इटहरी : यातायात व्यवस्था कार्यालय इटहरी र मालपोत तथा नापी कार्यालय इनरुवाबाट १७ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार,सार्वजनिक  सेवा प्रवाहमा सर्वसाधारणलाई हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरिएको हो । 

नागरिकलाई रकम माग्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने ५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सुवास हमालले बताए । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।  

त्यस्तै सुनसरीको इनरुवा मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयबाट समेत १३ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार अहिले नियन्त्रणमा लिएर यकिन गर्ने काम भइरहेको छ । मालपोत, नापी, यातायात लगायतका कार्यालयहरूमा बिचौलियाले सर्वसाधारणलाई दुख दिने गरेको गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।