हालसम्म सर्वेक्षण गरे, नगरेको थाहा नभए तापनि सम्भवतः यो पदयात्रा मार्ग संसारकै अग्लो पदयात्रा पनि मार्ग हो । पहिले पहिले तिन दशक अघि सम्म विदेशी पर्यटकहरू काठमाडौँ, इटहरी, धरान, धनकुटा हुँदै हिलेसम्म गाडीमा जान्थे ।
हिलेबाट चाहिँ विदेशी पर्यटकहरूले पैदल यात्रा सुरु गर्थे । पछि तुम्लिङटारमा विमानस्थल बनेपछि हवाईजहाज मार्फत काठमाडौँ वा विराटनगरबाट तुम्लिङटार सम्म जान्थे । त्यसपछि तुम्लिङटारबाट चाहिँ विदेशी पर्यटकहरूको पैदल यात्रा सुरु हुन्थ्यो ।
अहिले भने, हिउँद याममा सङ्खुवासभा जिल्लाको चिचिला, नुम, हिउँदमा बाला ताम्कूसम्म नै गाडी चल्ने गरेको छ । त्यसैले अहिले चाहिँ विदेशी तथा स्वदेशी पदयात्रीहरू हिउँद याममा चिचिला, नुम, बाला, ताम्कूसम्म गाडीमा जाने गर्छन् भने त्यहाँबाट पैदल यात्रा थाल्छन् ।
त्यहाँबाट पैदल यात्रा टाशी गाऊँ, याङले खर्क, खोङमा-ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी-कोल पास गरेर सोलुखुम्बु जिल्लाको मेरा-ला, खारे, ठाङना, क्षेत्र-ला हुँदै लुक्ला पुगेर पदयात्रा सक्ने गर्छन् । केही पदयात्रीहरूले मेरा-ला वा बरुत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे, फाक्दिङ हुँदै लुक्लामा आएर पदयात्रा समाप्त गर्छन् ।
स्मरणीय के छ भने तुम्लिङटार संसारकै होचो उपत्यका पनि हो । आजभोलि धेरै जसो विदेशी पर्यटकहरू यो पदयात्रा मार्गमा पदयात्रा गर्न जहाजबाट तुम्लिङटारसम्म जाने गर्छन् । त्यसपछि तुम्लिङटारबाट खाँदबारी, मानेभञ्ज्याङ, चिचिला, नुम, बाला, ताम्कूसम्म गाडीमा जाने गर्छन् त्यहाँबाट पैदल यात्रा थाल्छन् ।
नुम, टासी गाउँ, खोङ्मा डाँडा, तुम्बुक, याङले, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल पास गरिन्छ । तुम्लिङटारको बारेमा सामान्य नागरिकहरूलाई पनि थाहा हुनुपर्छ कि, यसलाई अरुण उपत्यका भनेर पनि चिनिन्छ भने यो संसारकै होचो उपत्यका पनि भएको सर्वविदितै छ ।
शभाया खोला र अरुण नदीको डिलमा अवस्थित तुम्लिङटारमा मिश्रित जातिको बसोबास रहेको छ । हनु पनि अरुण उपत्यका केबल संसारको होचो उपत्यकाको रूपमा मात्रै सीमित नरहेर करिब ६ सय प्रजातिका रंगीविरंगी चरा-चुरुङ्गीको वासस्थानका रूपमा पनि रहेको छ । त्यस्तै कतिपय नेपालमा मात्रै पाइने रैथाने जातका चराहरू पनि यो उपत्यकामा पाइन्छ ।
त्यसबाहेक लोखर्के, मुसा, न्याउरी, बाँदर, ढेँडु, मलसाँप्रो, पान्डा, कस्तुरी, मृग, थार, घोरल, स्याल, वन बिरालो, फ्याउरो, चितुवा लगायत जङ्गली जनावरहरू पनि बाटामा प्रशस्तै देख्न र भेट्न सकिन्छ ।
यो पदयात्रा मार्गमा पनि विभिन्न उपमार्गहरू छन् । तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, याङ्लेखर्क, खोङ्मा डाँडा, नुम्बुक, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सीधा भिरालो (पर्वतारोहण-पदयात्राको भाषामा ‘स्टिभ-डाउन’ छ ।
यहाँको बाटो पुरा हिउँ नै हिउँले ढाकिएको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नु पर्छ भने भोलिपल्ट चाहिँ ६,२०० मिटरको हाराहारीको उचाइमा बरुणत्चे हिमालको क्याम्प-१ मा बास बस्नु पर्छ । यो पदयात्रा मार्गमा टासी गाउँसम्म मानव बसोबास रहेको छ ।
त्यसपछिको प्रायः सबै क्याम्प खर्क र खाली चउरमा गर्नु पर्छ भने हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मिटर उचाइमा छ भने एक दिन नाक ठोक्किने गरी उकालो हिँड्नु पर्छ । जब शेर्पेनी कोल र बरुणत्चे-१ बिचको ६,२०० मिटरको सेरोफेरोमा पदयात्रीहरू यात्रा गरिरहेका हुन्छन्, त्यति बेला उनीहरूले खुबै सास्ती खेपी रहेका हुन्छन् ।किनकि उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ, त्यसमाथि हिउँमाथि यात्रा गरिरहेका हुन्छन्, थाकेको वेला बिसाउन र आराम गर्न पदयात्रीहरूका लागि सजिलोसँग बस्ने ठाउँ हुँदैन । त्यसैले हिँड्दा हिँड्दै थकाई लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । बिचराहरू ! त्यो बेला उनीहरूको हालत हेरी नसक्नुकै हुन्छ । प्रायः सबैको हालत त्यस्तै हुन्छ । त्यसमा भरियाहरूको अवस्था बढी नै दयनीय हुन्छ ।
कतिपय पदयात्री तथा भरियाहरू उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थाई रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’को कारणले गर्दा सिकिस्तै हुन्छन् । केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कोही कोहीले त असावधानीका कारण डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् ।
स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेसक्याम्प आउने दिन लगभग ५०० मिटर जति त डोरी मात्रै टाँग्नु पर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङ प्रायः सबै सरसामान डोरीबाटै पास गर्नु पर्छ । कतिपय भरियाहरूले भारी बोक्न नसकेर खानाको भारी बाटोमा हिउँमै छाडेर हिँड्छन् ।
ज्यानभन्दा ठुलो ती खानेकुरा र सरसामानहरू होइनन् नै । त्यसरी छाडेको खानाहरू बिचका हिम बाटोहरूमा प्रशस्तै देखिछ, भेटिन्छ । कतैकतै त हिउँले कठ्याङ्ग्रिएर र, लेक लागेर मरेका मान्छेहरूको लास पनि भेटिन्छ । ती लासहरू प्रायः नेपाली भरियाहरूको हुन्छ ।
त्यस्तो अप्ठ्यारो र कठिन बाटो भए तापनि ६ पटकसम्म विगतका दिनमा ओहोर दोहोर गरेका सङ्खुवासभा जिल्ला, पाङ्मा हाल अस्ट्रेलियामा रहेका युद्ध लोहो रुङ आफ्नो अनुभव पूर्वेली लवजमा यसरी सुनाउँछन् ‘अरे हौ सोल्टी, शेर्पेनी कोल त नेपालको सबैभन्दा अप्ठ्यारो र खतरापूर्ण पास हो नि !’
उनी तगडा शेर्पा पदीय हिसाबले गाइड गर्ने मान्छे भएन भने त खत्तमै हुने बताउँछन् । डोरी कसले टाङ्ने ? भरियालाई कसले सहयोग गर्ने ? ग्रुपलाई कसले डोराउने ? त्यसमाथि तिर्खा लाग्दा पानी पिउनसमेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन भन्ने लोहरुङको अनुभव छ ।
भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा ट्रेकिङ गर्दैनन् । जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होउन्, आफूलाई साह्रै गौरवान्वित र भाग्यमानी भएको ठान्छन् ।
यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । हुन पनि यो मार्गमा पदयात्रा गर्न वास्तवमै विश्वका साहसिक पदयात्रीहरूले मात्रै आँट गर्न सक्छन् । किनभने, ३-४ दिनसम्म हिउँ नै हिउँमा हिँड्नु पर्छ । त्यसमाथि शेर्र्पेनी कोल पास गर्नका लागि हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको पनि जरुरी हुन्छ ।
कतिपय पदयात्रीहरू एक्युपमेन्ट तयार गरेर शरीरमा फिट गरी पठाउँदा समेत बिचमा पुगेपछि आत्तिन थाल्छन् । त्यसैले निडर र साहसी हुनु पर्छ, शेर्पेनी कोल पास गर्ने पदयात्रीहरू । त्यसो त विगतका दिनमा सूचना र सञ्चारको अभाव तथा मानव बस्तीविहीनताका कारण बिच बाटोमा केही गरी विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भई हालेमा उद्धारका लागि हेलिकप्टर मगाउन पनि हत्तपत्त सम्भव हुन्थेन ।
बिरामीलाई बचाउन सके वा बिरामी बाँचेमा मान्छेले सकी नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो । त्यसपछि हेलिकप्टरले लासको रेस्क्यु गर्थ्यो । सुन्दा नमिठो लागे तापनि केही गरी नेपालीहरू मरिहालेमा शव त्यतै छाडिन्थ्यो । किनभने, त्यो वेला नेपालीहरूको दुर्घटना बिमा नै हुन्थेन, गरिन्थेन ।
अर्को सङ्कट, त्यस्तो अनकन्टार हिउँ नै हिउँको बाटोमा कोही बिरामी भई हालेमा बिरामीका ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । किनभने त्यस्तो उचाइ र अनकन्टार ठाउँबाट बिरामी एक्लै जिउँदै फर्केला भन्ने आशा गर्न सकिँदैन थियो, सम्भावना पनि हुँदैनथ्यो ।
बाटोमा खाने खाना, वास बस्ने पाल र साथी बिना बिरामीलाई एक्लै पठाउने कुरो पनि भएन । कदाचित बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो । हत्तपत्त बाटोमा खाने कुरो पनि नपाइने अवस्था थियो । पछिल्लो समय पदयात्रा पर्यटन निकै लोकप्रिय भएको छ, तर ‘शेर्पेनी कोल’को चर्चा भने सुनिन्न ।