च भयो महँगो फुल लगाउन सकिएन पहिले असारे फूलका बिरुवा रोपेँ ।’ सुरुमा उनको कामलाई लहड मानेर कतिपयले ठट्टा, केहीले आलोचना पनि गरेको उनी बताउँछन् । उनी भने लागिपरे ।
आफ्नै सानो नर्सरीमा फूलका बिरुवा हुर्काउँदै थेबेले निरन्तर ३ वर्ष सडकको किनारमा स्याहार, सिँचाइ, मलजल र गोडमेल गर्दै आए । अहिले सडक खण्ड दुवैतर्फ सेतो, रातो, बैजनी, गुलाबी लगायत रङ्गीचङ्गी फूलले सजिएको छ । पहेँलो र नीलो फूलका बिरुवा पनि बढ्दै छन् ।
फूलमय सडक बनेपछि अहिले टिकटक बनाउने, फेसबुके तस्बिर खिच्न आउनेहरूको सङ्ख्या बढेको छ । पिच सडकको दुवैतर्फ फूलबारी देख्दा डाँडा टोल–आम बारी मार्ग कुनै पर्यटकीय स्थल जस्तो देखिन थालेको छ ।
पहिले यो लाइन बिजुलीको पोलमा गाईबस्तु बाँध्ने, अन्न सुकाउने, फोहोर फाल्ने, ढुङ्गा गिट्टी, बालुवा थुपार्ने ठाउँ थियो । थेबेले भने ‘कुराकुरैमा साथीहरूबाट यो ठाउँमा फोहोर हटाएर फूल रोपे कस्तो होला ?’ भन्ने कुरा आयो ।
त्यो कुरामा हाँस्नेहरू पनि थिए भनी उनी बताउँछन् । तर थेबेलाई कुार जायज हो । उनले भने ‘फूलबारी बनाए मानिसहरू फूल हेरेर रमाउँछन् सिङ्गो गाउँलाई खुशी बनाउँछ भन्ने लागेपछि एक्ले भए पनि लागेँ ।’
हिजोआज डाँडाटोलका बासिन्दाले सडक छेउमा गाईबस्तु बाँध्दैनन् । अन्न सुकाउँछन्। बरु फूल बगैँचाको सौन्दर्य जोगाउन सघाउँने गरेको थेबेले बताए । उनको एक्लैको प्रयासलाई गाउँलेमा स्वामित्व र गौरवको भावना विकास भएको छ । सरकारी बजेट बिना एक व्यक्तिको सपना अहिले सिङ्गो समुदायको पहल र प्रेरणाको केन्द्र बनेको छ ।
उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान थेबेले गरेको कामको प्रशंसा गर्छन् । उनले भने ‘थेबे वटा टोलका लागि उदाहरणीय बनेको छन्, उनको कार्यलाई वडा कार्यालयबाट सक्दो सहयोग गर्नेछु ।’ व्यक्तिगत प्रयासबाटै यस्तो सरसफाइ र सौन्दर्य अभियान संस्थागत बन्ने उनको धारण छ । वडा कार्यालयले आवश्यक प्राविधिक तथा स्रोत साधन सहयोग गर्ने तयारी गरेको उनले बताए ।