धरान : नगरप्रमुख हर्क साम्पाङले धरान-५ साउने बस्तीका ४२ घर सुकुम्बासी परिवारको जग्गामा जबरजस्ती घेराबारा गरेर बहुसाँस्कृतिक पार्क बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाज सुनसरीले शुक्रवार पत्रकार सम्मेलनमा बस्तीमा पार्क बनाउनले नाममा ४२ घर परिवार विस्थापित गर्न खोजेको आरोप लगाएको छ । उनीहरूले बस्तीमा पार्क होइन सुकुम्बासी परिवारहरूलाई घर बनाउन दिनुपर्ने माग गरेको छन् ।

समाजका अध्यक्ष थामसेर लिम्बुले जग्गामा जबरजस्ती पार्क बनाउन वडाका जनप्रतिनिधिहरू, माओवादी र एमालेका नेताहरू लागेको बताए । लिम्बुले भने ‘सुकुम्बासीहरुलाई उचित व्यवस्थापन नगरी जबरजस्ती पार्क बनाए कडा सङ्घर्ष हुन्छ, पार्क बनाउन दिँदैनौँ ।’

पत्रकार सम्मेलनमा स्थानीय मनमाया लिम्बुले भनिन् ‘सुकुम्वासीले घर बनाउन नपाए पार्क पनि बनाउन दिँदैनौँ ।’ सुकुम्बासीको भोटले चुनाव जितेका जनप्रतिनिधिहरू, नेताहरू अहिले सुकुम्बासीलाई विस्थापित गर्न खोज्दा सबै चुप भएको उनले बताइन् ।

यसअघि सय घर परिवारको बसोबास रहेको उक्त बस्तीमा घर-घरमा पानी, बिजुली, नेपाल सरकारबाट प्राप्त गरेको भूमि आयोगको निस्सा प्रमाणपत्र समेत पाइसकेको विस्थापित सुकुम्वासीहरूको दाबी छ । विस्थापित सय घर परिवार मध्ये अझै पनि ४२ परिवार रहेकोले उनीहरूले घर बनाउन पाउनुपर्ने माग गरेका छन् ।

'वडाध्यक्ष लिम्बुले दोहोरो लाभ लिए'

सुकुम्बासीको जग्गा आफै बेच्दै हिँड्ने वडा ५ का अध्यक्ष मन प्रसाद लिम्बु अहिले आफै पार्क बनाउन लागेको आरोप साउने बस्तीका सुकुम्वासीहरूले लगाएका छन् । वडाध्यक्ष लिम्बुसँगै एमालेका स्थानीय नेता चन्द्र भुजेलले त्यहाँ सुकुम्बासीलाई जग्गा बेचेको आरोप पत्रकार सम्मेलनमा लगाइएको छ ।

समितिका अध्यक्ष लिम्बुका अनुसार विस्थापित भएका सुकुम्वासीहरूको जग्गा हडपेर पार्क बनाउन वडाध्यक्ष लिम्बुसँगै टिएलओ अध्यक्ष कविराज याक्खा, एमाले र माओवादीका नेताहरू, प्रदेश सांसद सबैको मिलेमतो रहेको बताए ।

स्थानीय मनमाया लिम्बुले भनिन ‘वडाध्यक्ष मनप्रसादले नै खोलाको जग्गा सुकुम्बासीलाई बेचेका हुन् अहिले उनै वडाध्यक्ष पार्क बनाउनु पर्छ भन्दै सुकुम्बासीलाई विस्थापित गर्न खोज्दै छन् ।’ पहिले सुकुम्बासीलाई जग्गा बेच्दै हिँड्ने अहिले पार्क बनाउँछु भन्दै बस्ती उठाउने वडाध्यक्ष दोहोरो कमिसन खानेमा लागेको उनको आरोप छ ।

बहुसाँस्कृतिक पार्क विजयपुरमा बनाउनु पर्छ 

बसोबास संरक्षण समितिका अध्यक्ष लिम्बुले भने ‘त्यहाँ पार्क बनाउने त बहाना मात्रै हो, बजेट ल्याउने र सबै जना कमिसन मिलेर खाने मात्र हो ।’ बहुसाँस्कृतिक पार्क बनाउने नै भए विजयपुरमा आदिवासी जनजाति सङ्ग्रहालय छ त्यतैतिर बनाउनु पर्ने उनको भनाई छ । 

त्यहाँ अलपत्र बनेको बहुजातिय सङ्ग्रहालयमा बजेट लगाउन पर्नेमा सुकुम्बासी उठाउनुको कारण पार्कको नाममा जग्गा हडप्ने नियत भएको उनले बताए ।

'पार्क बने कडा आन्दोलन हुन्छ'

स्थानीय पवित्रा लिम्बुले भनिन् ‘घर बनाउन दिनुपर्छ, घर बनाउन नदिए पार्क पनि बन्नु हुँदैन ।’ उनका अनुसार २०६५ साल सम्म घर बनाएर बसोबास गरेको सुकुम्बासीको जग्गामा वनले हस्तक्षेप गरेको थियो । पछि छलफल गरेर सुकुम्वासीहरू पुनः स्थापित भएका थिए ।

माओवादी नेताले जेसिबि ल्याएर सबै घर भत्काइ दिएको बताउँदै उनले भनिन् ‘त्यो जग्गा सुकुम्वासीहरूको भएकोले त्यहाँ घर बनाउन पाएनौँ भने पार्क बनाउन पनि दिँदैनौँ ।’

अध्यक्ष लिम्बुका अनुसार २०६५ सालमा त्यहाँ सय घर परिवारहरू बसोबास गर्दै आएका थिए । स्थानीय वाल ऋषिदेव उपभोक्ता समिति, इलाका वन रेञ्जपोष्ट, पानमारी वन, धरान-१५ को वन, राजनीतिक दलहरू सबै मिलेर आगजनी गर्दै सुकुम्बासीलाई विस्थापित बनाएको थियो ।

घटनाको ४ दिनपछि छलफल भएर विस्थापितहरूलाई पुनः स्थापित गराउने काम भएको थियो । तर, तीन वर्षपछि माओवादीका नेता चोत्लुङको नेतृत्वमा पुनः घर भत्काइएको उनको भनाई छ ।

उनले भने ‘त्यसपछि सुकुम्वासीहरू कोही डेरा भाडामा बसे, कोहीको कालगतिले मृत्यु भइसकेको छ, अहिले त्यही ठाउँमा नगरपालिकाले जबरजस्ती पार्क बनाउँदै छ, त्यो हामीलाई स्वीकार्य छैन, त्यहाँ विस्थापितहरूले घर बनाउन पाउनुपर्छ ।’

सुकुम्बासी हटाएको होइन : चोत्लुङ 

माओवादी नेता चोत्लुङले भने ‘त्यो बेला बस्ती जोगाउन तारजाली गर्न जेसिवी लिएर गएको हो, बस्ती हटाउन होइन ।’ बस्ती जोगाउन संरक्षण गर्न आफू लागेको उनले दाबी गरे । चोत्लुङले भने ‘त्यो बेलाको गुन बस्तीवासीले बिर्सेका मात्र हुन, आरोप सरासर झुटो हो ।’

वडाध्यक्ष लिम्बुले पत्रकार सम्मेलनमा लगाइएको आरोपको खण्डन गर्दै भने 'कान्छो छोरोले ६ वर्ष अगाडि प्रस्तावित पार्क भन्दा १ किलोमिटर पर बस्तीको युमा मार्गमा जग्गा बेचेको हो, ‘मैले अध्यक्ष भएर बेचेको होइन ।’ मैले सुकुम्बासीलाई जग्गा बेचेको आरोप झुटो हो ।