वराहक्षेत्र : आगमि चैत्र-२७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं. १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद्गुरु वालसन्त मोहन शरण देवचार्य झाडु बोकेर सँगै सरसफाइ कार्यमा निस्किएका छन् ।
आज बिहीबार बिहान प्राचीन हरिद्वार चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर नगरपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।
कुम्भ स्तम्भ अगाडि, कुम्भ परिसर तथा घाट क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा नगर प्रमुख कार्की, नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य सँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिका मातहतका कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख, तथा मातहतका सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको टोली, सशस्त्र प्रहरी वेश क्याम्प चतराका प्रमुख ज्यु एवम् टोली, आदर्श माविका स्काउट टोली, राजनैतिक दलका स्थानिय प्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरूको तथा स्थानिय सङ्घ/संस्थाका पदाधिकारी एवम् स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वराहक्षेत्र धाम आउने पर्यटकहरूलाई थप आकर्षित गराउन र चैत्र-२७ गतेबाट आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उद्देश्यले सरसफाइको आयोजना गरिएको नगर प्रमुख कार्कीले बताए । कार्यभार सुरु गरेबाटै वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रूपमा विकास गर्ने लक्ष्य सहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन मेयर रमेश कार्की आफैँ सार्वजनिक स्थानमा झाडु र डस्बिन बोकेर निस्कने गरेका छन् ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरण बताए । अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ । भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ ।