धरान : तत्कालीन राणा शासकले दशैं नमानेको आरोपमा बि. स. १८६७ सालमा मारिएका धनकुटाका रिदामा र राम्लिहाङको प्रतिमा स्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

किरात आठपहरिया केन्द्रीय कार्यसमितिको आयोजनामा सांस्कृतिक सहिदको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा किरात आठपहरियाका केन्द्रीय अध्यक्ष सारकुमारी आठपहरियाले दशैं मान्दिन भनेको अवस्थामा झुन्ड्याएर मारेको बताए ।

राणा शासकले लछारपछार गरेर छाला काटेर नुन चुक लगाएर अन्त्यमा झुन्ड्याएर मारेको बताए । यसरी मारिएकालाई सहिद घोषणा गर्न माग गरे । सारकुमारीले संभवत रिदामा राम्लिहाङ नेपालकै पहिलो सहिद भएको पनि दाबी गरे । नेपाल सरकारले लखन थापालाई पहिलो सहिद घोषणा गरेको भन्दै रिदामा राम्लिहाङलाई सहिद सम्म घोषणा नगरेको बताए ।

किरात आठपहरियाका केन्द्रीय उपाध्यक्ष चन्द्र आठपहरियाले आठपहरियाको आफ्नै मौलिक भाषा संस्कार संकृती रहेको भन्दै दशैं मान्दैनौ भनेकोले नै मारिएको बताए । उनले रिदामा राम्लिहाङ पनि मुन्धुमधारी भएकै कारण प्रशासनले अगुवाइलाई नै मारेको बताए ।

पूर्व संयोजक दिनेश आठपहरियाले आठपहरिया धनकुटा मात्र भएको र यहीका मूलवासी भएकोले यही राज्य चलाएर बसेको बताए । आठपहरियाको किपट धनकुटामा अन्य जातजातिलाई समेत आश्रय दिएर राखेको बताए । धनकुटामा अन्य जातिको मृत्यु हुँदा संस्कार गर्न अघि आठपहरियाबाट जग्गा मागेर मात्र संस्कार गर्ने प्रचलन भएको पनि बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष सन्तवीर लामाले धनकुटामा नेपाल आदिवासी जनजाति महासङ्घमा १७ वटा जातीय संस्था रहेको भन्दै सहिद घोषणाको लागि सबैले दबाब दिए अवश्य पनि सम्भव हुने बताए ।

मङ्गोल नेशनल अर्गनाइजेसनका प्रदेश १ अध्यक्ष शक्ति चाम्लिङले रिदामा राम्लिहाङलाई सहिद घोषणा गराउनको लागि एमएनओले मात्र गर्न सक्ने बताए । यदि अन्य राजनीतिक दलले गर्ने भए आजसम्म गरिसक्ने बताए ।

श्रद्धाञ्जली सभामा आठपहरिया भाषामा नोबल आठपहरिया र बिचा आठपहरियाले श्रद्धाञ्जली शब्दका गीत गाएका भएका थिए ।

आठपहरिया समाजका सचिव सन्देश आठपहरियाले दशैं जबर्जस्ति लादिएको बताए । रिदामा र राम्लिहाङले आठपहरियाको आफ्नै चाड वडाङ्मी मङ्सिरे चाड छ त्यो नै मनाउने भन्दा राणा शासकद्वारा मारिएको बताए । उनले रिदामा राम्लिहाङलाई मारेपछि उनीहरूकै आलो रगतले आठपहरियाको सबैको ढोकामा हातको छाप लगाएको बताए । तेतिबेलाको प्रहरी प्रशासनले आइन्दा देखी दशैं मान्नुपर्ने नमाने यस्तै हालत बनाउने भनेर त्रास देखाई दशैँ लादेको दाबी गरे ।

तत्कालीन राणा शासकले नवमीको दिन मार हान्दा सुराकी पठाएर ककसले दशैं माने नमानेको हेर्ने क्रममा पुजारी द्वय आफ्नै संस्कार अनुसार चोङ्सोङमामा पानी चढाउने बेला पक्राउ गरी लछारपछार गरेर अन्त्यमा झुन्ड्याएर मारेको उल्लेख छ । उनीहरूकै सम्झनामा धनकुटा नगरपालिकाको चुली बनमा भएको चोङ्सोङममा दुई जनाको प्रतिमा केही वर्ष अघि देखी निर्माण गरिएको छ । त्यही स्थानलाई हाल झुन्डुवाको नाम दिएको छ ।

सांस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई बेलायतका अभियन्ताहरूले पनि सम्झिए
सांस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरियालाई बेलायतका सांस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् ।

Uk

सहादत प्राप्त गरेको १४५ औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई सांस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् ।

हिन्दुहरूको ठुलो चाड मध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा सांस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शासकहरूबाट मारिएका रिदामा र राम्लिहाङको स्मरण गरिएको अभियन्ता विश्वासदीप तिगेलाले बताए । धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १४५ र्औँ स्मृति दिवसको अवसर पारेर बिहीबार आसफोर्डमा स्मृति सभा राखिएको उनले जनाए ।

‘हिन्दू शासकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ किरात याक्थुङ चुम्लुङ युकेका पूर्व सचिव तिगेलाले भने, ‘गैर हिन्दु आदिवासी मूलवासीमाथि थोपरिएको सांस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो ।

यस कारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहु जातीय, बहुसाँस्कृतिक र बहु धार्मिक मुलुक भए पनि एकल सांस्कृतिक नीतिका कारण अझै पनि अल्पसङ्ख्यकहरू अन्यायमा परेको बताए ।

यसै गरी, सभामा बोल्दै अर्का अभियन्ता आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घ, युकेका संयोजक अमित थेबेले सहिदहरूको बलिदानलाई शक्तिमा रूपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिएको बताए ।

उनले विगत तीन वर्षदेखि प्रत्येक साल यसै समयमा सहिदहरू रिदामा र राम्लिहाङको सम्झना गरिएको जानकारी दिए । ‘गोर्खाली राजा र राणा शासकहरूले जारी गरेको रुक्का र इस्तिहारले लिम्बुवान क्षेत्रमा रहेका याक्थुङ लिम्बु, आठपहरिया, याक्खा लगायतका सबै आदिवासी र गैर हिन्दु समुदायहरूलाई अनिवार्य रूपमा दसैँ मान्ने र पशु वली दिनुपर्ने बाध्यता सिर्जना गरेका थिए ।

अवज्ञा गर्नेहरू दण्डित हुने पनि गर्थे,’ उनले भने, ‘यसैको सिलसिलामा रिदामा र राम्लिहाङले आफ्नो मौलिक पहिचान नछाडेको देखेर हिन्दू शासकहरूले धनकुटाको चुली वनमा लगेर झुन्ड्याएर मारे ।’ लिम्बु पत्रकार सङ्घ युके अध्यक्ष समेत रहेका थेबेले राज्यसत्ताले दसैँलाई सांस्कृतिक नभएर राजनीतिक पर्वका रूपमा प्रश्रय दिएर अन्य धर्मावलम्बीहरूलाई अन्याय गरिरहेको आरोप लगाए ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष गणेश इजमले तीन दशकभन्दा बढी समयअघि नै चुम्लुङले संस्थागत निर्णय गरेर मौलिक चाडहरूबारे समुदायलाई सुसूचित गरिरहेको बताए । ‘राज्यसत्ताले राजनीतिक अभीष्ट पूरा गर्न दसैँलाई अस्त्र बनाएको जगजाहेर छ ।

हाम्रा मौलिक चाडहरूको संरक्षण र प्रबद्र्धनका कुरा गरिरहेका छौँ । यस कारण हामीले राजनीतिक, सांस्कृतिक र भाषिक आधिपत्यका लागि थोपरिएका चाडहरूलाई अपनत्व ग्रहण गर्न सकेका छैनौँ,’ उनले भने, ‘पहिचानको आन्दोलनमा लागेका समुदायले झन् इतिहास र वर्तमानको लेखाजोखा राख्नुपर्छ ।’ याक्थुङ भाषाका सर्जक इजमले सद्भावका लागि सबै चाडपर्व, भाषा र संस्कृतिहरूलाई राज्य र फरक समुदायले समानताको दृष्टिकोण राखेर व्यवहार गर्नुपर्नेमा जोड दिए ।

सभामा उपस्थित वीरेन तिगेलाले आफ्नो अस्तित्व र पहिचानको विषय जहाँ बसे पनि महत्त्वपूर्ण हुने बताए । युकेमा सन् २०१९ देखि अभियन्ताहरू विश्वासदीप तिगेला, गायक ब्रबिम सेर्मा, किरात धर्म तथा साहित्य उत्थान सङ्घ युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, युमा साम्यो अभियन्ता अमित थेबे, व्यवसायी जितेन्द्र चेम्जोङ, चाम्लिङ खाम्बातिम युकेका पूर्व अध्यक्ष पदम राई, लिम्बुवान राजनीतिकर्मी नवराज काम्वाङ लगायतले सांस्कृतिक सहिद स्मृति सभा राख्न सुरु गरेका थिए ।