सङक्रामक रोग तीव्र गतिमा फैलिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । बजार यातायात मठ मन्दिर आदि सामान्य देखिन्छन् । अहिले घरघरमा छलफल र बहसको विषय बनेको छ शिक्षा क्षेत्र ।

भेलीपल्ट बिहान देखि हुने SEE परिक्षा अघिल्लो दिन बेलुका स्थगन गरियो । शिक्षा क्षेत्रमा रहेको सरकारी अदूरदर्शिता, अव्यवहारिकताको पछिल्लो प्रश्थानविन्दु यसैलाई मान्दा हुन्छ । त्यो घटनाले कति आर्थिक क्षति भयो ? परिक्षार्थी, विद्यार्थी र तिनका अभिभावकले कति लामो समयसम्म त्रास र तनाव भोग्नु पर्यो । त्यसको लेखाजोखा भौतिक रूपमा मात्रै हुन सक्दैन । त्यसले परेको मनोबैज्ञानिक असर भोग्नेलाई थाहा छ । SEE को निकास पाउन झण्डै अदा बर्ष लाग्यो ।

वैशाख देखि विद्यालयीय शैक्षिक सत्र सुरु हुन्थ्यो सहज अवस्थामा । अहिलेको रोगका कारण त्यो सम्भव भएन । महामारीको बीचमा पनि विद्यालयहरुले प्राविधिक, यान्त्रिक कक्षा आंशिक रूपमा सञ्चालन गर्ने प्रयत्न गरे । यस्ता कक्षा सञ्चालन गर्न निजी विद्यालयहरुको अग्रसरता देखियो । प्रविधिको सहज पहुँच भएका ठाउँमा त्यस्ता क्रियाकलाप प्रभावकारी पनि देखिएका छन् । नयाँ कामको थालनी पूर्वाधार विना पूर्ण सफल हुॅदैन भन्ने हेक्का यहाँ पनि राखिएको पाइएन । सम्भाव्यता नहेरी थालिएको कामले पूर्णता पाउँछ भन्ने आश गर्नु व्यवहारिक होइन भन्ने कुरा परिणामले देखाएकै छ ।

अहिले सङ्क्रमण दर दैनिक रूपमा गुणात्मक हिसाबले बढ्दै गएको तथ्य सरकारी आधिकारिक निकायहरुबाट नै बाहिर आइरहेको छ । यति बेला रोग आक्रमक रूपमा फैलिने कुरा बिज्ञहरुको छ । सबै किसिमका विद्यालयहरु खुल्दैछन् । अस्ति हुॅदै गरेकै प्राविधिक पढाइ नहुने कुरा पनि छ । देशका दूरदराजका विद्यालयहरुको अवस्था के छ ? जेठ असार देखि आंशिक रूपमै भए पनि सञ्चालित कक्षाको शुल्क कति लिने ? कति दिने ? यसको स्पष्ट उत्तर कसले दिन्छ ? अध्यापनमा सहभागी भएका निजी विद्यालयका शिक्षकहरुको पारिश्रमिकको स्पष्ट स्वरूप कहाँ पाइन्छ?

ती शिक्षक कर्मचारीको पीडा सुन्ने र आश्वासन होइन, खानपानकै प्रबन्धको सुनिश्चितता कसले गर्नु पर्छ? आर्थिक सङ्कटले गाॅजेका अभिभावक र मनोबैज्ञानिक त्रासले खुम्चिएका विद्यार्थीहरुका आवाज क-कसको कानमा पुग्नु पर्छ? निर्देशन गर्नु र व्यवस्थापन गर्नु एउटै हो ? कि भन्न जस्तो सजिलो गर्न हुॅदैन ? भन्ने हेक्का पनि राख्नु पर्छ । विद्यालयको भौतिक अवस्थाको निरिक्षण कसले गर्छ ? हरेक विद्यार्थीका बीचको दूरी दुई मिटर कायम गर्दा पच्चिस जना विद्यार्थी राख्ने कक्षा कोठा कत्रो चाहिन्छ? यस्तो सङ्कटमा विद्यालयले तत्काल व्यवस्थापन गर्न सक्छ ?

यो महामारीले संसारलाइ लामै समय सम्म दुःख दिन्छ भन्ने कुरा सुरु देखिनै आएको हो । हामी लामो समय बन्दी नै भयौँ । सरकारी सम्यन्त्रहरु थिए र छन् । तिनीहरु जे जसरी भए पनि चलेकै देखिएका छन् । नीति निर्माण देखि कार्यान्वयन सम्म राज्यकै अग्रसरता चाहिन्छ । अहिले गाउँ गाउँमा सरकार छ भनिन्छ, सरकार के गर्दै छ ? जनस्वास्थ्य जस्तो अत्यन्थ सम्वेदनशील विषयलाइ अति सामान्य ठानेर अन्य विषय तिर हाम्रो ध्यान केन्द्रित भएको देखिन्छ । यो ज्यादै गम्भीर र घातक कुरा हो ।

शिक्षाका सन्दर्भमा भौगोलिक, आर्थिक, शैक्षिक विविधताको अध्ययन गरेर शिक्षणमा पनि यस्तो विषम परिस्थितिमा बहुविधि नै अपनाउनु पर्ने देखिन्छ । व्यवसायहरु सुचारु हुॅदा मुलुकको आर्थिक गतिविधि पनि चलायमान हुन्छ, यो जानेकै कुरा हो । अहिलेको परिस्थिति असामान्य छ । यस्तो अवस्थामा सबै तिर विद्यालयमै पठनपाठन गाराउने कुरा हरेक दृष्टिले सहज देखिदैन । परिस्थिति सहछ नहुॅदा अपनाइने विकल्पहरु हुन्छन् । खास गरी माध्यमिक विद्यालय सॅग सम्बन्धित शिक्षण समस्या समाधानका लागि आवश्यक गृहकार्य गरेको भए पनि त्यो पूर्ण व्यवहारिक देखिएन ।

कोभिडका कारण सिर्जित त्रास र समस्याहरु अनेक छन् । व्यक्तिगत , पारिवारिक, सामाजिक, शैक्षिक, आर्थिक, मनोबैज्ञानिक आदि क्षेत्रमा यसको प्रभाव परेकै छ । ती सबै क्षेत्रहरु सामान्य हुन समय लाग्छ नै । वर्तमान समयमा विद्यालय सञ्चालन गर्दा र नगर्दा पनि समस्या त छन् । तिनलाइ सकेसम्म न्यून र सामान्य बनाउनका लागि निम्न उपायहरु अवलम्बन गर्दै जान सकिएला ।

१. शैक्षिक, आर्थिक, भौतिक दृष्टिले विद्यालयहरुमा विविधता छ । तिनका समस्या र सम्भाव्यता हेरी पठनपाठनलाइ सहज बनाउन विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी प्रतिनिधिका बीचमा छलफल गर्ने ।
२. स्थानीय सरकार सॅग भएको सहमति, सम्झौता कार्यान्वयनमा सबैले भूमिका निर्वाह गर्ने ।
३. विद्यालयलाई दोहोरो भार नपर्ने, विद्यार्थी सङ्ख्या पनि विद्यालयमा सिमित उपस्थिति हुने कुरा विचार गर्दा प्रविधिमा पहुँच भएका र नभएका विद्यार्थीहरुको बर्गीकरण गर्ने ।
४. प्रविधिमा सहज पहुँच नभएका विद्यार्थीहरुलाइ कक्षामा उपस्थित गराइ पढाउॅदा त्यहीबाट प्रविधि सम्योजन गरी घरमा बसेका विद्यार्थीहरुलाई पनि कक्षामा सहभागी गराउने ।
५. शुल्क निर्धारणमा एकरूपता होस् भन्ने कुरामा ध्यान दिने ।
६. सिकाई मुल्याङ्कनका विकल्पहरु अपनाउने र मुल्याङ्कन विधि निर्धारण गर्ने ।
७. विद्यार्थीले अनुभव गरेको एक्लोपन मनोबैज्ञानिक त्रास न्यून गरी उनीहरुमा आत्मबल र सचेतना अभिवृद्धि गर्न सबैले ध्यान दिने ।
८. विद्यार्थीहरुलाई पनि अनुभव आदानप्रदान गर्ने अवसर दिने ।
९. विद्यार्थीले आर्जन गरेको ज्ञान र सीप विकासलाइ प्राथमिकता दिई सैद्धान्तिक एवं व्यवहारिक कुरा अभिव्यक्त हुने गरि गृहकार्य दिने ।

विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, हामी सबै यही समाजका सदस्य हौँ । अहिलेको विषम परिस्थितिमा भावनात्मक एकता राखेर सहकार्य गरौँ । आफुले सकेको योगदान गर्नु हामी सबैकै दायित्व नै हो ।