- विजय घिमिरे
भनिन्छ, इतिहास जति नै सौर्यवान भए पनि त्यसले वर्तमानको बोझ बोक्न सक्दैन । नेपाली काँग्रेसको वर्तमान अवस्था हेर्दा यो भनाई एकदमै सार्थक देखिन्छ । भर्खरै सत्ताको अङ्क गणितमा, गठबन्धनको संस्कृतिमा नेपाली काँग्रेसका दिग्गज भनिएका, बारम्बार दोहोरिएका महारथी सांसदले भरिभराउ, संसदमा पहिलो दलको पगरी लगाएको नेपाली काँग्रेसलाई तेस्रो स्थानको ३२ सिटे दलले लोप्पा खुवाएको छ ।
राजनीतिमा कुनै एउटा घटना एउटै कारणले मात्र घटित हुँदैन । त्यसमा विभिन्न बहुआयामिक परिघटनाहरू र त्यससँग अन्तरसम्बन्धित विषय वस्तुहरू कारकको रूपमा रहेका हुन्छन् । अनपेक्षित रूपमा सत्ता गठबन्धन एकाएक परिवर्तन हुनु राजनीतिमा खासै नौलो विषय होइन ।
तर आश्चर्यको रूपमा रहेको विषय चाही नेपाली राजनीतिको मियोको रूपमा रहेको, सात दशक लामो इतिहास बोकेको राजनीतिक दलको नेतृत्व गरिरहेका, सम्भवतः सक्रिय राजनीति गरिरहेका अहिलेका राजनीतिज्ञहरू मध्ये पाको उमेरका शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली काँग्रेसका नेताहरूले अन्तिम अवस्थासम्म त्यसको छनक पाउन नसक्नु हो ।
शेरबहादुर देउवालाई संसदीय दलको नेताको उम्मेदवारको रूपमा टक्कर दिएका नेपाली काँग्रेसका चर्चित युवा नेता गगन थापा समेत प्रचण्डको पछिल्लो राजनीतिक दाउपेचलाई अन्दाज लगाउन असफल नै रहे । प्रचण्डको राजनीतिक उथल पुथलको पूर्वानुमान गर्न जो कोहीलाई गाह्रो नै हुन्छ ।
काँग्रेसका महामन्त्री गगन थापा र प्रधानमन्त्री प्रचण्डकै मातहतमा काँग्रेसको नेतृत्व गर्दै उपप्रधानमन्त्री समेत रहेका काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसको महासमिति बैठकमा गठबन्धनको औचित्यमा प्रश्न उठाउँदै दस्ताबेज प्रस्तुत गरे । आफूले नै बैसाखी टेकाएर प्रधानमन्त्री बनाएको दल र आफ्नै केन्द्रीय समितिले निर्णय गरेर गरेको गठबन्धनप्रति आपत्ति जनाउनु, त्यो पनि सरकारमा सहभागी हुँदाहुँदै राजनीतिक रूपले मिल्थ्यो कि मिल्दैनथ्यो ?
कि पहिले नै आम कार्यकर्ताको भावना बमोजिम गठबन्धन गर्न हुँदैनथ्यो । गरिसकेपछि त्यसको विरोधमा दस्ताबेज बनाएर प्रस्तुत गर्नु भनेको काँग्रेस भित्रकै नेतृत्वले अर्को कार्यकाल शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्नको लागि गरेको प्रपञ्च हो भनेर बुझ्न सकिँदैन र ?
काँग्रेसबाट सरकारमा सहभागी नभएका सभापति इतर समूहका केही नेताहरू शेरबहादुर देउवालाई असफल बनाउन र प्रधानमन्त्री बन्नबाट रोक्दै आफू अर्को अधिवेशनबाट सभापतिमा स्थापित हुन राजनीति गरिरहेका जस्तो परिदृश्य नेपाली काँग्रेसको वर्तमान राजनीतिमा देखिन्छ ।
सभापति पक्षका नेताहरू उमेरका हिसाबले पनि शारीरिक रूपले समेत अशक्त हुँदै गएका शेर बहादुर देउवाको सत्ता मोह र पद लोलुप प्रवृत्तिको फाइदा उठाउँदै आफ्नो राजनीतिक अभीष्ट तथा स्वार्थ पुरा गर्न लागि परेका छन् । उनीहरू कसैलाई काँग्रेसको आदर्श सिद्धान्त र वैचारिक दृष्टिकोण प्रति सरोकार नै देखिँदैन ।
अहिले सभापतिको रूपमा शेरबहादुर देउवा कमजोर देखिन्छन् । शेरबहादुर देउवा नेपाली काँग्रेसको खारिएका अनुभवी नेताहरुमध्ये एक हुन् । तर उनले नेपाली काँग्रेसको विधानमा उपसभापति र महामन्त्री समेत सभापतिले मनोनीत गर्न नपाउने निर्वाचित नै भएर आउनुपर्ने व्यवस्था किन राखे ?
यसले उनलाई मात्रै होइन उनीपछि आउने सभापतिलाई समेत काम गर्न असहज अवस्था सृजना हुने देखिन्छ । महासमिति बैठकमा लान तयार गरिएको दस्ताबेज केन्द्रीय समितिको बैठकमा नै रोकेर परिमार्जन गर्दै त्यसमा आन्तरिक सहमति मात्रै गर्न सकिन्थ्यो ।
राजनीतिमा कति गोप्य दस्ताबेज र गोप्य कार्यनीति पनि हुने गर्दछन् । चार वर्ष पछि हुने निर्वाचनमा के गर्ने भन्ने रणनीति वर्तमानमा सङ्घीय देखि प्रदेश सरकार समेतलाई असर पर्ने गरी तयार गर्नु पर्ने हुटहुटीको अन्तरवस्तु सभापतिले बुझ्न सकेको देखिएन ।
माओवादी पार्टीका दोस्रो पुस्ताका नेताहरूमा आफ्नो पार्टीको अस्तित्व र आफ्नो राजनीतिक भविष्यको चिन्ता छ, त्यसैले उनीहरू गठबन्धनको बैसाखीमा निर्भर छन् । यस्तो अवस्थामा काँग्रेसले अब उप्रान्त कसैसँग गठबन्धन गर्दैन भनेर निर्णय गर्दा आफ्नो राजनीतिक सुरक्षाको खोजीमा माओवादी लाग्दछ भन्ने सामान्य हेक्का नहुनु काँग्रेस नेतृत्वमा सूचना र राजनीतिक विश्लेषणको अभाव हो ।
कोशी प्रदेशमा मुख्यमन्त्री र राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा जस्तो गतिविधि र परिणाम देखियो त्यसलाई नेपाली राजनीतिका चतुर र धूर्त खेलाडी केपी ओलीले उपयोग गर्न सक्छन् भन्ने सामान्य हेक्का समेत काँग्रेस नेतृत्वले राख्न सकेको देखिएन ।
पछिल्लो समय संसद्को अङ्क गणितमा काँग्रेस ठुलो दलजस्तो देखिए पनि, वर्तमानमा काँग्रेस इतिहासकै कमजोर अवस्थामा देखिन्छ । ऐतिहासिक रूपले हेर्दा काँग्रेस राजनीतिक शक्ति मात्र नभई एउटा वृहत् सामाजिक शक्ति समेत हो । यसका आठ लाख कार्यकर्ता बाहेक प्रजातन्त्रमा विश्वास गर्ने लाखौँ शुभेच्छुकहरू मतदाताको रूपमा रहेका छन् ।
तिनले कम्युनिष्टहरुलाई मत दिँदैनन् र प्रजातान्त्रिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय जगतले समेत हेर्ने काँग्रेसको चुनाव चिन्हमा मतदान गर्दछन् । तर यस पटकको निर्वाचनमा भने काँग्रेसको लोकप्रिय मतमा अघिल्लो निर्वाचनमा भन्दा गिरावट आएको छ । नयाँ तथा युवा मतदाताहरूले भने काँग्रेसलाई मत दिएको तथ्याङ्कले देखाउँदैन ।
काँग्रेसको विकल्पको रूपमा भरपर्दो प्रजातान्त्रिक शक्ति आयो भने कुनै अपेक्षा नराखी काँग्रेसलाई मत मात्र दिने ठुलो मतदाताको सङ्ख्याले काँग्रेसलाई मत नदिने खतरा समेत पृष्ठभूमिमा देखिँदै गएको छ । नेपाली काँग्रेसको चार तारे झण्डाको मान र कृति, जय नेपाल शब्दको गरिमा खस्किँदै मात्रै गएको छैन काँग्रेस विचार विहीनहरूको झुण्ड जस्तो बन्दै गइरहेको छ ।
स्वर्णिम इतिहास बोकेको दल आज यो अवस्थामा आई पुग्नुको कारण विपि कोइरालाको अवसानसँगै काँग्रेसको वैचारिक धार भुत्ते हुँदै जानु हो । आज सम्म काँग्रेसको लाज विपिको विचार, गणेशमानसिंहको त्याग र साहस, कृष्णप्रसाद भट्टराईको निष्ठा, सुवर्णशमसेरको उदारता, भीमबहादुर तामाङको इमानले जोगाएको छ ।
काँग्रेसको नाममा व्याज खाएर मन्त्री, सांसद, मेयर, उपमेयर र वडाध्यक्ष बनेकाहरूलाई काँग्रेसको आदर्श, सिद्धान्त र स्वर्णिम इतिहासको बारेमा चासो र चिन्ता नै छैन । काँग्रेसको इतिहास स्वर्णिम बनाउन गुमनाम सहिद बनेका राम, लक्ष्मण, लीला, ठगी, खगेन्द्र, गोकर्ण, सम्शेरबहादुर, कामेश्वर, कुशेश्वर, जगतप्रकाश र जङ्ग शाह लगायत सयौँ सपुतहरुकोे नाम समेत उनीहरूलाई थाहा छैन ।
उनीहरूको नाम थाहा पाउन उनीहरूलाई चासो समेत देखिँदैन । उनीहरू त निर्वाचित भएपछि आफ्नै कार्यकर्ता र पदाधिकारी नै चिन्दैनन् । चिन्छन् त खाली ठेकेदार र बिचौलिया मात्रै ।
केन्द्रीय नेतृत्वले मात्रै गलत गरेकाले काँग्रेसको यो अवस्था भएको होइन । यो रोग केन्द्रीय कार्यसमिति हुँदै वडा तहसम्म व्याप्त छ । शेरबहादुर देउवा, बालकृष्ण खाँड लगायतका नेताहरूले श्रीमतीलाई अगाडी सारेको आरोप लगाउने स्थानीय नेताहरूले नै क्षेत्रीय प्रतिनिधि छनौट गर्दा श्रीमती मात्रै होइन विवाह इतर सम्बन्धमा राखेकालाई समेत क्षेत्रीय प्रतिनिधि बनाएको प्रशस्त उदाहरणहरू भेटिन्छन् ।
जसको कारण पार्टीमा लामो समय योगदान गरेकाहरू क्षेत्रीय प्रतिनिधि समेत बन्न नपाएर पार्टीबाट उपेक्षित बनिरहेका छन् । नेपाली काँग्रेसको राजनीतिलाई विकृत र विसंगतीपुर्ण बनाउनको बढी जिम्मेवार भन्ने विषयमा छलफल गर्न सकिन्छ तर पार्टी सिद्धान्तहीन, निष्ठाहीन, चरित्रहिन र ऊर्जाहीन बन्नुको जवाहदेहिता भने दोस्रो कार्यकाल सभापतिको रूपमा रहेका शेरबहादुर देउवा स्वयंले लिनुपर्ने हुन्छ ।
काँग्रेसको राजनीतिमा देखिएको यस किसिमको अवयव कृष्णप्रसाद भट्टराईले २०४८ सालको संसदीय निर्वाचनमा पार्टीकै अन्तर्घातको कारणले पराजित हुँदै गर्दा रोपिएको बिउको झागिंएको वटावृक्ष हो । उक्त निर्वाचनमा कृष्ण प्रसाद भट्टराई मात्रै पराजित भएनन्, काँग्रेसको मूल्य मान्यता र सिद्धान्त समेत पराजित भयो ।
त्यस यता काँग्रेसको आदर्श, सिद्धान्त, मूल्य र मान्यताको ओरालो यात्रा आज पर्यन्त चलिरहेको छ । कृष्ण प्रसाद भट्टराईको पराजयको परिणामले त्यहाँका तत्कालीन निर्वाचन अधिकृत बोधराज ज्ञवालीको हृदयाघातबाट निधन नै भएको थियो तर केही कांग्रेसजन भने खुसीयाली नै मनाउँदै थिए । उहाँको “मेरो म” पुस्तक पढ्दा काँग्रेसको राजनीतिक विचलनको सुरुवाती अवस्था सहजै अनुमान लगाउन सकिन्छ ।
लोकतन्त्रको पर्यावाचि नाम काँग्रेसको आन्तरिक लोकतन्त्र विगत देखि नै कमजोर नै छ । २००७ सालमा राणा शासन ढाल्न संर्घष गरेको काँग्रेस भित्र राणाका अवशेषहरू केन्द्र देखि स्थानिय तह सम्मै देखिन्छ ।
काँग्रेसको वर्तमान नेतृत्वमा आम कार्यकर्ताको भावना भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्न र आफू स्थापित हुन मात्रै सतही राजनीतिक विश्लेषण गरेर निर्णय गर्ने र आफू नै सहभागी भएर गरेको निर्णयको बचाउ समेत गर्न नसक्ने स्वार्थी तत्त्वहरू हाबी रहेका छन् ।
लोकतन्त्रको नाममा संख्यातन्त्र लादेर काँग्रेस पार्टीको दोहन गर्ने कार्य रोकेर काँग्रेसलाई जनआकाङ्क्षा र आम कार्यकर्ताको भावना अनुसार विधि, पद्धति र प्रक्रियामा नहिँडाउने हो भने विपि कोइरालाले भन्नु भए जस्तै देश, काल, परिस्थिति र जनभावना अनुसार चल्न नसक्ने दल र त्यसको नेतृत्व इतिहासको पानामा समेटिने निश्चित छ ।