• विजय घिमिरे

ऐतिहासिक कालखण्डको माइलखुट्टी २००७ साल यता हेर्दा धरान राजनीतिक विचारले क्रियाशील शहर हो । यस नगरको राजनीतिक र शैक्षिक चेतनाको स्तर राणाकालीन समय देखी नै सशक्त रहँदै आएको छ । २००७ सालको क्रन्तीको पृष्ठभूमिमा भागवत गोविन्द लाखे, पण्डित छविलाल पोख्रेल, गणेशमान श्रेष्ठ, हर्क बहादुर श्रेष्ठ लगायतले धरानमा प्रजातान्त्रिक विचारले आन्दोलनको नेतृत्व गर्नु भएको थियो ।

तत्कालीन समयमा हर्कबहादुर श्रेष्ठ २००६ सालमा नै नेपाली काँग्रेसको कलकत्ता सम्मेलनमा सहभागी हुनु भएको थियो । त्यसै बेला धरानबाट आधिकारिक रूपमा नेपाली काँग्रेसको सदस्यता लिने पहिलो पुस्ताका उहाँ अगुवा हुनुहुन्थ्यो ।

यसअघि २००३ सालमा पब्लिक हाई स्कुल, २००४ सालमा सार्वजनिक पुस्तकालय खुलिसकेको थियो भने २००८ सालमा कम्युनिष्टहरुले राजा त्रिभुवनलाई हालको पालिका तरकारी बजार स्थित चिनियाँ चोक तत्कालीन पुरानो बजारमा कालो झण्डा समेत देखाएका थिए । 

पञ्चायती व्यवस्था जस्तो एकतन्त्रीय शासनमा फ्रेण्ड्स क्लबले देखाउने नाटक, खेलकुद, 'कल्पना' पत्रीकाको प्रकाशन लगायतका गतिविधिले धराने जनताको राजनीतिक चेत राजनीतिक दलहरू प्रतिबन्धित रहेको अवस्था देखि नै सशक्त रहेको देखिन्छ । २००८ सालमा पिण्डेश्वर संस्कृत महाविद्यालय, २०१२ सालमा महेन्द्र बहुमुखी क्याम्पसको स्थापना भइसकेको थियो ।

यसरी शैक्षिक सांस्कृतिक रूपले उन्नत रहँदै सशक्त राजनीतिक चेतको विरासतको धरानले पाएको थियो । धराने जनताको यही चेतको कारण कम्युनिष्टहरुको निरन्तरको विजयको कारण लौरो उठाउँदा पनि जित्छौँ अभिमान प्रदर्शन गर्दै आएका थिए ।

अन्ततः धरानमा कम्युनिष्टहरुको त्यो अभिमान २०७६ को उपनिर्वाचनमा तोडियो । धराने मतदाताले नेपाली काँग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई निर्वाचित गराए । २०७९ को स्थानिय तह निर्वाचनमा कम्युनिष्टहरुको दम्भ अरू ध्वस्त भयो ।

एमालेलाई तेस्रो स्थानमा झार्दै दलीय व्यवस्थामा समेत स्वतन्त्र उम्मेदवार हर्क साम्पांङलाई धराने मतदाताले निर्वाचित गराए । निर्वाचनको त्यो परिणामले धरान कम्युनिष्टहरुका ‘लाल किल्ला’ भन्ने कुरा किम्बदन्तीमा सीमित बनायो । साथै दलीय व्यवस्थामा मौलाएको विकृतिप्रति धराने मतदाताले मताधिकार मार्फत विद्रोह प्रदर्शन गरे ।

तर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङंको विजयपछि भने धरान निरन्तर विवादै विवादको अन्तहीन शृङ्खलातर्फ धकेलिँदै गइरहेको छ । समाजलाई गतिशील राख्न परिणाममुखी वादविवादको आवश्यकता हुन्छ । तर विचारको अभावमा सामाजिक सञ्जाल मार्फत भइरहेको अन्तहीन विवादले कतै धरान अतिवादीतर्फ धकेलिँदै त छैन ? एउटा गम्भीर प्रश्न खडा भएको छ ।

हालै धरान नगरप्रमुख हर्क साम्पांङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आफ्नो कार्यकक्षबाट हटाए । त्यसलाई विवेक, विचार, सिद्धान्त भएका कुनै पनि व्यक्तिले संवैधानिक रूपमा स्थापित संस्थाको अपमान गरिएको रूपमा लिएका छन् । उक्त कार्य अराजकता प्रदर्शन गर्ने बाल हठका रूपमा पनि लिएको पाइयो । दलका स्थानिय नेताहरूले २४ घण्टा भित्र तस्बिर नराखे जुत्ताको माला लगाएर कुर्सीबाट निकाल्ने सम्मका अभिव्यक्ति दिए ।

एउटा लोकतान्त्रिक व्यवस्थामा एउटा अराजक गतिविधिलाई रोक्न अर्को अराजक गतिविधि गर्ने हुङ्कार कति शोभनिय हुन्छ राजनीतिक दलको नेतृत्वले समेत बुझ्न आवश्यक छ । धरान अतिवादीतर्फ उन्मुख हुनुमा विगतमा धरानलाई नेतृत्व गर्ने राजनीतिक नेतृत्वको कमजोरी र कानुनको प्रभावकारी रूपमा कार्यान्वयन नहुनु पनि हो ।

यसले सर्वसाधारणलाई कानुनप्रति अविश्वास बढाउने प्रवृत्ति बढाएको देखिन्छ । हामीलाई केही पर्‍यो भने राज्यले, प्रणालीले न्याय दिन्छ भन्ने कुरामा शङ्का उत्पन्न भएको छ । कानुनी न्याय पाउनु पनि शक्तिको पछि लाग्नुपर्छ भन्ने मान्यता बिस्तारै स्थापित हुँदै गइरहेको छ । 

त्यसैले सर्वसाधारणले प्रणालीको विकास गर्नुभन्दा एक व्यक्ति, एक नेतामा निर्भर भएर विकास र सुशासन खोजिरहेका छन् । जसले गर्दा नेतृत्व निरङ्कुश बन्दै गइरहेको छ । नगर प्रमुख हर्क साम्पाङ मात्र होइन सामाजिक सञ्जाल हेर्दा धेरै मानिस ‘मेरो बोली नै मेरो शासन हो’ भन्ने आत्मरतिमा रमाइरहेको देखिन्छ ।

हिजो राणा शासन र पञ्चायतमा आन्दोलन र विरोध गर्ने राजनीतिक चेत भएको धराने अगुवाहरूको मनोविज्ञान बोल्न समेत डराइरहेको अवस्था सृजना भएको छ । बेरोजगारीसँग जुधिरहेको युवा पुस्तामा विगतको राजनीतिक नेतृत्वप्रति चरम निराशा र वितृष्णा बढेको छ ।

त्यसैले अहिलेका युवाले राजनीतिक दलको तर्क र तथ्य सुन्न र बुझ्न चाहँदैनन् । ती युवालाई वर्तमान सामाजिक संरचनामा असर पर्ने गरी भइरहेको गतिविधि प्रष्ट बुझाउन सक्ने नेतृत्वको अभाव नै राजनीतिक दलमा छ। प्रष्ट भन्नुपर्दा आज यो अवस्था आउनुको कारक तत्त्व नै पुराना राजनीतिक दलको नेतृत्वको दम्भ, कमी कमजोरी नै हो ।

चरम निराशा, वितृष्णा, बेरोजगारी एवं दिग्भ्रमित मानसिकताले गिजोलेको युवा पुस्ता एउटा यस्तो अलौकिक शक्तिको खोजीमा छ, जसले 'छु मन्तर' गरेर उसका तमाम समस्याहरू समाधान गरिदिन्छ । त्यस्तो अलौकिक शक्तिको अंश धरानका युवाहरूले हर्क साम्पाङंमा, काठमाडौँकाले बालेन शाहमा र केहीले रवि लामिछानेमा खोजिरहेका छन् ।

तर युवा पुस्ताले आश गरेर हेरेका वैकल्पिक नेतृत्वको रूपमा आएको नेतृत्व समेत जात, धर्म, राष्ट्रियता र विकास जस्ता कुराहरूमा सतही र विवादास्पद अभिव्यक्ति दिएर समाजमा कलहको बिउ रोप्न उद्धत हुन थालेको पाइन्छ ।

नगर प्रमुख हर्क साम्पांङको दैनिक रूपमा आउने सामाजिक सञ्जालको अराजक किसिमको लेखाई बालेन शाहको सिंहदरबार आगो लगाउने पोष्ट अनि रवि लामिछानेको गृहमन्त्रालय छोड्दै गर्दा १२ भाइ पत्रकारलाई संशोधन ती सबै सस्तो लोकप्रियता अतिवाद र उग्र राष्ट्रवादको नसामा गाएको गीत जस्तो छ ।

दलाल, राष्ट्रघात र झोले जस्ता शब्दहरू प्रयोग गरेर आफ्नो पदीय मर्यादा भन्दा बिर्सेर विधि पद्धति र संविधानको भावना र मर्मलाई भत्काउने छुट कसैलाई पनि छैन । असन्तुष्ट र निराश युवाहरूको भावनामा खेलेर विकास र समृद्धि भनेको राजनीतिक दल र तिनका कार्यकर्तालाई गाली गर्नु हो भन्ने भाष्य तयार गर्न खोजिएको छ ।

त्यसो गरेर विधि प्रक्रिया बेगर एक व्यक्तिमा निर्भर रहने व्यवस्था तर्फ केही व्यक्तिहरू लागिरहेको देखिन्छ । जसको विरोधमा बोल्न बौद्धिक वर्गहरू समेत डराइरहेका छन् । फरक मतको सम्मान गर्ने अनि समाजमा समानुभूति कसरी कायम राख्ने भन्ने तर्फ धरानको हालको नेतृत्व बेलैमा सजग भएर नलाग्ने हो भने जातीय र धार्मिक सद्भाव खलबलिने खतरा समेत बढ्दै गइरहेको छ ।

धरानका आम नागरिकलाई मात्रै होइन नगर प्रमुख स्वयंलाई पनि आफ्नो अधिकार र जिम्मेवारी के हो भन्ने बुझ्नै नचाहेको जस्तो अवस्था देखिन्छ । नगर प्रमुख सस्तो लोकप्रियताको पछि लागेर धरानको नेतृत्व गर्ने भन्दा पनि सामाजिक सञ्जालमा अनावश्यक लेख्ने मानसिकताबाट ग्रस्त देखिन्छन् ।

धरानको राजनीतिक चेत अहिले अविवेकीहरूको बाकसमा बन्धकी राखिएको वस्तु जस्तो बनेको छ । यसलाई मतदाताहरूले राजनीतिक दलको नेतृत्वको अकर्मण्यताका कारण विकल्प खोजेका हुन भन्ने अर्थमा पनि लिन थालिएको छ ।

यसरी लगाइएको अर्थका पछि लागेर स्वतन्त्र नगर प्रमुख हर्क सम्पाङ भने ठुलो स्वरले सही कुरा र जायज आवाजलाई दबाउँदै, अघि बढ्ने तह लगाउने प्रपञ्चमा अग्रसर भएको भान हुन्छ । राजनीतिक दलप्रतिको असन्तुष्टिको विकल्पमा धराने मतदाताले अराजकता नै खोजेका हुन त ?

लोकतन्त्रमा विकल्प खोज्न पाइन्छ । विकल्प खोज्नु पनि पर्छ तर, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने विश्वव्यापी मान्यता छ । लोकतन्त्रले विकल्पमा तानाशाही खोज्न थाल्यो, अधिनायकवाद रोज्न थाल्यो र त्यही खोजेको हो भनेर अघि सर्न थाल्यो भने त्यसको नराम्रो परिणाम देशले, जनताले र त्यस्तो नेतृत्व आफैले भोग्ने दिन ढिलो चाँडो आउँछ ।