धरान : धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालय भकारी स्कुललाई चन्द्र संस्कृत माविमा मर्ज गरेर त्यहाँ धरान नगर अस्पताल सञ्चालन गर्ने कुरा सार्वजनिक भएपछि स्थान विवाद बढेको छ ।
अधिकांश धरानवासी सरोकारवालाहरूले पुरानो अस्पतालकै जग्गा फिर्ता ल्याएर सोही स्थानमा नगर अस्पताल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् ।
भकारी स्कुलमा अस्पताल चलाउन आँटेको आशङ्कामा सरोकारवालाहरूले आज आइतबार उपमहानगरपालिकामा पुरानो अस्पतालमै नगर अस्पताल स्थापना गर्नुपर्ने माग दोहोर्‍याए। छलफलमा कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले भने ‘नगर अस्पताल निर्माणका विषयमा मनपरी र मनलाग्दी नबोल्न आग्रह गरे ।’
भकारी स्कुलमै नगर अस्पताल चलाउने नखुलाई उनले भने ‘‘धराने जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन छिटोभन्दा छिटो १५ दिनभित्र नगर अस्पताल सञ्चालनमा ल्याउने विषयमा म प्रतिबद्ध छु ।’ धरानमा नगर अस्पताल बनाउन आफ्नो ठुलो हुटहुटी रहेको बताउँदै उनले भने ‘पुरानो अस्पताल रहेको स्थानमै नगर अस्पताल बन्नुपर्छ भन्ने पक्षमा म पनि छु, तर २०७४ सालमा उक्त जग्गा बिपी प्रतिष्ठानको नाममा गएको यथार्थलाई बिर्सन मिल्दैन ।’
नगर अस्पताल निर्माणमा आफू प्रतिबद्ध भएको, त्यसको लागि कहाँ जानुपर्ने छ भने जाऔँ, तर धरानमा नगर अस्पताल बनाउने विषयमा मनपरी र मनलाग्दी नबोलौँ भन्ने उनको भनाई थियो ।  
उनका अनुसार बिपीको नाममा गएको जग्गा फिर्ता ल्याउने काम मन्त्रिपरिषद्को निर्णयबाट मात्र सम्भव हुने भएकाले तत्काल जग्गा फिर्ता नहुँदा सम्म वैकल्पिक स्थानका विषयमा छलफल सुरु गरिएको हो । 
छलफलमा धरान–१ स्थित पुरानो अस्पतालको जग्गा फिर्ता ल्याउने विषयमा स्पष्ट धारणा नआएको भन्दै आरोप लगाएपछि कार्यवाहक प्रमुख र सहभागी बिच चर्काचर्की समेत परेको थियो ।
२०७४ सालमा मन्त्रिपरिषद्को निर्णयबाट उक्त जग्गा बिपी प्रतिष्ठानको नाममा नामसारी गरिएको थियो । अहिले सो जग्गा पुनः धरान उपमहानगरपालिका मातहत ल्याएर नगर अस्पताल निर्माण गर्नुपर्ने माग सरोकारवालाहरूले माग गरेका छन् । 
छलफलमा प्राडा. राजेन्द्र शर्माले पुरानो अस्पतालको इतिहास प्रस्तुत गर्दै मन्त्रिपरिषद्बाटै जग्गा फिर्ता ल्याउन संस्थागत पहल आवश्यक रहेको बताए । उनले कावा प्रमुख बेघाको ध्यानाकर्षण गराउँदै भने ‘सो विषयमा ठोस पहल होस ।’
रास्वपा नेतृ शरीन तामाङले नगर अस्पताल निर्माणको टुङ्गो नलागेसम्म नगरबाट विनियोजित २ करोड रुपैयाँ कार्यान्वयन नगर्न अनुरोध गरेका छन् । उनले विद्यालयको स्थानमा विद्यालय नै र अस्पतालको स्थानमा अस्पताल नै हुनुपर्ने धारणा राख्दै पुरानो अस्पतालकै जग्गामा नगर अस्पताल निर्माण गर्न आफ्नो पहल रहने बताए ।
जग्गा फिर्ता गर्न ज्ञापन पत्र
धरान–१ स्थित पुरानो अस्पतालको जग्गा पुनः धरान उपमहानगरपालिकाको नाममा ल्याउन माग गर्दै श्रम संस्कृति पार्टीले कावा प्रमुख बेघालाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष दिनेश राई र सचिव प्रेमकुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतमार्फत बुझाएको ज्ञापन पत्रमा पुरानो अस्पताल रहेको करिब १ बिघा १३ कट्ठा क्षेत्रफल जग्गा हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको उल्लेख गर्दै उक्त जग्गा पुनः नगरको नाममा ल्याउन पहल गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा धरान–१ स्थित पुरानो अस्पताल क्षेत्र धरानका नागरिकका लागि ऐतिहासिक तथा आवश्यक स्वास्थ्य सेवा केन्द्र भएको उल्लेख छ ।