धरान: हुर्रा नाच पुर्वेली मगर जातीले मात्र नाच्ने सँस्कृति हो । मगर अगुवाहरुका अनुसार यो नाच धनकुटाको साविक मुढेबास गावस २ हाल चौबिस गाउँपालिका २, मुढेबास क्षेत्रबाट उद्गम(शुरुवात)भएको हो । पुर्वेली मगरहरुले तिहारको लक्ष्मीपुजादेखि पुर्णिमासम्म गाउँघरमा देउसी खेल्दा हुर्रा नाच्ने परम्परा छ ।

विभिन्न कारणले गाउँघरबाट बसाई सरेर शहरमा आएका मगर समुदायका अगुवाहरु हुर्रा नाच लोप होला कि भनेर केही बर्षसम्म चिन्तित थिए । तर, अहिले उनीहरुको चिन्ता हराएको छ । यसको कारण हो, अचेल मौलिक पहिरन, सँस्कृति र हुर्रा नाचप्रति युवा पुस्ताको पनि आर्कषण बढेको छ । मंसिरे पुर्णिमा पछि हरेक बर्ष नेपाल मगर संघ धरान नगर समितिले भव्यरुपमा धरानमा हुर्रा कार्यक्रम आयोजना गर्छ । जसमा मगर युवायुवतीहरुको उल्लेख्य सहभागिता बर्षेनी बढ्दै गएको छ ।

hurra dance -2

मंगलबार पनि धरान १० सैनिक भवनमा आयोजित हुर्रा कार्यक्रममा युवायुवतीहरुको सहभागिता उल्लेख्य थियो । नेपाल मगर संघकी केन्द्रीय सदस्य शारदा थापा मगर अब हुर्रा सँस्कृति लोप भएन नजानेमा आफुहरु ढुक्क भएको बताउँछिन् । उनले भनिन्,‘मौलिक सँस्कृतिप्रति युवा पुस्ता आकर्षित भएका छन्, जोगाउनुपर्छ भनेर लागेका छन् । त्यसैले मगर सँस्कृति संरक्षण हुन्छ भनेर हामी ढुक्क छौं ।’

हुर्रा कार्यक्रम धरानका मगरहरुको बिशेष एवं बार्षिक कार्यक्रम बनिसकेको छ । धरानका युवा पुस्तालाई आफ्नो सँस्कृति विर्सन नदिन संघले निरन्तर हुर्रा कार्यक्रम आयोजना गरिरहेको संघका अध्यक्ष चित्र थापा मगरले बताए । हुर्रा कार्यक्रममा हुर्रा नाचको उद्गमस्थल धनकुटाको मुढेबास, नाम्जेका साथै मोरङको विभिन्न क्षेत्रबाट हुर्रा टोली निमन्त्रणा गरेर प्रर्दशनी गराउने गरिएको छ । यसरी हुर्रा कार्यक्रम गर्दा धरानका सहरिया युवा पुस्ताले हेर्ने र अभ्यास गर्ने उनले बताए । यसले युवा पुस्तालाई आफ्नो सँस्कृति जोगाउने भावना विकास गर्ने उनको भनाई छ । मंगलबार हुर्रा कार्यक्रममा मोरङको केराबारी ५ बाट राङ्चा हुर्रा टोली र धनकुटाको साँगुरीगढी ६, नाम्जेबाट नेपाल मगर संघ गाउँ समितिको हुर्रा टोली आएको थियो ।