काठमाडौँ उपत्यका बाहिर सर्वाधिक चर्चामा रहँदै आएको फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपले यसपालि रजत उत्सव मनाउँदै चाँदीको घेरा पुरा गरेको छ । शनिवार साबिक विजेता एनआरटी र चर्चव्बाइज बिच त्यो घेरालाई जोड्ने ऐतिहासिक रसायनको रूपमा फाइनल खेल हुँदै छ ।

गोल्डकपको २५औँ संस्करणसँगै आयोजक धरान फुटबल क्लब २७औँ वर्षमा लागेको छ । यो कालखण्ड खेलाडी जीवनमा लक्ष्य प्राप्तिको समीक्षा गर्ने एउटा विन्दु हो । क्लबको जीवनमा गोल्डकपको निरन्तरता, उपलब्धि, सफलता र भविष्य निर्धारण गर्ने माइलखुट्टी पनि हो ।

अढाई दशक अघि क्लबको स्थापना हुँदा जन्मिएकाहरू अहिले २५ वर्षका भएका छन् । उनीहरूका लागि बुढासुब्बा गोल्डकपको सुरुआत दन्त्यकथा जस्तो पनि हुनसक्छ । साधन स्रोत र सोचको समेत अभावका बेला धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको आयोजना काल्पनिक थियो ।

त्यस बेला गोल्डकप आयोजन गर्न १८-२० लाख रुपैयाँ जुटाउन कठिन हुने अवस्था थियो । अहिले त्यो खर्च १ करोडमा पुगेको छ । विजेताकै नगद पुरस्कार १ बाट १० लाख पुगेको छ । देशका तिन तहको सरकार आए पनि सरकारी क्षेत्रबाट कुनै लागि नहुँदा साधन स्रोत जुट्नै अवस्था पुरानै छ ।

तर धरानको प्रतिष्ठा, पहिचान बनेको बुढासुब्बा गोल्डकपलाई निरन्तरता दिइने जुन कार्य धरान फुटबल क्लबले गर्दै आयो त्यसको उच्च मूल्याङ्कन गर्नु पर्दछ । धरानलाई खेलकुदको सहरको नाममा, मिनि ब्राजिलको नाममा चर्चामा ल्याउने आयोजन पनि बुढासुब्बा गोल्डकप नै हो ।

यसको लागि क्लबको नेतृत्व गर्ने संस्थापक किशोर राई, दिवङ्गत सुवास राई र गोल्डकपको निरन्तरतालाई नेतृत्व गरिरहेका अध्यक्ष प्रताप तामाङ र अगुवात्रयको टिमको ठुलो योगदान छ ।

बुढासुब्बा गोल्डकपको प्रारम्भलाई वास्तवमा काठमाडौँ बाहिर फुटबलको लहर ल्याउने मानकको रूपमा पनि लिइनु पर्दछ । पूर्वमा बन्द भैसकेका गोल्डकप र नयाँ नयाँ गोल्डकप सुरु हुनुमा बुढासुब्बाको निरन्तरताकै प्रेरणा मान्न सकिन्छ ।

धरानमा स्कुल, विद्यालय देखी किशोर, किशोरी युवामा खेलकुदको पुनर्जागरण ल्याउन मात्र होइन आम धरानवासीमा खेलकुद प्रति आकर्षण बढाउन गोल्डकपले महत्पूर्ण भूमिका खेल्दै आएको छ । कुनै गोल्डकपको सुरुवाती वर्षहरूमा बुढासुब्बा फुटबल सुरु भएपछि पसल बन्द गरेर म्याच हेर्न जाने गरिन्थ्यो, बजार सुनसान हुन्थ्यो ।

बुढासुब्बाको मिति तय भएर प्रचार सुरु भएपछि बजारमा रौनक हुन्थ्यो । प्रचारका माइकिङमा घन्किने ‘बुढासुब्बा खेल हो यो हाम्रो शानको’ बोलको गानले गौरवपूर्ण अनुभूति दिने गर्दथ्यो । सात दिनसम्म सिर्जना हुने फुटबलको माहोलका कारण त्यस बेला देखी धरानलाई मिनि ब्राजिल भन्न थालिएको हो ।

गोल्डकपको लोकप्रियता प्रसिद्धि अहिलेको अवस्था सम्म आउँदा धरानको मैदानमा हुने फुटबल टिम र उनीहरू बिच हुन प्रतिस्पर्धाको चासो र चर्चा भन्दा ससाना कुरामा टिका टिप्पणी गर्ने प्रवृत्ति बढेका अनुभव गर्न थालिएको छ । यसबाट गोल्डकपलाई मिल्दै आएको सहयोग र सद्भाव हतोत्साहित हुने सम्भावना हुन्छ ।

उदाहरणका लागि यसपालिको २५औँ गोल्डकप चलिरहेको बेला सवारी पार्किङ शुल्कको विषयलाई लिएर सामाजिक सञ्जालमा गरिएको टिप्पणी लाई लिइन सकिन्छ । क्लबले खेलकुद संस्थालाई नै सहयोग हुने किसिमले पार्किङ शुल्क लिएर सवारी सुरक्षाको जिम्मेवारी धरानकै अर्को क्लबलाई दिएको थियो । त्यसमा प्रश्न उठाइएपछि पार्किङ शुल्क उठाउन बन्द गरियो ।

गोल्डकपलाई व्यवसायीक बनाउने तथा यसको निरन्तरताको चिन्ता गर्नेहरू पछिल्लो समय घटेको अनुभव गर्न थालिएको छ । धरानबाट युवाहरू मात्र होइन पूर्व गोर्खा र उनीहरूका आफन्त समेत विदेशीन थालेपछि बुढासुब्बाको रौनकमा कमी आउन थालेको हो ।

विदेश गएको उनै धरानेहरूका कारण पछिल्लो समय बुढासुब्बा गोल्डकपले शानदार रूपमा निरन्तरता भने पाइरहेको छ । यो कुरा गोल्डकप विजेता, उपविजेताको लागि पन्ध्रौँ लाख नगद पुरस्कार, आयोजना खर्च समेतका लागि विदेशबाट आइरहेको आर्थिक सहयोगले पुष्टि गर्दछ ।

गोल्डकप आयोजनाका लागि आवश्यक आर्थिक सहयोग धरानको स्थानिय व्यवसायीक क्षेत्रबाट ५० प्रतिशत घटेको छ । तिन तहको सरकार तथा खेलकुद निकायबाट जुन रूपमा बजेट विनियोजन गरिनु पर्ने हो त्यो अझ सम्म हुन सकेको छैन । अघिल्ला आयोजनाका लागि वचन दिएको बजेट समेत फ्रिज भएका छन् ।

खेलकुदमा धरानको पहिचानका लागि ठुला योगदान पुर्‍याउँदै आएको गोल्डकप आयोजन धरानकै व्यवसायीक क्षेत्रको अनुदानमा अझ अघि बढाउँदै जानु पर्ने हो । तर त्यसो भइरहेको भने छैन । धरानमा व्यापारिक कम्पनीहरू सामाजिक उत्तरदायित्वका खर्चबाट वार्षिक १ लाख अनुदान दिन सक्ने थुप्रै छन् । उनीहरूबाट गोल्डकपमा वार्षिक १ करोड बजेट बनाउन सकिन्छ ।

उद्योग वाणिज्य सङ्घले सुनसरी करिडोरको उद्योगहरूसँग वार्षिक अनुदान सम्झौताको पहल गर्न सक्छ । धरानको स्थानिय सरकार उपमहानगरपालिका सुरु देखी नै गोल्डकपको संयोजक रहँदै आएको छ । नेपालकै ठुलो प्रतियोगिताको निरन्तरता र स्थायित्वको प्रत्यभूतीस्वरुप कानुन नै बनाएर बुढासुब्बा गोल्डकपको स्वामित्व लिन सक्छ । तर त्यसो भइरहेको भने छैन ।

यो अवस्थाले काठमाडौँ बाहिरको नेपाली फुटबललाई व्यवसायीक बनाउने ठुलो प्रतियोगिता भने आफै व्यवसायीक बन्न सकेको देखिन्न । व्यवसायीक बन्न नसक्दा बुढासुब्बा गोल्डकप निरन्तरता पाइरहने निश्चितताको प्रत्याभूति कसैले गर्न सक्ने अवस्था छैन ।

यो कुरा क्लब आफैले बिहीबार प्रकाशित विज्ञप्तिमा भनी सकेको छ ‘बुढासुब्बा गोल्डकप धरानको ‘पहिचान’ हो भन्ने कुरा व्यापक रूपमा सुन्ने गरिएको छ । यसर्थ यस ‘पहिचान’लाई जोगाउने हो भने इमानदारिता पूर्वक सबैले सहयोग गर्नु पर्छ भन्ने हाम्रो बुझाई हो, अन्यथा गोल्डकपको निरन्तरताको बारेमा हामीले द्विविधा महसुस गर्न थालेका छौँ ।’

बुढासुब्बा गोल्डकप सुरु हुँदा २५ वर्ष अघि काठमाडौँ उपत्यका बाहिरका प्रतिभाले पहिले र अहिले पाउने व्यवसायीक अवसरले फुटबलले ठुलो फड्को मारेको छ । पछिल्लो समय खेलकुदले देशका पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न सक्छ भन्ने तथ्य राज्यले स्वीकार गरेको छ ।

यो अवस्थामा फुटबललाई व्यवसायीक बनाउन यहाँ सम्मको योगदान गर्दै आएको प्रतियोगिताको निरन्तरताप्रति आयोजकमा नै द्विविधा महसुस हुनु दुर्भाग्यपूर्ण स्थिति हो । तथापि आयोजक क्लबले यसको स्थायित्वका लागि अब अक्षयकोषको अभियानलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेको छ ।

समय अनुसार बढ्दै जाने आयोजना खर्च धान्न भने बुढासुब्बा गोल्डकप आयोजनालाई व्यवसायीक नाफामुखी बनाउनुको विकल्प भने देखिन्न । पछिल्लो समय खेलकुदको ठुलो आयोजन व्यवस्थापनमा नीजिक्षेत्रको लगानीको अभ्यास नेपालमा पनि हुन थालेको छ । प्रविधिको विकासले व्यवसायीक प्रवर्द्धनमा प्रत्यक्ष प्रसारणको महत्त्व बढेको छ ।

त्यसप्रति पनि आयोजक धरान फुटबल क्लबको ध्यानाकर्षण जरुरी छ । क्लबले अहिलेसम्म गोल्डकपको आयोजन-व्यवस्थापनमा संस्थागत तथा व्यक्तिगत विषयविज्ञ-संस्था, विज्ञको परामर्श लिएको थाहा भएको छैन । समय आइसकेको छ नेपाली फुटबलमा एउटा ब्राण्ड बनिसकेको ‘बुढासुब्बा गोल्डकप’को निरन्तरता, स्थायित्वका लागि व्यवसायीक व्यवस्थापनमा संस्थागत व्यवसायीक लगानीकर्ता, नाफामुखी व्यवस्थापकीय संस्थाको खोजीमा पनि लाग्नु पर्दछ ।