धरान : धरान ४ खैरेनीटार स्थित ढुंगेकला पार्कमा निर्मित अहिले सम्मकै लामो पर्यटकीय चौतारा आज शनिवार बिहान धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले उद्घाटन गरेका छन् । 
धरानका माङधाने देवी थाने हुक्पाचोङबाङ परिवारको ८ लाख रुपया भन्दा बढीको लगानीमा निर्मित चौतारा ८० फिट भन्दा लामो छ । आधुनिक संगमरमर ढुङ्गाले बनेको चौतारा वर्षामा पानी छेक्ने छाना सहित बनेको हो । 
एक पटकमा १०० जना मानिस अटाउन सक्ने चौतारामा निर्माणकर्ता परिवारको सङ्ख्या अनुसार ११ वटा फलामका सिलाम साक्मा बनाइएका छन् । त्यसेको आधारमा चौताराको नाम सिलाम साक्मा चौतारा राखिएको हो ।
हुक्पाचोङबाङ ८ दाजुभाई र ३ चेलीको परिवारीक सहयोगमा स्वर्गीय पिता पासाहाङ हुम्पाचोङबाङ र आमा स्वर्गीय नरमाया कुरुम्बाङ हुक्पाचाङबाङको स्मृतिमा निर्माण गरिएको हो । सुविधाजनक आधुनिक चौताराको निर्माणले पार्क अवलोकन गर्न आउने आगन्तुकहरूका लागि विश्राम गर्ने, फोटो सेशन गर्ने सुविधा उपलब्ध भएको छ । 
उद्घाटन समारोहमा कार्यवाहक प्रमुख बेघाले भने ‘धरानमा हुम्पाचोङबाङ परिवारले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय छ ।’ सडक,ढल निर्माणका विकासे कार्य देखी धार्मिक, सांस्कृतिक भौतिक निर्माणको कार्यमा उनीहरूको योगदान उल्लेखनीय रहेको उनले बताए ।
बेघाले चुम्लुङका नवनिर्वाचित केन्द्रीय सदस्य मोहकुमार हुम्पाचोङबाङले माथिल्लो सुलिकोटमा याकथुङ यकस्थल सम्म पुग्नै ढुङ्गाको पैदल मार्ग निर्माण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थापना गरेको स्मरण गरे । पछिल्लो पटक ढुंगेकला पार्कमा न्यूनतम पर्यटकीय सुविधाको रूपमा चौतारा निर्माण उल्लेखनीय रहेको बताए ।
हुक्पाचोङबाङ दाजुभाईको माङधाने देवी थाने परिवारका अध्यक्ष प्रेम प्रकाश हुक्पाचोङबाङले अहिले सम्म हुक्पाचोङबाङ दाजुभाईले माता पिताको स्मृतिमा ३ स्थानमा चौतारा निर्माण गरेको बताए । उनका अनुसार विजयपुर स्थित हुक्पाचोङबाङ पर्यटकीय स्थल, चुम्लुङ हिम परिसर र तेस्रो सबै भन्दा लामो चौतारा ढुंगेकला पार्कमा बनेको हो ।
निर्माण समिति सदस्य बौद्धमान हुक्पाचोङबाङले दाजुभाईको सहयोगले माता पिताको स्मृतिमा पर्यटकीय स्थलमा अवलोकनकर्ताहरूलाई विश्राम स्थलको आवश्यकता पुरा गर्ने कार्य भएकोमा गौरवको अनुभूति भएको बताए ।
लिम्बु सांस्कृतिक परिषद्का केन्द्रीय उपाध्यक्ष काकालिका हुक्पाचोङबाङले पुर्खाहरूले सुरु गरेको चौतारा निर्माणको परम्पराले आधुनिक युगमा पनि नयाँ उपयोगिता सिद्ध गरेको बताए । धरान–४ का पूर्व धनबहादुर राईले नवनिर्मित चौताराले पार्कको आकर्षण र सुविधा बढाएकोमा खुशी प्रकट गरे ।
simal-sakma-11