कुकुर भुक्दै गर्छन् हात्ती हिँड्दै गर्छ, जत्ति थाल ठटाए पनि हात्ती तर्सिदैन, अर्थ न बर्थ गोविन्द गाई, टाउको दुखेको औषधि नाइटामा लाइ, यी र यस्ता उखानहरू अस्ति चैत्र २३ गते साँझ सामाजिक सञ्जालमा छ्याप्छाप्ती पढिए, सन्दर्भ थियो– आइतबारको रविप्रदोषमा दीपावली गर्ने कि नगर्ने ? परम्परागत सनातनीहरू दीपावलीका पक्षमा थिए भने आधुनिक र हिन्दुविरोधी चाहिं विपक्षमा । यसैमा जोडिएको थियो भारतीय प्रधानमन्त्री मोदीले- राती ९ः९ मा घरका सबै बिजुली बत्ती निभाएर दियो, मैन, टर्च, मोबाइल फ्ल्यास लाइट आदि जे भेटिन्छ त्यही बालेर कोरोना विरुद्ध लड्नलाई आत्मबल बढाउन गरेको आह्वान । त्यसै मेसोमा नेपालका धार्मिक अभियन्ता वासुदेवकृष्ण शास्त्री लगायतको साँझ ७ बजेबाट ९ बजेसम्म दियो बालौं भन्ने भिडियो सन्देश र त्यसमा कति सनातनीको साथ र सहयोग । यसैबीच अर्काथरि सनातनीका मुखबाट सुनिन्थ्यो– हामी सनातनी सधै साँझबत्ती बाल्छौं, हामीलाई कोही मोदी वा अमुक समाज/व्यक्तिको उत्प्रेरणा चाहिँदैन । यसको प्रतिक्रियामा अर्काथरि भनिरहेथे– अहिलेका कति सनातनी साँझ परेपछि भट्टीतिर छिर्छन्, एकदिन भए पनि साँझ सबै मिलेर दियो बालून् भनेर संझाएको नि ∕ अर्काथरिको चाहिं प्रतिक्रिया सुनिन्थ्यो– दियो बाल्दा र शङ्ख फुक्दा कोरोना भाग्ने भए भात न पानी भएर चौबिसै घण्टा खटिरहेका डाक्टर,नर्स र रातोदिन निदानको खोजीमा अनुसन्धान गरिरहेका अनुसन्धाताको चाहिं के काम ? यो सबै अन्धविश्वासको पराकाष्ठा, अर्काथरिबाट सुनिँदै थियो– भारतीय जनता पार्टीको स्थापना दिवसको पूर्वसन्ध्यामा मोदीले दियो बाल्न लगाएको रे...।

तपाईं भन्नुहोला- दियो बाल्दैमा र शङ्ख बजाउँदैमा महामारी भाग्ला ? एउटै उत्तर हुनेछ- पक्कै भाग्दैन, त्यसो भए मानिसहरू यसरी किन अफबाह फैलाउँदै छन् त, किन अन्धविश्वासलाई मलजल गर्दै छन् त ? म भन्छु-यो कर्म पनि ठिक छ, न यो अन्धविश्वास हो, न त अफबाह नै, बरु हो-मनोबल बढाउने माध्यम । जो मानिस- दियो बालेर पदार्थको नासमात्रै गरियो भन्दैछन्, ती पदार्थका कोणबाट विषयको प्रतिपादन गर्दैछन्, अर्थात् ती वस्तुवादीहरू कार्लमाक्र्सको सिद्धान्तबाट विषयविश्लेषण गर्दैछन्, ती भौतिक हुन् ।

जो चाहिं थाल ठटाएर हात्ती तर्सदैन भन्ने थाहा पाउँदा पाउँदै पनि दियो बाल्दैछन्, शङ्ख बजाउँदै छन्- ती भाववादी/अध्यात्मवादी हुन्, तिनमा फ्रायडको मनोविज्ञान पनि अलिकति मिसिन्छ । दियो बाल्नु, प्रार्थना गर्नु र सामुहिक पूजा गर्नु भनेको मानसिक छटपटी, तनाव, भ्रम, डर, पीडा, क्लेश, अनिद्रा, अरुचि, अन्यमनस्कता, हीनताबोध आदि हटाएर मानिसलाई सामाजसँग घुलमिल गराउने तथा फुल्याउने उपाय हुन् । पदार्थवादले वस्तु वा पदार्थभन्दा पर केही देख्दैन र भन्छ- वस्तु नै सर्वेसर्वा हो, यसभन्दा पर केही छैन, अध्यात्मवादीे चाहिं भन्छ- ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः’ अर्थात् मानिसलाई संसारको बन्धनमा बाँधेर राख्ने र फुकाउने पनि मन नै हो । तपाईं जतिबेला कुनै वस्तु देख्नुहुन्छ, त्यतिबेला सर्वप्रथम मनलाई सोध्नुहुन्छ, आँखाले मनसँग सोध्छ, हातले पनि सोध्छ– यो वस्तु के हो ? यो छुन हुन्छ कि हुन्न ? यो उपयोगी छ/छैन ?... वस्तु जस्तो होस्, पहिलो पटक देखिएकै किन नहोस्- सर्वप्रथम मनले धारणा बनाउँछ, छो/नछो, लिई/नलिई..., त्यसपछि मनले तपाईंका अङ्ग प्रत्यङ्गलाई जाँचबुझ गर्न लगाउँछ, अनि मात्र तपाईं त्यसतर्फ आकर्षित हुने/नहुने टुङ्गोमा पुग्नुहुन्छ, त्यसैले मन सबैको निर्देशक मानिएको हो । फ्रायड पनि मानिसका सकारात्मक/नकारात्मक क्रियाकलापमा अचेतनकै प्रभाव ९० प्रतिशतभन्दा बढी रहने भन्दै समुद्रमा तैरिएको बरफको टुक्रालाई उदाहरण दिन्छन् । प्रसङ्ग थियो दियो बालिएको र शङ्ख बजाइएको । दियो बाल्नु भनेको कोरोना वा अरु महामारीको उपचार गर्नु कदापि होइन, मनोबल बढाउनु मात्रै हो । साँझ पूजाकोठामा दियो बाल्दा हिन्दूहरू सधै-‘आत्मज्योतिप्रकाशाय दीपज्योतिर्नमोऽस्तु ते’ भन्ने गर्छन्, यसको अर्थ हो- आफूभित्र मधुरो भएको ज्योतिलाई अझ चहकिलो बनाउन हे दीपज्योति ∕ तिमीलाई नमस्कार गर्दछु ।

मन भुल्याउन खेल, साङ्गीतिक कार्यक्रम र अरु पनि विकल्प हुन सक्छन्, तर विपत्तिको समयमा घरबाहिरका उपायभन्दा धार्मिक-आध्यात्मिक प्रवचन, पारायण, योगसाधना, साहित्य रचना, प्रार्थना-पूजा आदि पुरानो पुस्ताका लागि बढी उपयोगी सिद्ध छन्, किनकि- बुढाबुढीहरुको मन पूजापाठ र न्यास-ध्यानतिर धेर जान्छ । यिनै काम सबैले गर्नुपर्छ भन्ने बाध्यता पनि केही छैन, आफूअनुकूल अरु पनि घरायसी उपाय हुन सक्छन् । २३ गते यस विकल्पको प्रयोग गरिएको मात्र हो ।

अब आफै भन्नुहोस्- ब्यारोमिटर (प्रेसर नाप्ने उपकरण) ले ज्वरो नाँप्न सकिएला ? जसरी थर्ममिटरको काम ब्यारोमिटरबाट गर्न सकिन्न त्यसरी नै आध्यात्मिक टुलको प्रयोग गरेर पनि भौतिक रोगको निदान गर्न सकिन्न, त्यसैले यो भौतिक उपचार हुँदै होइन भन्ने बुझ्नु राम्रो हुनेछ । अब भन्नुहोस्- जसले आफूलाई पदार्थवादी भनिरहेका छन् तिनका क्रियाकलाप पनि ९० प्रतिशतभन्दा धेरै अचेतन मनबाटै नियन्त्रित-निर्देशित छन्, यो कुरा त सर्वस्वीकार्य छँदैछ । के तिनलाई चाहिं मनोवैज्ञानिक उपचार चाहिन्न ? यसैका लागि मन्दिर, पूजास्थल, गुम्बा मस्जिद आदिमा सामुहिक प्रार्थना, सामुहिक दीप प्रज्वलन, शङ्खवादन आदि गरिएका हुन् ।

त्यसो त विश्वको दैनिक मृत्युको आँकडा हेर्ने हो भने १ मिनेटमा सय जनाभन्दा बढी मानिस मर्ने गरेको तथ्याङ्क वल्ड-ओ–मिटरले उल्लेख गरेको छ । यसरी हेर्दा १ लाख ४४ हजार मानिस प्रत्येक २४ घन्टामा मरिरहेका छन् । नेपालमै पनि दैनिक सयौं मानिस अरु नै कारणले मरि रहेका छन्, तिनका छेउमा कोरोनाको महामारी केही होइन । यसको सङ्क्रमण मृत्युदर पनि ३-४ प्रतिशत मात्र रहेको भन्ने विश्वस्वास्थ्य सङ्गठनको भनाइ छ, तर पनि एउटा अदृश्य वर्णसङ्कर भाइरसले संसारका शक्ति राष्ट्रहरुलाई समेत निरीह बनाउनु भनेको सानोतिनो घटना चाहिं पक्कै होइन ।

महामारीका समयमा मानिसका मनमा अनेक थरि कुरा खेलेका छन्, धेरैलाई डिप्रेसन भएको होला । जर्मनका प्रान्तीय अर्थमन्त्री थोमस स्केफरले त आत्महत्या नै गरे भन्ने समाचार आएको छ । इटालीमा कोरोना लागेकी एक नर्सले उपचारपूर्व नै आत्महत्या गरेको समाचार पनि छ । हामी नेपालीहरुको मनस्थिति पनि पटक्कै ठिक छैन, सामाजिक सञ्जाल र मिडियामार्फत चाहिने नचाहिने हौवा फैलाइरहेका छौं ।

सरकारले राखेको १४ दिने क्वारेन्टाइनमा बस्नु पर्ने मानिस आफ्नै स्वास्थ्यको पर्वाह नगरी झ्याल तथा पर्खालबाट भागि रहेका छौं । प्रशासनले घरमै बस्नुहोस् भनी गरेको अनुरोधलाई अवज्ञा गरी हामी समय-असमयमा लकडाउन हेर्न निस्किइ रहेका र तीनघन्टे सास्तीमा परि रहेका छौं । नेपालका धेरै अस्पतालले हिजोआज ज्वरो र रुघाखोकीका बिरामीलाई लिन मानिरहेका छैनन्, कतिले फोनबाटै सेवा दिइ रहेका छन्, अस्पतालमा त्यस्ता बिरामी आउँदा स्टाफको भागाभाग भयो भन्ने हल्ला पनि सुनिएको छ । यी सबै गतिविधि एक हदसम्म असामान्य मनोदशा नै हुन् । यिनलाई आध्यात्मिक भाषामा भन्ने हो भने आफूभित्रको उज्यालो मधुरो भई अँध्यारोले जितेको अवस्था हो ।

फ्रायडका शब्दमा भन्ने हो भने- अचेतनको प्रभाव । हामी सुनेका, देखेका र प्रमाणित भएका भन्दा- अतृप्त, हल्लाका रूपमा आइपुगेका, अप्रत्यक्ष बुझिएका र अप्रमाणित कुरालाई चाडो लिन्छौं अनि दिमागी स्टोरमा भण्डारण गर्छौं । हामो जीवनमा तिनको नजानिँदो तर गहिरो प्रभाव परि रहेको हुन्छ । जसका कारणबाट मानिस डिप्रेसनमा पुग्ने, आत्तिने, बलात्कार र हत्यामा संलग्न हुने, आत्महत्या गर्ने अवस्थामा पुग्दछ । यी सबैको निदान भनेको मानसिक शान्ति तथा आत्मबलको विकास हो । कसैलाई बिहानभरि पूजापाठ गर्दा शान्ति मिल्छ त कसैलाई सुत्दा, कसैलाई दियो बाल्दा आनन्द आउँछ त कसैलाई शङ्ख बजाउँदा र प्रार्थना गर्दा । यो काम सामूहिक गरिँदा अझ बढी शक्ति र आनन्द मिलेको अनुभव मानिसलाई हुन्छ । त्यसैले होला- इस्लामहरु हरेक शुक्रबार र क्रिस्चियनहरु आइतबार सामूहिक प्रार्थना-पूजा–भजन गर्छन्, बौद्ध लामाहरू महिनाको एक पटक भेला भई पद्मसम्भवको आराधना गर्छन्, हिन्दूहरू पनि नवरात्रमा र अरु पनि पर्व–उत्सवहरुमा तथा आपत्विपत्मा एकै समयमा प्रार्थना पूजा र आराधना गर्दछन् । यो मूलतः मानसिक शान्तिका लागि गरिएको कर्म हो भनेर बुझ्दा उपयुक्त होला । गौतम बुद्धले ‘अप्पदिपो भव’ अर्थात् दियोजस्तै उज्यालो बन भन्नुको तात्पर्य मानिसमा अँध्यारो देखेर नै हुनुपर्दछ । त्यस अँध्यारोलाई चिर्न सामूहिक दीप प्रज्वलन गरिनु, अझ एक देशमा मात्र नभई संसारभरि नै गर्नु झन् सुन्दर कार्य हुनेछ ।

अहिले धेरै सङ्क्रामकहरु तन्दुरुस्ती अवस्थामै हरेश खाएर इम्युन पावरलाई कमजोर बनाइ रहेका छन्, रोगीका आफन्तहरू- हे डाक्टर, हे भगवान् ∕ मेरा प्रिय मान्छेलाई बचाइदेऊ भनेर साँझबिहानै प्रार्थना गरिरहेका छन्, जसले बुहान, स्पेन, न्युयोर्क, फ्रान्स, इरान र इटालीको त्रासदी देखेका छन् तिनीहरुको आत्मबल कस्तो होला ? के तिनलाई बाँच्ने र हाँस्ने आत्मबल चाहिएको छैन ? तिनलाई मृत्यत्रासबाट बचाउन र तिनलाई दह्रो बनाउन सबैको सामूहिक प्रार्थना, पूजा, दीपप्रज्वलन वा यस्तै आत्मबल बढ्ने उपाय चाहिएको छैन ? यस्तो प्रार्थनाको वा पूजाको आह्वान ट्रम्प, मोदी, ओली, पुटिन, मौलाना, भिक्षु, पोप जसले गरे पनि के फरक पर्ला र ?

म त भन्छु- संसारका अरू पनि धर्मावलम्वीहरूले वा राष्ट्रप्रमुखले यस्तो दारुण महामारीको चपेटामा परेका मानिसको आत्मवल यसरी नै बढाउनु पर्छ । समय समयमा उत्साह तथा हौसला दिएर मानिसलाई बलियो बनाउनुपर्छ र डरले थर्थरि काँपि रहेका मानिसलाई हाँस्ने, रमाउने, पीडामा मन भुल्याउने अनि मृत्युसँग पनि हाँसिहाँसि पौंठाजोरी खेल्न सिकाउने तागत दिलाउनुपर्छ ।