इटहरी : इटहरी नगर प्रमुख हमेकर्ण पौडेलको सामाजिक सञ्जाल ‘फेसबुक स्ट्याटस’ अभिव्यक्ति स्थानीय सरकारको नेतृत्व गरिरहेको पदीय मर्यादा विपरीत नेपाली पत्रकारितालाई नै बदनाम गराउने भएकोले तथ्य सार्वजनिक गरी क्षमा याचना गर्न पत्रकारहरूले माग गरेको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरीले आज मङ्गलवार नगर प्रमुख पौडेलेको अभिव्यक्तिको विषयमा छलफल गरेको छ । छलफलमा सहभागीहरूले प्रमुख पौडेलको स्ट्याटसले कुनै व्यक्तिसँग समाचारको विषयमा भएको बार्गेनिङको कुरालाई ‘इटहरीको पत्रकारिता’ भनी समग्र नेपाली पत्रकारितालाई लाञ्छना लाग्ने अभिव्यक्ति प्रकट भएको बताए ।
उनको भनाई ले इटहरी ‘डेटलाइन’मा लामो समय पत्रकारिता गर्दै आएका वरिष्ठ देखी हाल सक्रिय पत्रकारितामा रहेका इमानदार पत्रकारहरूलाई समेत गाली बेइज्जती गरेको उनीहरूको भनाई छ ।
स्थानीय सरकारको प्रमुखबाट आएको अभिव्यक्तिले प्रेस स्वतन्त्रता विरोधी प्रोत्साहित हुने, पत्रकारको सुरक्षा जोखिम बढ्ने उनीहरूले बताए ।   
प्रमुख पौडेलेको स्ट्याटसमा ‘भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ,पहिला हाम्रो सचिवालयमा पठाउछ्न,केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा’ भनी लेखेका छन् ।
स्ट्याटसको भनाई ले प्रमुख पौडेलको सचिवालयबाट ‘दानापानी’ को आधारमा समाचार तयार हुने गरेको बुझिन्छ । कुनै व्यक्तिसँग कुरा नमिलेको आवेशमा प्रमुख पौडेलले सम्पूर्ण पत्रकार माथि लाञ्छना लगाउँदै उक्त स्ट्याटस लेखेको देखिने छलफलका सहभागीहरूको भनाई थियो ।
उनीहरूको भनाई छ ‘प्रमुख पौडेलले ती व्यक्ति वा व्यक्तिहरू को हुन,उनीहरूको नाम सार्वजनिक गर्नु पर्छ र तिनका कारण पत्रकारितालाई नै लागेको लाञ्छनाप्रति क्षमायाचना गर्नुपर्दछ ।’
त्यसको लागि दबाब सिर्जना गर्न पत्रकार महासङ्घ सुनसरीले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न उनीहरूले सल्लाह दिएका छन् । 
महासङ्घका जिल्ला अध्यक्ष सन्तोष काफ्लेका सभापतित्वमा भएको छलफलमा प्रेस युनियनका अध्यक्ष ध्रुव ढकाल, प्रेस चौतारीका प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस सेन्टर जिल्ला अध्यक्ष तीर्थ कार्की,फोनिज सुनसरीका सुनिल चौधरी,महासङ्घका पूर्व अध्यक्षहरू हर्ष सुब्बा, कृष्ण अधिकारी,केशव घिमिरे, जनकऋषि राई सहित कार्यसमितिका सदस्यहरू लगायत सहभागी थिए ।
सञ्चालन सचिव विनय बाह्रकोटीले गरेका थिए ।
received_4177462625822232