धरान: नगरप्रमुख हर्क साम्पाङलाई सोमवार निर्माण व्यवसायीहरूले धरान उपमहानगरपालिकाको तोकिएको समयमा निर्माण सम्पन्न कामहरूको तत्काल भुक्तानी माग गरेका छन् । 
नेपाल निर्माण व्यवसायी सङ्घ धरानका अध्यक्ष महेन्द्र प्रधान,महासचिव तिलविक्रम लिम्बु सहितको टोलीले प्रमुख साम्पाङ लाई लिखित ज्ञापन पत्र बुझाउँदै भुक्तानी माग गरेका हुन ।
धरानका विभिन्न वडाहरूमा तोकिएको समयमै निर्माण सम्पन्न भएका कार्यहरूको भुक्तानी गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
निर्माण सम्पन्न भएका योजनाहरूमा सडक निर्माण, नाला, भवन मर्मत, खानेपानी,ढल तथा अन्य पूर्वाधारका कार्यहरू रहेको पत्रमा उल्लेख छ ।
ती कार्यहरूको प्राविधिक परीक्षण,सुपरिवेक्षण र अन्य आवश्यक प्रक्रिया पूरा भैसकेको अवस्थामा पनि भुक्तानी रोकिनु अनुचित भएकोमा ध्यानाकर्षण गराइएको हो ।
भुक्तानी नहुँदा व्यवसायी आर्थिक सङ्कटमा परेको मजदुरहरू, आपूर्तिकर्ताहरूलाई भुक्तानी गर्न समस्या परेको पत्रमा उल्लेख छ ।
साथै निर्माण व्यवसायीसँग सम्बन्धित बिल प्रमाणीकरण र भुक्तानी प्रक्रिया पारदर्शी र समयबद्ध बनाउन आग्रह गदै आगामी दिनमा ढिलासुस्ती नगर्न पनि माग गरिएको छ ।