विराटनगर : पछिल्लो समय नेपालमा भएका ठुला ठुला भ्रष्टाचारका काण्ड छानबिन गर्न बनेको छानबिन समितिका प्रतिवेदन सार्वजनिक नभएको उल्लेख गर्दै नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यसबाट मुलुकमा राजनीतिक नेतृत्वको संरक्षणमा भ्रष्टाचार मौलाएको साबित हुने बताएका छन् ।

उनले भने ‘सुनकाण्डको छानबिन कहाँ पुग्यो ? ललित निवासको छानबिन के हुँदैछ ? अहिले एनसेल काण्ड आएको छ, भ्रष्टाचार काण्डको छानबिन गर्न गठन हुने कुनै पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन ।’ भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशका नाम बदनाम भएको बताए ।

विराटनगरमा शनिवार आयोजित दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानको कार्यक्रमका प्रमुख अतिथि रहेका नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठुला भ्रष्टाचार हुनै नसक्ने बताउँदै भने ‘भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरू बाहिर आइरहेको छ ।’

राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको सेटिङमा एनसेल काण्ड भएको उनले बताए । कोइरालाले जतिसुकै ठुला भ्रष्टाचारका मुद्दा बाहिर आए पनि राजनीतिक नेतृत्वले भने उन्मुक्ति पाउने गरेको बताए ।

उनले भने ‘अब अन्य काण्डजस्तै आठ-दश दिनमा एनसेलको पनि रिपोर्ट आउला तर त्यसले राजनीतिक नेतृत्वलाई छुँदैन, त्यसले व्यापारीलाई छोला अनि अलिअलि कर्मचारीलाई पनि छोला तर राजनीतिक नेतृत्वलाई छुँदैन ।’

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश अगाडि बढेकोमा नेता कोइरालाले चिन्ता व्यक्त गरे । वर्तमान नेतृत्वबाट देश नबने बताउँदै कोइरालाले जतिसक्दो चाँडो गठबन्धन सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला, संस्कृतिसहित चौतर्फी विकासले मात्रै विराटनगर समृद्ध हुने बताए । महानगरपालिकाद्वारा प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको बताउँदै मेयर कोइरालाले भौतिक संरचनाको विकाससँगै मानवीय सूचकाङ्कको विकासमा आफू गम्भीर रहेको सुनाए ।

समारोहमा कथाकार भागिरथी श्रेष्ठ र वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नगद ५१ हजार र झालाई २५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाई सम्मानित भएका थिए ।

संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य भीम पराजुली, जयराम यादव, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, राप्रपाका केन्द्रीय सदस्य केदार कोइराला, प्राध्यापक कविराज न्यौपाने, विश्लेषक भेषप्रसाद धमला, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, साहित्यकार डा. मेदिनीप्रसाद शर्मा नेपाल, कवि चूडामणि नेपाल अकिञ्चन, दिङ्लाली कान्छोलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

अग्रज पत्रकार शरदराज सुवेदी र रूपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । १५ लाख रुपैयाँको अक्षयकोष राखेर स्थापित प्रतिष्ठानबाट यसअघि ७-७ जना साहित्यकार र पत्रकार पुरस्कृत भइसकेका छन् ।