यमपञ्चक अन्तर्गत आज गोरु पूजा, गोवर्धन पूजा एवम् नेवारी समुदायहरूले म्ह: पूजा गर्दै छन्। गोरुलाई पवित्र मानेर पूजा गर्ने परम्परा वैदिक कालदेखिको विधि हो । नेपाल सम्वतको नयाँ वर्ष ११४३ पनि आजैबाट सुरु भएको छ । आज नेवारी समुदायहरूले साँझ घरमा परिवारका सबै व्यक्तिहरू बसी म्ह: पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन रहेको छ ।
आज गोरु को पूजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हली तिहार पनि भन्ने चलन रहेको छ । आज वर्ष भरी हलो जोतेर अन्न उब्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । आधुनिक युगमा प्रविधिको विकास सँगै खेती पाती गर्नका लागि विभिन्न प्रविधिहरू आए । तर यी सामग्रीहरू आउनु भन्दा सदियौँ वर्ष अघि देखि खाद्यान्न उब्जनी गर्न सहयोग गर्ने साधन गोरु मात्र हो। खेतमा कुनै पनि बिउ विजन रोप्न एवम् वाली लगाउनु भन्दा पहिले गोरुलाई जोताएर मात्र लगाउने गरिन्थ्यो । गोरुको यही परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पूजा गर्ने गरिन्छ।
प्राचीन समयमा आफ्नो विशेष धन नै गाई वस्तुलाई मानिन्थ्यो । त्यस बेला सबैका घरमा धेरै धेरै बस्तुभाउ हुने गर्दथ्यो । ती सबै बस्तुभाउको रक्षा गर्ने गोरु वा साँढे नै हुने गर्दथ्यो । त्यस कारण पनि गोरुलाई अरू जनावर भन्दा विशेष हेरचाह गरिन्थ्यो । वर्ष भरिको एक दिन गोरुलाई मिठो मिठो घाँसहरू खान दिएर पूजा गर्नाले गोरु जोतेको पाप लाग्दैन भन्ने धार्मिक विश्वास रहेको छ । किनभने वैदिक सनातनी शास्त्रहरू अनुसार गोरु अर्थात् साँढे धर्मको प्रतीक हो । आजको दिन गाई र गोरु दुवैको पूजा गर्ने चलन पनि रहेको छ।
गोवर्धन पूजा
आज द्वापर युगमा अवतरित हुनुभएका भगवान् श्रीकृष्णको स्मरण स्वरूप गोवर्द्धन पूजा पनि गरिन्छ । भगवान् श्रीकृष्णले अहङ्कारी इन्द्रको घमण्डलाई नाश गर्न व्रजमा गोवर्द्धन पूजाको थालनी गर्नुभएको थियो। त्यस बेला देखि हरेक वर्ष यमपञ्चक अन्तर्गत गोवर्धन भगवानको पूजा गर्ने गरिन्छ ।
गाइको गोवरले पहाड बनाइ त्यस पहाडमा गोवर्द्धन रुपी श्रीकृष्णको पूजा ५६ प्रकारका परिकारहरू चढाएर गर्नु पर्दछ भन्ने शास्त्रीय मान्यताहरू रहेको छ। गोवर्धन पूजा गर्दा दही, नौनी, आदि अनिवार्य रूपमा हुनुपर्दछ । श्रीमद् भागवत महापुराण, देवी भागवत, विष्णु पुराण लगायतका ग्रन्थहरूमा यस पूजाको ठुलो रहेको छ।
म्ह: पूजा
म्ह: पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। हरेक वर्ष नेपाल संवत् सुरु हुने दिन नेवारी सम्प्रदायमा म्ह: पूजा गरिन्छ। आफू नै सबैभन्दा ठुलो चिज हो, त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्ह: पूजा गरिन्छ। म्ह: पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा हो। आफू भएपछि मात्र संसार हुन्छ भन्ने मान्यता स्वरूप म्ह: पूजा गरिन्छ ।
कसरी गरिन्छ म्ह: पूजा
म्ह: पूजा गर्नका लागि सर्व प्रथम माटोले लिप्ने गरिन्छ । तत्पश्चात् चामलको पिठोले मण्डल बनाइन्छ। यसलाई नेवारी भाषामा ‘मरङ्ग’ भन्ने गरिन्छ। यो अबिर र सुन्तला गरी दुई रङ्गको हुन्छ। यस मण्डलीलाई फूल, लाभा, फलफूलले सजाउने गरिन्छ र यसै मण्डललाई अगाडि राखेर बसी बत्ती बाल्ने अक्षता राख्ने , ओखर राख्ने गरिन्छ । अन्त्यमा यी सबै सामानलाई माना, पाथी लगायतका भाडामा राखेर टाउकोबाट खन्याउने गरिन्छ। म्ह: पूजा गर्ने विधि, सामान र ठाउँ अनुसार फरक फरक हुन सक्छन् ।
यो पूजा गर्नलाई व्रत बस्नु पर्दैन। तयारी सुरु गर्दा देखि लिएर समयलाई विजार गर्ने हो भने यो १ घण्टामा सकिन्छ। संसारमा सबैभन्दा मूल्यवान् भनेको स्वयम् हो। आफूले आफूलाई चिन्न सक्नुपर्छ। त्यसपछि मात्र संसारलाई चिनिन्छ। तब मात्र राम्रो काम गर्न सकिन्छ। यस म्ह: पूजाले "म ब्रह्म हुँ म पूर्ण हुँ अखण्ड ज्ञान दीप हुँ" भन्ने बेदान्तीय वचनलाई सार्थकता दिन खोजेको छ।
नेपाल संवत् ११४३
राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।यस संवतको पहिलो दिन कात्तिक शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।