वराहक्षेत्रको कोकाह खोलाबाट धरान खानेपानी ल्याउने विषयमा वराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाका प्रमुखद्वय बिच समझदारी कायम भएको छ । जिल्ला समन्वय समितिका अध्यक्षको मध्यस्थतामा शनिवार भएको यो सम्झौता सुखद खबर हो । लिखित सम्झौता गरिने समझदारीको लिखत भैसकेको छैन । भएपछि त्यो सम्झौता अन्य नगरपालिकाहरूका लागि पनि दुरागामी परिणाम दिने उदाहरणीय बन्न सक्छ ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले खानेपानी समस्याको समाधानको खोजी गर्दै पछिल्लो विकल्प वराहक्षेत्रको कोकाह खोलालाई रोजे । त्यस अघि पनि खानेपानीको विकल्प खोज्न अभियान नचलाएका होइनन् । पछिल्लो कोकाह खोलाको अभियान निकै दिन चलेपछि मात्र थाहा भयो कोकाह धरानको सीमा क्षेत्रमा नभई वराहक्षेत्र नगरपालिका भित्र पर्छ ।

स्वाभाविक रूपमा ऐन, नियम, विधि र प्रक्रियाको कुरा उठ्नु थियो, उठ्यो । कोकाह अभियान सुरु गरिनु भन्दा अघि यस विषयमा ध्यान गएको भएर राम्रो हुन्थ्यो । स्थानिय सरकार उपमहानगरपालिकाले नगरवासीको हितका लागि अघि बढाउने योजना उपमहानगरपालिकाकै प्रचलित विधि र प्रक्रिया अनुसार कार्यान्वयनमा लैजानु पर्दथ्यो ।

मेयर साम्पाङको खानेपानी जसरी पनि खोज्ने, ल्याउने एकोहोरो तन्मयताको अघि योजनाका प्रचलित  विधि र प्रक्रियाले प्राथमिकता पाएन । त्यसलाई अहिले सम्म गम्भीर रूपमा हेरिएको थिएन । उपमहानगरपालिकाको कार्यपालिका बैठकको विवादको निहुँ जे भए पनि पृष्ठभूमिमा वडाध्यक्षहरूले विधि र प्रक्रियाकै कुरा उठाएका छन् ।

कोकाह खोलाको पानी धरान ल्याउने मेयर हर्क साम्पाङको महत्त्वाकाङ्क्षी योजना भएको बुझिन्छ । यसको अभियानका लागि साङ्गीतिक कन्सर्ट सम्म आयोजना गरेकाले कोकाहको पानीलाई उनले प्रतिष्ठाको विषय बनाएको बुझ्न सकिन्छ । तसर्थ यसलाई खानेपानीको अभियानमा सीमित नराखेर उपमहानगरपालिकाको विधि सम्मत योजनाको रूपमा अघि बढाउन जरुरी भएको छ ।

मेयर हर्क साम्पाङ र वराहक्षेत्रका मेयर रमेश कार्की बिच भएको समझदारीले कोकाह खोला खानेपानी अभियानलाई योजना उन्मुख गराएको छ भन्दा अतिशयोक्ति नहोला । समझदारी भए पनि त्यसको सैद्धान्तिक विषयमा दुवै नगरपालिकाको संयुक्त वक्तव्य सार्वजनिक भने भएको छैन । मिडियामा आए अनुसार समझदारीमा मुख्य रूपमा ४ विषयमा दुई नगरपालिका बिच सम्झौता हुनुपर्ने स्पष्ट गरिएको छ ।

पहिलो धरान उपमहानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि गरिएको संस्थागत निर्णय प्रस्तुत गर्ने । दोस्रो धरान खानेपानी बोर्डको संस्थागत निर्णय प्रस्तुत गर्ने । तेस्रो योजनाबाट प्रभावित हुनसक्ने धरान तथा वराहक्षेत्रका भूक्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार गर्ने र चौथो धरानमा ल्याइएको पानी शुल्क लिएर वितरण गर्न हो भने वराहक्षेत्रलाई त्यसको निश्चित प्रतिशत वराहक्षेत्रलाई भुक्तान गर्नुपर्ने विषयमा लिखित सहमति गरिने उल्लेख छ ।

समझदारी गरिएका चार विषयहरू मध्ये संस्थागत निर्णयका पहिलो र दोस्रो बुँदाले कोकाह खोलाको खानेपानी अभियान योजनाको लिखित योजनाको रूपमा अघि बढाउनु पर्ने कुरालाई अभिप्रेरित गरेको देखिन्छ । यसलाई यथाशीघ्र अघि बढाउने हो भने फास्ट ट्र्याककै योजनाको रूपमा संस्थागत निर्णय जरुरी हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रस्तावले योजना क्षेत्रका स्थानिय समुदायसँग सहकार्य जरुरी हुने निर्देश गरेको छ ।

चौथो समझदारीले धरानका खानेपानी उपभोक्ताहरूमा दिर्घकालिन असर पर्ने प्रकृतिको देखिएको छ । कोकाह खोलाबाट आएको पानी मात्रले धरानलाई धान्ने होइन । तर वराहक्षेत्र नगरपालिकालाई त्यहाँबाट आउने खानेपानीको निश्चित प्रतिशत कर बुझाउनु पर्ने अवस्था आएमा धरानको खानेपानी महसुल प्रभावित हुनसक्छ ।

दायरा भन्दा माथि महसुल बढाउन नमिल्ने अवस्थामा खानेपानी बोर्डको आम्दानीबाट वराहक्षेत्रलाई कर बुझाउनु पर्ने अवस्था आउन सक्छ । खानेपानी बोर्ड माथि खानेपानी सञ्जालको सुधारका योजना,  मरम्मत सम्भार र एडिबीको ऋणको साँवा व्याज भुक्तानको बोझ पनि छ । तसर्थ दुई नगरपालिका बिच हुने लिखित सम्झौतामा चौथो बुँदामा पूनःविचार हुन जरुरी देखिएको छ ।