धरान : आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपाल सहित विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदै छ । 

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणका रूपमा विश्वभर महिला दिवस मनाउन सुरु गरिएको हो । 

नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व सहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिला माथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश सहित यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

संयुक्त राज्य अमेरिकाको सोश्यलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोश्यलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो ।

१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताधिकार दिनु थियो । त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन । १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो ।

त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । इ दुई दिनमा केही फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पर्थ्यो जब की ग्रेगेरियन क्यालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो ।