मानिसको चोला न हो, त्यसैले हामीमध्ये जो कोहीले पनि यो धरतीमा मानिसको चोला लिएर आएपछि एक दिन न एक दिन मानिसको चोलाबाट अन्य कुनै चोलामा रूपान्तरण हुनै पर्छ । हुन पनि हिन्दु धर्म र विश्वासअनुसार भन्ने हो भने, ८४ लाख योनी (जुनी) पछि बल्ल हामीले मानिसको चोला पाएका हौ !? यस्तो विश्वास र मान्यता हिन्दु धर्ममा रहेको भए तापनि अन्य धर्म र विज्ञानले यस्तो कुरो मान्दैन, विश्वास पनि गर्दैन क्यारे ? जे होस्, हामीमध्ये जो कोही मानिस पनि अजम्बरी चाहिँ छैनौँ । अर्थात् हामीले यो धरतीमा मानिसको चोला लिएर आएपछि सधैँ बाँची रहन्छौँ भन्ने छैन, एक दिन न एक दिन मानव चोला फेरेर कुनै जीवजन्तुको रूप लिनैपर्छ । किनभने, एक मुठी सासले अडिएको हाम्रो यो मानव शरीर नश्वर छ । त्यसैले यो नश्वर शरीरले ढिलो वा चाँडो चोला फेर्नै पर्छ ।
हो, प्रकृतिको नियमअनुसार “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (कूलू गूसखोम)” का महासचिव इन्द्र बूबूले पनि चाँडै चोला फेरेर जानु भएको छ, मानव चोलालाई...फेर्नु भएको छ । उहाँले चोला फेरेको पनि लगभग १५, १६ दिन भएछ । नपत्याएको खोलोले बगाउँछ भनेझैँ भएको छ । किनभने, हामीमध्ये धेरैलाई इन्द्र होनीत्ती बुबु (इन्द्र दाजु) ले यति चाँडै हामी सबैलाई सँधैका लागि छाडेर जानु होला भन्ने सोचेका थिएनौँ तर, उहाँले हामी सबैलाई सँधैका लागि छोडेर भएको छ । तर, पनि हामीमध्ये धेरैलाई यो कुरो पत्याउन गाह्रो भएको छ । हो, त्यस्तै मलाई पनि कताकता लागी रहेको छ कि, उहाँले हामीलाई त्यसरी सँधैका लागि छाडेर जानु भएको होइन, छैन । उहाँ (इन्द्र बुबु) काम विशेषले गर्दा केही दिनका लागि कतै (काठमाडौँ बाहिर) जानु भएको हो । त्यसै उहाँ चाँडै नै फर्केर आई हाल्नु हुन्छ ।
तर, वास्तविकता त त्यस्तो होइन, उहाँले हामीलाई विसं २०७९ भदौ २४ गतेका दिन काठमाण्डौमा रहेको वीर अस्पतालबाट सँधैका लागि छाडेर जानु भएकै हो । उहाँले छाडेर गएको के भन्नु र ? उहाँको नश्वर शरीरले छाडेर गएको हो, हामीलाई । उहाँले त चोला मात्रै फेर्नु भएको हो । त्यसैले उहाँको आत्माले यतै कतै विचरण गरी रहेको छ । हामीले उहाँको आत्मालाई देख्न नसकेको मात्रै हो । हुन त हामीले यसो भनी रहँदा वास्तविकता के हो भने, विसं २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाडौँ उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीको जङ्गलमा लगेर किराँती कुलुङहरुको मूल्य-मान्यता र परम्पराअनुसार सातीपूस लगाएर, विधि–विधान गरेर खाल्डो खनेर गाडी सकेका छौँ, सदगद गरिसकेका छौँ । यो पनि शाश्वत सत्य नै हो । यसरी हेर्दा विसं २०१५ मङ्सिर ३० गते मामा (आमा) पञ्चमाया बान्तवा (कुलुङ) र पापा (बुबा) डिल्लीमान कुलुङको सुपुत्रका रूपमा जन्मनु भएका इन्द्र होनीत्ती कुलुङ ज्युले ६४ वर्षको उमेरमा चोला फेर्नु भयो । यसरी अेर्दा उहाँले औसत नेपालीले बाँच्ने आयुभन्दा केही कम समय बाँच्नु भयो । तर, मान्छे मर्ने र बाँच्ने कुरो गर्दा ९९ दशमलव ९९ प्रतिशत भन्दा धेरै मान्छेहरू जति बाँचे पनि अनाजको किरो हुन र धरतीलाई बोझ हुनका लागि मात्रै बाँची रहेका हुन्छन् ।
तर, इन्द्र होनीत्ती कुलुङ ज्युको हकमा त्यो कुरो लागू भएन । उहाँ आफूले मानव चोला नफेर्दासम्म पनि देश, आफ्नो समुदाय र घर–परिवारका लागि केही न केही गरी रहनु भयो । यसरी केही न केही गर्ने क्रममा नै उहाँले कुलुङ समुदायलाई तिर्नै नसक्ने गरी ठुलो गुण लगाउनु भएको । खास गरी उहाँले कुलुङ समुदायका लागि कसैले गर्न नसकेको, कसै लगाउन नसकेको गुण लगाउनु भएको, योगदान दिनु भएको छ । यो कुरो मैलै आफै बखान्दा अतिशय प्रशंसा गरेको ठहर्ला !? त्यसैले मैले भन्नु, लेख्नु, बखान्नुभन्दा पनि कुलुङ समुदाय रहेको, बसेको गाउँघर र टोल टोलमा गएर उहाँबारे वास्तविकता के हो ? भनी जो कोहीले बुझ्नु राम्रो हुन्छ ।
त्यसअघि २७ गते बिहानै गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा बन्दै गरेको ‘कूलू गूसखोम’ उपत्यका समितिको ‘रीदूम खीम’मा लगेर उहाँलाई आफ्नै घरसरह सम्झेर हाम्रो साझा घरको पवित्र सूक्तूलू (चुला) मा सातीपूस बोलाएर विधि, विधान गरेर बिदा दिएका छौँ । हामीलाई आशा छ, कुलुङ समुदायको परम्पराअनुसार सबै विधि, विधानहरू गरेर उहाँको नश्वर शरीरलाई बिदा दिएको हुनाले उहाँको आत्मा असाध्यै प्रसन्न भएको छ । उहाँले पोम्लालूङमा ज्यादै प्रसन्न ढङ्गले वास गर्नु भएको छ । उहाँको आफ्नो पोम्लालूङ यात्राको क्रममा कहीँ कतै दुःख पाउनु भएन होला, कष्ट भोग्नु भएन होला । बाटामा हिँड्न उहाँलाई सबै ठाउँमा सजिलै भयो होला । इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म यात्रा गर्ने क्रममा ‘पोम्ला काउ’मा पानी पिउन पाउनु नै भयो होला । तिर्खा मेटिने गरी (जरुवा पानी) पानी अवश्य पनि पिउनु भयो होला । इन्द्र बूबूले इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनु भयो होला । हुन त उहाँले जिउँदो छँदै (चोला नफेर्दै) खेरि धेरै पटक महाकुलुङ क्षेत्रको यात्रा गर्नु भएको थियो । महाकुलुङ क्षेत्रका विद्यार्थी र युवाहरूलाई स्कुल-स्कुल गएर गाउँ-गाउँ गएर हामी कुलुङ समुदायको जातीय स्वपहिचानका सम्बन्धमा, हामी को हौँ ? वा म को हुँ ? भन्ने आत्मनिर्णयको अधिकारका सम्बन्धमा, मानवअधिकारका सम्बन्धमा, कानुनी शिक्षा र चेतनाको सम्बन्धमा, औपचारिक शिक्षाका सम्बन्धमा पढाउने, बुझाउने, सम्झाउने, शिक्षा दिने, ज्ञान बाँड्ने, चेतना फैलाउने काममा निःस्वार्थ भावले लाग्नु भएको थियो ।
यसरी इन्द्र बूबूले इलामको कन्यामदेखि सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र, सङ्खुवासभा जिल्लाको विभिन्न गाउँ, भोजपुर जिल्लाको प्रायः सबै कुलुङ बस्ती रहेका गाउँहरू, ताप्लेजुङ कुलुङ गाउँ हाङपाङ, तेह्रथुमको केराबारी, संगपू (पैपुङ), सिकिदेम, धनकुटा जिल्ला, खोटाङ जिल्ला, झापा जिल्लाको विभिन्न गाउँ, मोरङ जिल्लाका विभिन्न कुलुङ गाउँ बस्तीहरू, सुनसरीको धरान, कोसीपारि, उदयपुर, कास्की आदि जिल्लामा पनि कुलुङ समुदायलाई सङ्गठित गर्न र चेतना फेलाउने क्रममा उहाँ पुग्नु भएको थियो । त्यसमध्ये सोलुखुम्बु जिल्ला र सङ्खुवासभा जिल्लाको अधिकांश गाउँ, टोलको त नाम र ती गाउँ, टोलका मान्छेहरूको नामसम्म पनि कण्ठस्थ पार्नु भएको थियो, इन्द्र बूबूले ।
कुलुङ समुदायको सघन बस्ती भएको गाउँमा पटक पटकको बसाइँ र भ्रमण गराई कै क्रममा कुलुङ पिता-पूर्खाहरुसँग भएको बातचित, कुराकानी, सूचना सङ्कलन, सिकाई, कुलुङ मातृभाषा, संस्कार, संस्कृति, भेषभुषा, जनचेतना, गरगहना, चाडपर्व, रीतिथिति, परम्परागत कानुन, चालचलन आदिको गहन अध्ययनपछि नै उहाँले ‘किराँती कुलुङ’ नामक खँदिलो र गहकिलो किताब प्रकाशित गर्नु भएको छ । जुन किताब नाफाखोर र बजारिया हल्लाखल्ला बिनै पनि दुई दुई पटक प्रकाशित भई सकेको छ ।
यसरी हेर्दा इन्द्र बूबूले हामीलाई सँधैका लागि छाडेर (चोला फेरेर) जसरी जानु भएको छ, आज केवल एक जना मानिसको नश्वर शरीरको अन्त भएको मात्रै होइन भन्ने हामीले सम्झनु पर्छ । किनभने, उहाँको नश्वर शरीर त्याग (नश्वर शरीरको अन्त्य) भनेको हामीले कुलुङ समुदायका लागि ‘सतिसाल’ नै ढलेको सम्झनुपर्ने हुन्छ । कुलुङ समुदायको एक धरोहरकै अन्त्य भएको सम्झर्नुपर्ने हुन्छ । जुन कुरो समुदायमा बिस्तारै महसुस हुँदै जाला नै । मलाई त व्यक्तिगत रूपमा इन्द्र बुबु के हो, कसो हो ? भन्ने लागेदेखि नै यस्तो कुरो महसुस हुन थालेको थियो । आगामी दिनमा हामीले जति नै ‘गफाडीको गफ !’ गफ दिए पनि उहाँ (इन्द्र बुबु) को अभावलाई हामीले कुनै हालतमा परिपूर्ति गर्न सक्दैनौँ, यो शाश्वत सत्य हो ।
जे होस्, इन्द्र बूबूले हामीलाई छाडेर (आत्माले होइन नश्वर शरीरले) जाने क्रममा, पोम्लालूङसम्मको अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनु भयो होला, भनेकै ठाउँमा खाना खान पाउनु भयो होला, भनेकै ठाउँमा पानी पिउन पाउनु भयो होला, आरामले पोम्लालूङसम्म पुग्नु भयो होला भन्ने आशा गरेका छौँ । साथै पोम्लालूङमा पनि इन्द्र बूबूले हजारौँ वर्षदेखि वास गरिरहेका हाम्रा ज्ञात, अज्ञात सबै पिता-पुर्खाहरूलाई सम्झाई, बुझाई गर्दै हुनुहुन्छ होला भन्ने आशा छ ।
अन्त्यमा माइती घर भन्ने पुरानो नेपाली सिनेमाको एउटा संवाद सम्झना आयो । जसमा नायिका भन्छे -‘मलाई चोला फेर्ने मन छ ।’ पातर्नी (बदिनी) बनेकी पात्रले जवाफ दिन्छे ‘ए..., हो छोट्टी, तँलाई चोला फेर्ने मन छ...पख ।’ यसरी हेर्दा इन्द्र बूबूले पनि यो धरतीमा विसं २०१५ मङ्सिर ३० मा मानव चोला लिएर आउनु भएकोमा विसं २०७९ भदौ २४ गते वीर अस्पतालमा अनेक रोगहरूको उपचारका क्रममा चोला फेरेरै छाड्नु भयो । अर्थात् हामी सबैलाई सँधैका लागि छाडेर पोम्लालुङमा वास बस्न महाप्रस्थान गर्नु भयो । उहाँ जस्तै निस्वार्थ ढङ्गले, समाजबाट ‘लिएर होइन, समाजलाई केही न केही दिएर’ केही गर्न सक्यौँ भने नै इन्द्र बूबूप्रतिको वास्तविक श्रद्धाञ्जली हुनेछ, साँचो अर्थमा सम्झना गरेको ठहर्ने छ ।