धरान : वीपी प्रतिष्ठानलाई सरकारले ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ नामक छाता ऐनमा लैजान लागेकोप्रति धराने जनताको असहमति जनाउन काठमाडौँ पुगेको सर्वदलीय प्रतिनिधि मण्डलले आज बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पत्रमा वीपीलाई छाता ऐनमा लैजानु गम्भीर त्रुटि हुने उल्लेख सहित त्यसलाई सच्याएर प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रचण्डले सबै दलहरू समेटिएर संयुक्त रूपमा प्रतिनिधि मण्डल आएकोमा खुसी लागेका बताए । उनले आफू प्रधानमन्त्री रहेकै बेलामा छाता ऐनको प्रसङ्ग उठेको उल्लेख गर्दै भने ‘मैले नै वीपीको विषयमा यसो गर्नु हुँदैन भनेको हुँ ।’
टोलीसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूले सधैँ धरानका जनताको भावना अनुरूप काम गरिरहेको बताउँदै ‘सत्तामा रहनुहुने एमाले काँग्रेसलाई भन्नुस् म पनि भन्छु ।’ भनेको प्रचण्डसँग भेट्दा टोलीमा सहभागी रहेका मनोज भट्टराईले जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा काँग्रेसका श्याम पोखरेल, एमालेका हर्कजंग एभेङ, माओवादी केन्द्रका उद्धव लिम्बू र जसपा नेपालका ताजुब लिम्बूले हस्ताक्षर गरेका छन् ।
सर्वपक्षीय टोलीमा ज्ञापन पत्रमा हस्ताक्षरकर्ता नेताहरू सहित एमाले कोसी प्रदेश सदस्य भीम ज्वाला राई, धरान-१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई मनोज र धरान सरोकार समाजका महासचिव राजेन्द्र रिमाल लगायत थिए ।
कोटेश्वरस्थित माओवादी मुख्यालय भएको भेटमा टोलले अध्यक्ष प्रचण्डलाई ३ वर्ष अघि २०८० चैत ३० गते बसेको वीपी प्रतिष्ठानको ४५ औँ सिनेट बैठकले वीपी कोइराला चिकित्सा विज्ञान विश्वविद्यालय मस्यौदा ऐन पारित गरिसकेको स्मरण गराउँदै सिनेटको निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाउन सहयोगका लागि अनुरोध गरेका थिए ।