धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ३ महिनामा क्यान्सर अस्पताल र आगोले जलेकाको उपचार सुरु हुने बताएका छन् ।

प्रतिष्ठानले ३१औँ स्थापना दिवस तथा १११ औँ वीपी जयन्ती मनाउन सोमवार आयोजित समारोहमा उनले उक्त जानकारी दिएका हुन । भारतको जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका अध्यक्ष प्रा.डा. विवेकानन्द झा प्रमुख अतिथि थिए ।

उपकुलपति गिरिले बीपीमा आइसियुको कमीका कारण बिरामीले सास्ती भोग्नु परेकोमा चालु आर्थिक वर्ष भित्र क्षमता बिस्तार गरी १५० वटा आइसियु बेड सञ्चालन ल्याइने बताए । उनले प्रतिष्ठानको आर्थिक अवस्था ऋणात्मक भएको अवस्थामा सरकारबाट समेत बजेट विनियोजन नहुँदा थप सङ्कट पर्न सक्ने बताए ।

स्थापना दिवसको अवसरमा प्रकाशित विज्ञप्तिमा १५० बेडको अस्पतालबाट सुरु भएको प्रतिष्ठानमा हाल ९१३ बेडको क्षमतामा सञ्चालन रहेको उल्लेख गरिएको छ । मेडिकल तथा डेन्टलमा विशेषज्ञ चिकित्सक सेवा, मुटु रोगको क्याथ ल्याब, शल्य चिकित्सा सेवा प्रतिष्ठानमा उपलब्ध भएको बताइएको छ ।

आइसियु बेडको कमी भएकोमा थप ३० वटा बेड थपिएको, डायलासिस सेवामा २० बेड थपिएको छ । इमर्जेन्सी कक्षमा मनिटर थपेर स्तरोन्नति गरिएको छ । निर्माणाधीन इमर्जेन्सी भवन सम्पन्न हुँदा अक्सिजन पाइप लाइन सहित थप ३० वटा जनरल बेड ४ वटा आइसियु/एचडियु सेवा विस्तार हुनेछ ।

बन्द रहेको फार्मेसी सेवा समेत सुचारु भएको छ । फार्मेसी भवन निर्माण सम्पन्न भई हस्तान्तरण बाँकी छ । वीपीमा २५६ स्लाइसको सिटी स्क्यान सञ्चालनमा छ । यो प्रविधि नेपालमा दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधि हो ।

टेस्लाको एमआरआई मेशिन खरिदको प्रक्रिया अघि बढाइएको छ । अल्ट्रासाउण्ड, एक्स रे, मेशिनहरू मर्मत सुधार गरी चलाइएको छ । अत्याधुनिक प्रविधिको अल्ट्रासाउण्ड मेशिन सञ्चालनमा छ । वीपीमा २० हजार लिटरको लिक्युड अक्सिजन टयाङकी सञ्चालनमा छ ।

प्रतिष्ठानको डेन्टलमा पुराना ६० वटा हाईड्रोलिक डेन्टल चेयरलाई प्रतिस्थापन गरी पहिलो चरणमा ३० वटा नयाँ ईलेक्ट्रोनिक डेन्टल चेयर सञ्चालनमा छ । मातृ शिशु विशेषज्ञ उपचारका लागि ४०० बेडको अस्पताल आउँदो मङ्सिर सम्म हस्तान्तरण हुनेछ ।

क्यान्सर अस्पतालमा २०० बेडको अंकोलोजी सेन्टर, रोगको २०० बेडको कार्डियोलोजी सेन्टर निर्माण कार्य गर्न बजेट सुनिश्चितताका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिएको प्रतिष्ठानले जनाएको छ ।

समारोहमा कुल सचिव प्रा.डा.सूर्यप्रसाद सङ्ग्रौलाले समय समयमा विभिन्न माग राखी चिकित्सक, कर्मचारी लगायतले गर्ने आन्दोलनका कारण प्रतिष्ठानको अर्थतन्त्रमा असर परेको बताए ।

BPKIHS-VC