वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले आगामी जेठ १ गतेबाट नगर भित्र प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ ।
नगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोरमैला व्यवस्थापन नियमावली २०७०, प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ र वराहक्षेत्र नगरपालिकाको प्लास्टिक झोला प्रतिबन्धित सम्बन्धी निर्देशिका २०७९ ले सार्वजनिक स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राखी तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको प्लास्टिकको झोला वा ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला आयात, निर्यात, बिक्री वितरण, भण्डारण तथा प्रयोगमा रोक लगाएको हो ।
नगरपालिका भित्र दिनप्रतिदिन बढ्दै गएको प्लास्टिकजन्य फोहोरले नगरको समग्र वातावरण र सुन्दरतामा प्रतिकूल प्रभाव पार्दै गएकाले नगरको फोहोर व्यवस्थापन तथा प्लास्टिक जन्य झोलाहरूको नियमन र व्यवस्थापन गर्न वान्छनिय भएकाले २०८० सालको जेठ १ गतेबाट लागू हुने गरी ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोलालाई प्रयोगमा रोक लगाउने नगरपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकाश सिटौलाले जानकारी दिए।
नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समेत प्लास्टिक झोला मुक्त वराहक्षेत्र नगर घोषणा गर्ने कार्यक्रम निर्धारण गरे बमोजिम २०८० जेठ १ गतेबाट गुणस्तरहीन प्लास्टिक झोला वा ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय भएको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगरपालिकाले नगरवासीलाई अनुरोध गर्दै बिक्री वितरण गरी मौज्दात रहेका प्लास्टिक झोला जेठ १ गते अगावै उचित व्यवस्थापन गर्ने नगरपालिकावासी सम्पूर्ण महानुभावहरू लगायत सरोकारवाला समक्ष अनुरोध समेत गरेको छ।
फोहोर मैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वास्थ्य वातावरण कायम गर्नका लागि फोहोर मैलाको स्रोतमा नै न्यूनीकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी फोहोर मैलाको व्यवस्थित र प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोर मैला व्यवस्थापन जस्तो अत्यन्त जरुरी सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने नेपाल सरकारले फोहोर मैला व्यवस्थापन ऐन २०६८ जारी गरी उक्त ऐनको दफा ३ ले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहको हुने व्यवस्थापन गरेको छ ।
baraha-plastic-news