वराहक्षेत्र : आगामी २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने दोस्रो पूर्ण महाकुम्भ मेला तयारीको सन्दर्भमा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कुम्भ मेला आयोजना तयारीको विषयमा सोमवार कुम्भमेला स्थल चतराधाममा तयारीको विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको हो । चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलाको तयारी सुरु गरिएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम कुम्भ स्थलको रूपमा प्रसिद्ध रहेको छ । नेपालको एक मात्र कुम्भस्थलको रूपमा रहेको चतराधाममा यस अगाडी ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् ।

वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा आयोजना भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मेलालाई व्यवस्थित बनाउनु पर्ने जोड दिएका थिए।

अन्तरक्रियामा वक्ताहरूले प्रचारप्रसार, व्यवस्थापन, अतिथि संस्कार, आर्थिक स्रोत व्यवस्थापन लगाएको विषयमा तयारी सुरु गर्नुपर्ने धारणा राखेका थिए । आर्थिक पारदर्शिता, व्यापकता, माथिल्ला सरकारसँग समन्वय तथा सहकार्य गर्नुपर्ने वक्ताहरू धारणा रहेको थियो ।

छलफलबाट कुम्भ मेलाको शुभारम्भकालागि प्रचारात्मक कार्यक्रम गर्ने, माथिल्ला निकायहरूसँग समन्वय र सहयोगकालागि सहजीकरण गर्ने, नियमित सरसफाइको व्यवस्थापन गर्ने, आवश्यक भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिने निर्णय गरिएको प्रथम जगतगुरु पीठ चतरा धामका सचिव उद्भव घिमिरेले बताए ।

मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । चतराधाम कुम्भ नगरी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचारप्रसार र व्यवस्थापनलाई प्राथमिकताका साथ राखेर काम गर्ने कार्कीको भनाई छ ।

नगर प्रमुख कार्कीका अनुसार २०८० साल चैत्रबाट लाग्ने पुर्णकुम्भ मेलाको प्रचारप्रसार गर्ने र प्रचारात्मक कार्यक्रम गरिने तथा माथिल्ला सरकारसँग समन्वय गरिने नगर प्रमुख कार्कीले बताए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पूर्व सभासद हरिनाथ बास्तोला, वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, जिल्ला प्रहरी प्रमुख, वडाध्यक्षहरू, राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

kumbha-mela-tayari-12-28