हिन्दु नारीहरुको महत्वपुर्ण पर्व मानिने तीजको आज दर खाने दिन हो । आफ्ना चेलीहरुलाई माइतीमा बोलाएर राती अबेरसम्म विभिन्न मिठो परिकार बनाएर खुवाउने चलन छ । यसलाई दर खाने भनिन्छ । माइतीमा भेट भएका चेलीहरु दुःख, सुखका कुरा गर्छन्, र आफ्नो मनको भारी बिसाउछन् । भोलीपल्ट हरितालिका तीजको दिनमा ब्रत बस्छन् । यो ब्रतको हिन्दु नारीहरुमा ठुलो धार्मिक, साँस्कृतिक महत्व छ । हिमालय पुत्री पार्वतीले हिन्दु कठोर ब्रत बसेर पतिकोरुपमा आराध्य देव शिवलाई पाएकी थिइन् । पावर्तले शिवलाई पतिकोरुपमा प्राप्ती गरेको कथासँग जोडिएको कारण महिलाहरु आफुले इच्छाएको पति प्राप्त गर्न र विवाहित महिलाहरुले पतिको सुस्वास्थ्य र दिर्घायुको लागि ब्रत बस्ने चलन छ ।
अचेल भने तीज साँस्कृतिक पर्वकोरुपमा मात्र सिमित छैन । हरितालिका तिज आउनु महिना दिन अघिदेखि नै सहरहरुमा तीज बिशेष कार्यक्रमहरु आयोजना गरिन्छन् । महंगा होटलका हलहरु बुक गरेर खानपिनसहित नाचगान गर्ने चलन छ । त्यतिमात्र होइन, तीज बिशेष नृत्य प्रतियोगिता आयोजना गर्ने र क्राउन लगाइदिने चलन छ । कतिले त तीजको अवसर भन्दै महंगा टिकट बेचेर बर्षेनी नाचगान आयोजना गर्छन् । यस्ता कार्यक्रमहरुले तीजको साँस्कृतिक पक्षलाई ओझेलमा पारेर खर्चालु बनाउदै लगेको छ । यस्ता कार्यक्रमहरु दिनहुँ जसो आयोजना भइरहेको छ । त्यहाँ दिनुहँ महंगो साडी, महंगो गरगहना फेर्दै, र मेकअप गरेर सहभागी हुनुपर्छ । यस्तो मध्यम र उच्च घरानाका महिलाहरुबाट मात्र सम्भव हुन्छ । त्यसैले तीज साँस्कृतिक पक्ष कमजोर हुदै गएर हुनेखाने वर्गका महिलाहरुले भड्किलो बनाएको भन्दै टिकाटिप्पणी र आलोना पनि भइरहेका छन् । तीजको मौलिकता हराउदै गएकोमा चिन्ता पनि व्यक्त भइरहेकै छन् ।
के नेपाली समाजमा तिज आफ्नो साँस्कृतिक पक्ष कमजोर बन्दै गएको हो त ? तिज भड्किलो र हुनेखाने वर्गको मात्र पहुँचमा गएको हो ? महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई भन्छिन्,‘तीजको सामाजिक, धार्मिक र साँस्कृतिक पक्ष अति राम्रो छ । माइतीमा चेली दिदीबहिनीहरु भेटघाट हुने, मिठो खाने र दुःखसुखका कुराहरु गर्ने हो । तर, हिजोआज महंगो साडी, गरगहनाको प्रतिस्पर्धाजस्तो ठुला होटलहरुमा दिनहुँ कार्यक्रम हुन्छ, यसले चै तीज भड्किलो र खर्चालु हुदैछ कि भन्ने चिन्ता हुनु स्वभाविक छ ।’ महिलाहरु रमाउनु, कार्यक्रम गर्नु राम्रो भएपनि त्यस्ता कार्यक्रमहरु सरल र सबै महिलाहरुको पहुँचमा हुनुपर्ने उनको तर्क छ । उनी भन्छिन्,‘सबै तहका महिलाहरुको लागि उचित हुने खालको सरल, सहज तरिकाले कार्यक्रम गरेर मनाउनु राम्रो हुन्छ । मजदुरी र श्रम गर्ने महिलाहरुको लागि खै त कार्यक्रम भएको ?’
तीजको धार्मिक महत्व
तीज हरेक बर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात द्धितीयाका दिन दर खाने चलन छ भने तीजका दिन महिलाहरु ब्रत बस्छन् । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ । तीजको तेस्रो दिन अर्थात ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरुले ३६५ दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने चलन छ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्धाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पुजा गरेर हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पठाएको भोजन खाए आपसी आत्मीयता, सद्भावन बढ्ने विश्वास गरिन्छ ।तीजमा महिलाहरुले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ ।
तीजको सामाजिक महत्व
तीज हिन्दु धर्मावलम्बी महिलाहरुको बिशेष पर्व हो । तर, हिन्दु धर्मावलम्बीहरुको अत्यधिक जनसंख्या भएको भारतमा भन्दा यो पर्व नेपालमा धुमधामको साथ मनाउने चलन छ । तसर्थ, यो नेपाली समाजको मौलिक पर्वकोरुपमा विकास हुदै आएको पाइन्छ । यो चाडको सामाजिक महत्व के पनि छ भने हिन्दु धर्मावलम्बीको चाड भनिएपनि हिजोआज सबै जातजातिका महिलाहरुले यो चाड मनाउन थालेका छन् । उदाहरणकोरुपमा धरानलाई नै लिउ न । आदिबासी जनजातिको बाहुल्य भएको यो सहर पहिचानको आन्दोलन उठाउने थलो पनि हो । तर, यही सहरमा क्षेत्री, ब्राह्मण जातिका महिलाहरु जतिकै आदिबासी, जनजाति महिलाहरु पनि तीजमा दर खाने, ब्रत बस्ने र नाचगान गरेर रमाउने गर्छन् । यसले नेपाली समाजको सद्भाव, एकता र सहिष्णुतालाई झल्काउछ ।
हुन त यो पर्व बालीनाली लगाइसकेपछि फुर्सदमा मनाउने गरिन्छ । माइतीबाट बाबु वा दाजुभाई गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलन छ । यसले माइती र चेलीबीचको सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीहरुबीचमा भेट गराउछ, र दुःखसुखका कुराकानी गर्ने अवसर पनि जुटाउछ । तीज विकृतियुक्त र भड्किलो बन्दै गएको चिन्ताका बीचमा पनि साँस्कृतिक, सामाजिक महत्वलाई उजागर गर्नुपर्ने आवश्यकता छ ।
कभर फोटो : नवराज वाग्ले