आज माता तीर्थ औंशी अर्थात् वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने दिन । आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर जननी प्रति श्रद्धाभाव प्रकट गर्दै मनाईदैछ ।
आज धरानको पिण्डेश्वर र विष्णुपादुकामा, वराहक्षेत्र लगायतका विभिन्न तीर्थस्थलहरूमा माता तीर्थ श्राद्ध गर्नेको घुइँचो लाग्दछ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । यसवर्षको आमाको मुख हेर्ने औँसी बिहीबार परेको छ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले माता तीर्थ औँसी अर्थात् मातृ औँसीका रूपमा समेत मनाउँछन् ।
माता तीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा अनुसार, धेरै वर्ष पहिले एक ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा रोटीको टुक्रा फ्याँक्यो, त्यो फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।
कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा थिइनन् र त्यो दिन वैशाख कृष्णपक्षको औँसी परेको थियो तर दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।
सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन स्वर्गीय आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाए अहिले त्यस ठाउँलाई माता तीर्थ भनिन्छ।
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठा मीठा खाद्यपदार्थ चढाई माता तीर्थ औशी मनाउने गर्दछन् ।
आमाको महत्त्वलाई संस्कृत वाङ्मयमा यसरी वर्णन गरिएको छ। , “मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।”
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि उत्तम हुन्छ, प्रिय हुन्छ।
औँसीलाई पितृको मात्र तिथि हो। यसैगरी भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्व रूपमा मनाइने गरिन्छ।