धरान : नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष पर्शुराम चौधरीले धरान-४ का वडाध्यक्ष धनबहादुर राईलाई विधान प्रक्रिया अनुरूप कारबाही हुने बताएका छन् ।
पार्टीको विधि विधान विपरीत गतिविधिमा संलग्न भएकाले स्पष्टीकरण सोध्न नगरले सिफारिस गरेको शनिवार उनले सञ्चारकर्मीहरूलाई बताएका हुन् ।
नेकपा एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंग एभेङका अनुसार पार्टीले वडाध्यक्ष धनबहादुर सहित ४-५ जनालाई कारबाहीको सिफारिस मात्र गरेको थियो, तर उनी आफैले कारबाही गरेको प्रचार गरे ।अव पार्टीले कार्यवाही नै गर्नुपर्ने हुन्छ भन्ने उनको भनाई छ ।
उनले भने ‘वडाध्यक्ष ज्यु जानी नजानी साम्प्रदायिक राजनीतिमा संलग्न भएको पार्टीले बुझेपछि उहाँलाई सचेत गराइएको थियो ।’ धरानमा समुदाय, धार्मिक, सांस्कृतिक सद्भाव खलबलिन कार्यमा पार्टीका कोही पनि प्रत्यक्ष, अप्रत्यक्ष संलग्न हुनुहुँदैन भन्ने पार्टीका सिद्धान्त, विधि, विधान विपरीत वडाध्यक्ष लागेको अध्यक्ष एभेङले बताए ।
तर, उनको दीर्घकालीन राजनीतिक पृष्ठभूमिका लागि राम्रो हुने सचेतनामा गम्भीर नभई तात्कालिक प्रलोभनमा परेको आरोप पनि वडाध्यक्ष माथि लागेको छ ।
नगर प्रमुख हर्क साम्पाङको निकट भएर बजेट रकम बढी पाउने भ्रममा उनले वडामा प्रदेश, सङ्घीय सरकारबाट ठुला योजना ल्याउने तिर ध्यान नदिएको स्थानीयबाट गुनासो आएको पनि एभेङले बताए ।
वडाध्यक्ष राईलाई नगर प्रमुख साम्पाङले हालै ‘एमालेबाट विद्रोह गरेकोमा भव्य प्रशंसा र स्वागत’ गरेका कुराले उक्त कुराको पुष्टि भएको थियो ।    
निर्वाचित भए देखिनै वडाध्यक्ष राईले पार्टीको नियम विपरीत कार्य गरेको कारण २ चोटि मौखिक १ चोटि लिखित स्पष्टीकरण सोधेको थियो ।
अध्यक्ष एभेङले पार्टीको ४ नम्बर वडा कमिटीले नगर कमिटीलाई फागुनमा कारबाहीको सिफारिस पठाए अनुसार जेठ २५ गते दसौँ नगर कमिटीको बैठकले कारबाहीको सिफारिस गरेको बताए ।
उनले राईलाई वडाले कारबाहीको सिफारिस गरे पनि लामो समय पेण्डिङमा राखेर सिफारिस गरेको हो, यसमा नगर समितिका कसैको पनि असहमति छैन सबैको सहमति पश्चात् कारबाहीको सिफारिस गरिएको बताए । अध्यक्ष एभेङले भने ‘अराजकता रोक्नुपर्छ समाज विभाजित गर्नु हुँदैन ।’