विश्वमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिला जगतले जागरूकता सम्बन्धी महत्त्वपूर्ण उत्सवको रूपमा हरेक वर्ष  मनाइने पर्व हो । विश्वभर ८ मार्चमा मनाइने दिवस राजनैतिक तवरबाट सुरु भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण, जनचेतना अभिवृद्धि र लैङ्गिक समानताका सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । सर्वप्रथम महिला दिवसको आयोजना संयुक्त राज्य अमेरिकाको सोशलिष्ट पार्टीले सन् १९०९ फेव्रुअरी २८ मा गरेको थियो । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन १९११ देखी विश्वभरिमा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो। आज २०२२ मा आइपुग्दा हामी  विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइरहेका छौ।
आजको २१ औँ शताब्दीमा आइपुग्दा महिला राज्यका हरेक उत्कृष्ट तह तप्कामा स्थापित भएका छन् । तर पहिले यस्तो अवस्था थिएन ।  महिलालाई पढ्न स्वतन्त्रता, स्वतन्त्रतापूर्वक हिड्डुल गर्ने, बोल्ने, काम गर्न वा भोट हाल्न समेत दिइँदैनथ्यो । इतिहासलाई फर्केर हेर्दा सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीको सडकमा एउटा र्‍याली  निकाले जसमा भोट हाल्न पाउने अधिकारदेखि काम गर्ने घण्टा कम गर्न र राम्रो तलब जस्ता माग संलग्न गराइएका थिए। सन् १९०९ मा अमेरिकाकी सोशलिष्ट पार्टीले यूनाइटेड स्टेटमा पहिलो राष्ट्रिय महिला दिवस २८ फेब्रुअरीमा मनायो । त्यसपछि १९ मार्च १९११ मा पहिलो पटक अस्ट्रिया, डेनमार्क र स्विजरल्याण्डमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो। दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला दिवसको मिति परिवर्तन गर्दै सन् १९१३ मा यसलाई मार्च ८ गरियो । त्यस बेलादेखि हरेक वर्ष यसै दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस संसार भरीका विभिन्न क्षेत्रमा काम गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस महिलालाई सम्मान दिनुका साथै आर्थिक, सामाजिक, राजनैतिक उपलब्धि, महिला सशक्तीकरण र लैङ्गिक समानताका उद्देश्य प्राप्ति र रक्षाका लागी मनाइन्छ।
नेपालमा वि.सं २०१६ सालदेखि अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउन थालिएको पाइन्छ। महिला स्वतन्त्रता, समानताका लागि तथा कुरीति, कुसंस्कार, कुप्रथा विरुद्धमा वि.सं. १९७४ सालदेखि विदुषी योगमायाले सुरु गरेको सामाजिक आन्दोलनलाई सदा स्मरण गर्नु पर्दछ। त्यस पछि भएका जहानियाँ राणा शासन विरुद्धको आन्दोलन, २००७ सालको आन्दोलन, २०१७ सालको बहुदलीय व्यवस्था खारेजीको विरुद्ध आन्दोलनमा महिलाको अर्थपूर्ण सहभागिता पनि अविस्मरणीय छ । नेपालमा महिला आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा पछि परेको त्यसमा पनि लैङ्गिक विभेदले ग्रस्त समाजमा सहाना प्रधान, मङ्गलादेवी, द्वारिकादेवी, शैलजा, गौरी, विजया आदि जस्ता अदम्य साहस भएका नारीहरूको नाम गौरवका साथ स्मरण गर्नु पर्दछ। वि.सं. २०४६ सालसम्म आइपुग्दा त महिला संघठित, राजनैतिक नेतृत्व, सामाजिक अगुवाको रूपमा महिला हरेक क्षेत्रमा अघि बढिसकेको पाइन्छ । २०५२ सालदेखि सुरु भएको सशस्त्र माओवादी द्वन्द्वमा विभिन्न मोर्चामा महिलाको नेतृत्व गरेको कथा ताजै छ । सरकारी, गैह्र सरकारी, समाजसेवा, राजनैतिक क्षेत्रमा उच्च तह र तप्कामा पुगेका महिला ०६२/६३ को जनआन्दोलन त्यसबाट प्राप्त अधिकारको उपयोग गर्दै २०७२ सालमा जारी भएको नेपालको संविधानमा महिला अधिकारलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको छ।
महिला सशक्तीकरण, समानता, विकास, सामाजिक , राजनैतिक तथा आर्थिक निर्णयमा सहभागिता र अवसर तथा शक्ति अभ्यासको अवस्था उच्च हुँदै गइरहेको छ। सार्वजनिक  होस या हरेक तह र निकायमा सहभागिता सुनिश्चितताले अवसर अभिवृद्धि भइरहेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर पाउनु, समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुन पाउनु तथा राज्यको उपल्लो निकायमा महिला रहनुले पनि नेपालका महिला जगतका लागि खुसीको कुरा हो ।
मार्च ८ आम महिलाको जागरण ल्याउने दिन हो । समान हक, समान ज्याला, समान मताधिकार, विश्व शान्ति, न्याय, समानता र मुक्तिका लागि ज्यानको प्रवाह नगरी अथक प्रयास र बलिदानबाट आजको युगमा आइ पुगेको महिला आन्दोलन यतिमा नै सन्तुष्ट हुने अवस्था भने अझै छैन । त्याग , समर्पण, संर्घषका इतिहासबाट प्राप्त अधिकारको आज पनि  पूर्ण उपयोग हुन सकिरहेको छैन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज केन्द्र , प्रदेश साथै स्थानीय तह स्तर हुँदै समुदायमा आइपुगेको छ । यसमा महिलासँग काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, सरकारी निकायको योगदान, राजनैतिक तथा सामाजिक चेतना स्तरलाई हामीले सधैँ सम्झनु पर्नेहुन्छ ।
शिक्षित, सचेत, सशक्त तथा कानुन बारे जानकार भएका महिला जमात बढ्दो छ । आम महिलाहरूमा आत्मा सम्मान, स्वतन्त्रता तथा लैङ्गिक समानताका लागि अपेक्षा बढ्दै जानु पनि प्रगतिको सूचक हो । महिला मानव अधिकारबादीहरु, अभियान शिक्षित तथा कानुन बारे जानकार भएका महिला जमात बढ्दो अवस्थामा छ। महिलाहरूमा स्वतन्त्रता तथा लैङ्गिक समानताका लागि अपेक्षा बढ्दै जानु पनि प्रगतिको सूचक हो । पितृसत्तात्मक मानसिकताबाट ग्रसित समाजमा महिलाहरूलाई  दयाका पात्र ठान्ने र भेदभावपूर्ण व्यवहार सामाजिक कुसंस्कारका रूपमा व्याप्त छ। पारिवारिक मनमुटाब, झैझगडा, हिंसा, दुर्व्यवहार सहेर बसेका छन् । इज्जत जाने डर महिलामा नै छ । घरेलु हिंसा, सामाजिक हिंसा, यौनिक हिंसा, बलात्कार, हत्या, वाध्यात्मक आत्महत्या, साइवर अपराध, बेपत्ता, जबरजस्ती सम्बन्ध विच्छेद तथा अलपत्रका घटना उत्तिकै छन् । घरभित्र र सार्वजनिक हिंसा पनि त्यत्तिकै छ यद्यपि महिला माथि हुने हिंसा बारे जानकार भएका सचेत महिला सङ्घसंस्था  र सहयोगी संयन्त्र फैलिने क्रममा छ।
महिला श्रमिक दिवसको प्रभाव, परिवर्तन तथा जागरणको अवस्था अझ  स्फूर्त रूपमा समाजमा आउन सकेको छैन । अन्याय, अत्याचार, दमन, शोषण, हत्या, हिंसा, बलात्कार, सामाजिक कुसंस्कार, कुरीति, विभेद सहेर बसेका महिला माझ अझ पुग्न सकिरहेको छैन । यस दिवसको अवसर पारी महिलाहरू थप संघठित भई महिलाहरूका सवाल, मुद्दा उठाउनु पर्दछ । औपचारिक कार्यक्रममा सीमित नभई अभियानको रूपमा मनाउनु पर्दछ। कागजी रूपमा तयार भएका नीति, देखाउनका लागि मात्र समावेशिता, चोख्याउनका लागि मात्र हुने गरेका कानुनी प्रक्रिया, फितलो कार्यान्वयनको खबरदारी गर्नु अबको आन्दोलन केन्द्रित हुनु पर्दछ । प्राचीन कालबाटै पितृ सत्ताबाट गाँजिएको मुलुकमा अन्याय, अत्याचार, हिंसा, बलात्कार जस्ता जघन्य अपराधीहरू पनि राजनैतिक, सामाजिक तथा कानुनी रूपमा उन्मुक्ति पाउनु यस दिवसको सार्थकता माथि अझै प्रश्न छ ।
मनिता घिमिरे