धरान : नेपाल सरकारको शासकीय सुधार कार्यसूची अनुरूप सेवा प्रदान गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १३ बुँदे सुधार निर्णयहरू सार्वजनिक गरेको छ ।
सुधारका अन्तिम बुँदामा प्रतिष्ठान अस्पतालका बिग्रिएका औजार तथा उपकरणहरूको मर्मत कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको उल्लेख छ ।
प्रतिष्ठानद्वारा जारी विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधार कार्यसूचीको स्वास्थ्य सेवा सुधारका विषयमा प्रतिष्ठानको उच्चस्तरीय बैठकले उक्त निर्णयहरू गरेको हो । बैठक प्रतिष्ठानका उपकुलपति विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।
प्रतिष्ठानले निःशुल्क बेड सेवा पारदर्शी बनाउन तत्काल तथ्याङ्क देखिने विद्युतीय प्रणाली सञ्चालन गर्नेछ । बिरामी सिफारिस, पुनः जाँच तथा उपचार समन्वय प्रभावकारी बनाउन “बिरामी प्रेषण राष्ट्रिय निर्देशिका-२०८१” पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
कर्मचारी उपस्थिति व्यवस्थित बनाउन जैविक पहिचान आधारित हाजिरी प्रणाली थप कडाइ गरिनेछ । त्यसको अनुगमनका लागि समिति गठन गरिएको छ । अस्पतालको सरसफाइ तथा आधारभूत सेवा मापदण्ड सुधारका लागि छुट्टै अनुगमन समिति पनि गठन गरिएको छ ।
अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात तथा मूल्य दर विवरण देखिने अस्पताल परिसर र आधिकारिक वेबसाइटमा सार्वजनिक गरी पारदर्शी गरिनेछ ।
जलनका बिरामीहरूलाई आधारभूत स्वास्थ्य सेवा तथा बेड निःशुल्क गर्ने निर्णय गरिएको छ । बिरामीसँगको व्यवहार सुधार गर्न 'मुस्कानसहित सेवा' अभियान प्रभावकारी बनाइने छ ।
सेवा प्रवाहलाई छरितो बनाउन टिकट प्रणालीलाई थप व्यवस्थित गरिनेछ भने ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका सेवाग्राहीलाई प्राथमिकता दिने व्यवस्था सुदृढ गरिनेछ ।
गुनासो तथा सुझाव व्यवस्थापनका लागि 'हेलो बीपीकेआईएचएस' अनलाइन पोर्टलसँगै द्रुत प्रतिक्रिया दिने डिजिटल प्रणाली लागू गरिने र गुनासो पेटिकाको सङ्ख्या बढाइने निर्णय गरिएको छ।
त्यसैगरी, बिग्रिएका औजार तथा उपकरणहरूको मर्मत कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने प्रक्रिया अघि बढाइएको छ ।


































































