धरान: कोशी प्रदेश प्रमुख परशुराम खापुङले धरान–२० विष्णुपादुकमा व्यवसायीक कफी खेतीको सम्भावनाबारे स्थानीय कृषकहरूसँग छलफल गरेका छन् ।   
विष्णुपादुका स्थित कफी तथा कृषिउद्यम केन्द्रको अनुगमन एवं अवलोकन गर्न बुधवार आएका प्रदेश प्रमुख खापुङले स्थानीय कृषकहरुंग कफी खेतीको सम्भावना बारे छलफल गरेका हुन । विष्णु पादुक बेसार र अदुवा उत्पादनको लागि प्रख्यात रहँदै आएको
छ ।
परम्परागत कृषि उत्पादनमा विविधीकरण गर्दै स्वदेशी तथा विदेशी बजारमा सहज पहुँच हुने नयाँ उत्पादनको सम्भावना बारे उनले कृषकहरूसँग छलफल गरे । प्रदेश प्रमुख खापुङले भने ‘स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदे बाली उत्पादनमा उन्मुख हुनुपर्ने बेला आएको छ ।’ 
प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिने सम्भावना रहेको उनको भनाई थियो । प्रदेश प्रमुख खापुङले भने ‘कफीको ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने अवस्था छ ।’
कफीसँगै स्थानीय कृषकहरूको सहकार्यमा स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदे बाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।  
केन्द्रका निर्देशक अञ्जना राईले युवाहरू उद्यमतर्फ आकर्षित गराउन कृषि उद्यम केन्द्र खडा गरेको जानकारी दिइन् । स्थानीय कृषकहरूलाई उद्यमतर्फ लाग्न तालिमको अवसर जुटाउन साथै कृषि पेशा बाट नै देश समृद्ध बनाउन सम्भावना रहेको जनचेतना जगाउने कार्य भइरहेको उनले बताइन् ।
वडा २० का वडाध्यक्ष पदम लिम्बूले कृषितर्फ तीनै तहको सरकार उदासीन रहेकोले आवश्यक सहयोग पर्याप्त रूपमा जुट्न नसकेको बताए । पूर्व वडाध्यक्ष मणिराम राईले विष्णु पादुकामा स्थापित उद्यम केन्द्रमा राज्यको ध्यान जान जरुरी भएको बताए । कार्यक्रम केन्द्रका अध्यक्ष बलजीत राईको सभापतित्वमा भएको थियो